कर्जा तिर्ने म्याद असारसम्म बढाउन पोखराका व्यवसायीको माग

हिमाल प्रेस १७ चैत २०७९ १५:२९
10
SHARES
कर्जा तिर्ने म्याद असारसम्म बढाउन पोखराका व्यवसायीको माग लेकसाइड।

पोखरा– पर्यटक आवागमन सुस्त हुँदा पोखराका पर्यटक व्यवसायी फेरि मारमा परेका छन्। सिजनको बेलामा पनि पोखरामा खास पर्यटक छैनन्। आन्तरिक पर्यटकमाले मात्र अपरेसन खर्च धान्न नसक्ने व्यवसायी बताउँछन्।

यसैले उनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा चैत मसान्तसम्म तिर्न नसक्ने भन्दै असारसम्म पुनर्तालिकीकरण गर्नुपर्नेमा माग गरेका छन्। पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी तीनै तहको सरकारसमक्ष विभिन्न बुँदे माग राखेको छ।

परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले व्यवसायीहरूले बैक वित्तीय संस्थालाई तिर्नुपर्ने साँवा, किस्ता, व्याज तथा कुनै पनि दायित्व चैत मसान्तमा तिर्न सक्ने अवस्था नरहेकोले असारसम्म लम्बाउनुपर्ने बताए।

विगतमा कोरोना प्रभावले पर्यटन व्यवसायमा परेको असर विकराल बन्दै गरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूले साँवा तथा व्याज भुक्तान गर्न नसक्ने अवस्था नरहेको उनी बताउँन्।

अघिल्ला वर्ष सरकारले ल्याएका कार्यक्रमहरू पुनर्कर्जा कोष, पुनर्तालिकीकरण र व्यवसायी निरन्तरता कोष जस्ता सुविधाहरूको समयावधि न्यूनतम ३ वर्ष हुनुपर्ने, सुविधा नवीकरण सहित उक्त सुविधाबाट वञ्चित व्यवासायीलाई यस आर्थिक वर्षमै उपलब्ध गराउनु पर्ने, कोरोना पहिलो लहरपछि व्यवसायीहरूको लागि कर्जा मिलान गर्न प्रवाह गरेको अतिरिक्त कर्जा (बढीमा १० प्रतिशत) सम्म बैंकहरूले मिलान गर्नका लागि ताकेता गरिराखेकोमा उक्त कर्जा अवधि फिर्ता गर्न थप १ वर्ष थपिदिनु पर्ने परिषद्को माग छ।

निक्षेपमा बैकर्स संघको व्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेकाले यसलाई तुरुन्त परिमार्जन गरी कर्जाको व्याजदर एक अंकमा झार्नुपर्ने, कम्तीमा १० प्रतिशत गाइडेड लोन व्यवस्था हुनुपर्ने, गण्डकी प्रदेश सरकार ल्याएको व्यवसाय जीवनरक्षा कर्जा र नेपाल सरकार ल्याएका सहुलियतका कर्जाहरूलाई निरन्तरता दिई अझ सजिलो र झन्झटमुक्त प्रक्रियाबाट ऋण प्रवाह गर्नुपर्ने, सरकारलाई तिर्नुपर्ने दायित्वको अतिरिक्त शुल्कहरू मिनाहा गरी अर्को आर्थिक वर्षको असोज मसान्तसम्म तिर्ने भाका बढाइदिनु पर्ने माग राखेका छन्।

आफूहरू पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट पर्यटन बजारमा पुनरुत्थानको लागि कोशेढुंगा सावित हुनेछ भन्ने आसामा उत्साहित भए पनि अझसम्म अन्तर्राष्ट्रिय उडान नहुनु र पहलमा देखिएकोले अविलम्ब अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

पोखरा आउने स्थलमार्गहरूका निर्माणको कामले पनि आगमन प्रभावित बनेको हुँदा निर्माण छिटो पूरा गर्न सरोकारवालालाई आग्रह गरेका छन्।

गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन उद्योग भएकोले यस पर्यटन उद्योगलाई पुनर्जीवन दिइ पुनर्उत्थान गर्न निर्णायक नेतृत्व लिएका तीनै तहका सरकार र सरोकारवाला पक्षले आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन्।

प्रकाशित: १७ चैत २०७९ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =