कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो

हिमाल प्रेस १६ चैत २०७९ १६:३७ | Thursday, March 30, 2023
कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो तस्बिर- हिमाल प्रेस

काठमाडौँ- नेपाली कांग्रेसनिकट मानिने अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत वाग्लेले ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने घोषणा गरेका हुन्।

उनले अब सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने जनाएका छन्।

वाग्लेले बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्न पनि आह्वान गरेका छन्। भनेका छन्, ‘कांग्रेस–कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दाबाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।’

यस्तो छ अभिव्यक्ति

****नेपाली कांग्रेसबाट अलग भएको घोषणा****
विसं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ।

विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।

तर पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।

सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस

 

प्रकाशित: १६ चैत २०७९ १६:३७ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast