कोभिड जोखिम बढेपछि भारतबाट फर्किनेमाथि निगरानी, सीमामा कडाइ

हिमाल प्रेस १६ चैत २०७९ २१:४४
10
SHARES
कोभिड जोखिम बढेपछि भारतबाट फर्किनेमाथि निगरानी, सीमामा कडाइ फाइल तस्बिर- हिमाल प्रेस

धनगढी– भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोभिड संक्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ। कोभिड भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो।

भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ। चैत महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड-१९ सम्पर्क व्यक्ति जोशीले बताए। सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोभिड परीक्षण कार्य जारी रहेको छ।

‘भारतबाट फर्किने अधिकांशमा संक्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौ,’ उनले भने।

सीमा नाकामा परीक्षण गर्दा दैनिक रूपमा कोभिड संक्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा संक्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक छ।

‘भारतबाट फर्किनेमा कोभिड देखिन थालेपछि जोखिम बढ्दै गएको छ, त्यसको रोकथाम र नियन्त्रणका सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौं,’ उनले भने।

नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ। नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ।

स्वदेश फर्किनेको संख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको जोशीले बताए। ‘भारतमा दिनप्रतिदिन संक्रमण फैलिरहेकाले सुदूरपश्चिम पनि जोखिममा छ। सीमामा स्वास्थ्य परीक्षण गरेरमात्रै भित्रिन दिएका छौं,’ उनले भने।

संक्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होमआइसोलेसनमा बस्न भन्ने गरिएको छ। जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ।

प्रदेशभर हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। जोखिम बढेपछि सीमा नाकाबाट स्वदेश फर्कनेलाई परीक्षणसँगै अनिवार्य मास्क लगाएरमात्रै भित्रिन दिने नियम बनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४४ हजार ४ सय ५४ जनाको कोभिड परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ।

पछिल्लो समयमा कोभिड संक्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ। कोभिडबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ। -राससको सहयोगमा

प्रकाशित: १६ चैत २०७९ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =