कांग्रेस निर्णय : चितवन २ मा रविसँग प्रतिस्पर्धा गर्न जितनारायण

हिमाल प्रेस १६ चैत २०७९ १२:३३
40
SHARES
कांग्रेस निर्णय : चितवन २ मा रविसँग प्रतिस्पर्धा गर्न जितनारायण

काठमाडौँ- नेपाली कांग्रेसले आगामी उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा बिहीबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। श्रेष्ठ कांग्रेस चितवनका पूर्वसभापति हुन्।

कांग्रेस नेतृत्वले अर्का आकांक्षी राजेश्वर खनालसँग परामर्श गरेर श्रेष्ठलाई उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए। कार्य सम्पादन समितिको बैठकअघि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महतले चितवन जिल्ला सभापति खनालसँग छलफल गरेका थिए। छलफलका क्रममा खनालले नै श्रेष्ठलाई प्रस्ताव गरेका थिए।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने मैदानमा छन्।  बैठकले लामिछानेलाई पराजित गर्न श्रेष्ठ नै उपयुक्त व्यक्ति भएको निष्कर्ष निकाल्दै उनलाई मैदानमा उतार्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए। माओवादी द्वन्द्वका बेला चितवन कांग्रेसलाई सशक्त बनाउन भूमिका खेलेका श्रेष्ठ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। चितवन शक्तिखोरका श्रेष्ठ कांग्रेस सभापति देउवा र नेता डा. शेखर कोइराला दुवैसँग नजिक मानिन्छन्।

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। चितवन क्षेत्र नम्बर २ मा पार्टीका पूर्व चितवन सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।’ भट्टराई पार्टी केन्द्रीय सदस्य हुन्।

बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको महतले बताए।

लामिछाने टेलिभिजन कार्यक्रम प्रस्तोताबाट राजनीतितर्फ लागेका हुन्। उनी नेतृत्वको दलले गठनको सात महिनामै संघीय संसद्मा २० सिट जितेको थियो। चुनाव जितेपछि लामिछाने एक महिनाजति उपप्रधान एवम् गृहमन्त्री भएका थिए। संसद् पद गएपछि उपप्रधानमन्त्रीबाट राजीनामा दिएका उनको दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

नागरिकता विवाद प्रकरणमा रास्वपाका सभापति लामिछानेको सांसद पद गुमेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो।   उपनिर्वाचनका लागि आगामी वैशाख १० गते मतदान हुने कार्यतालिका छ।

प्रकाशित: १६ चैत २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =