पहिचानको राजनीतिक विमर्श

प्रा.डा. कटक मल्ल १४ चैत २०७९ १३:५५
158
SHARES
पहिचानको राजनीतिक विमर्श

‘जो मानिसमा शरीरको छाला (एपिडर्मिस) वा उनीहरूको जननांग (जैनिटालिया) वा हेरिडिट्री (कुल वा वंशानुक्रम) का आधारमा सोच्ने समस्या छन्, उनीहरूमा रहेको यस्तो भूत कसैले हटाउन सक्दैन। यदि मैले ‘जाति’ वा ‘लिंग’ का आधारमा कसैका विरुद्धमा मतदान गर्दिनँ भने म समान कारणले उसको पक्षमा मतदान गर्दिनँ। तैपनि बुद्धिमानी मानिसले सबैभन्दा डरलाग्दो मूर्ख कुरा गर्छन्।’

क्रिस्टोफर हिचेन्सले ‘द पेरिल्स अफ आइडेन्टिटी पोलिटिक्स एस्से २००८’ मा ‘पहिचानको राजनीतिको खतरा’ गरेको व्याख्या हो यो। पहिचानको राजनीतिबारे हिचेन्सको विचारमा विरोधाभास देख्ने धेरै छन् र अझै पनि संसारमा जातीय असमानता छन्। पहिचानको राजनीतिक समस्याको समाधान वामपन्थीले उत्तर-उपनिवेशवादबाट फेला पारे। मार्क्सको वर्गसंघर्षलाई जातीय-जातीय संघर्षमा परिणत गरियो। समाजमा उत्पीडित समूहको विश्लेषणबाट पहिचानको राजनीति सुरु भयो। अहिले आएर पहिचानको आन्दोलनमा राष्ट्रवादी, बहुसांस्कृतिक, महिला अधिकार, नागरिक अधिकार र एलजीबीटी समावेश छन्। त्यसैले पहिचानको राजनीति विश्वव्यापी रूपमा एक विवादास्पद मुद्दा भएको छ। यस लेखमा पहिचानको राजनीतिसँग सम्बन्धित तीन बौद्धिकहरूको विचारबारे सम्बोधन गरिएको छ- एडवर्ड सइद, अमर्त्य सेन र फ्रान्सिस फुकुयामा।

एडवर्ड सइद पहिचानको राजनीतिका पक्षधर थिए र पहिचानविरोधी पनि थिए। यस अर्थमा सइद विवेकपूर्ण विचारको प्रतिनिधित्व गर्छन्। उनले प्यालेस्टाइन पहिचानको वकालत गरे। एकल पहिचानविरुद्ध बहुपहिचानको वकालत पनि गरे। सइदको विचारमा कोही पनि व्यक्तिको एकल पहिचान हुँदैन। उनी भन्छन्, ‘कसैलाई भारतीय वा महिला वा मुस्लिम वा अमेरिकी भन्नु (लेबलहरू वा पहिचान) प्रारम्भिक चिह्न मात्र हुन्। एक क्षणका लागि वास्तविक अनुभवका आधारमा सोच्यो भने बहुआयामिक पहिचान साकार हुन सक्छ।’ (एडवर्ड सइद, कल्चर एन्ड इम्पेरलिम्स, १९९३)।

सइदजस्तै अमर्त्य सेन पनि बहुपहिचानको विचारलाई समर्थन गर्छन्। सेन भन्छन्, ‘पहिचान अपरिवर्तनीय विशेषताको सट्टा छनोटको कार्य हो।’ (द आर्गुमेन्टेटिभ इन्डियन, २००६) सइद र सेन दुवैका विचारमा एक व्यक्तिले अरूविरुद्ध आफ्नो पहिचान खडा गर्नु हुँदैन। बरु आफ्नो पहिचान अर्काको पहिचानसँग मिलाएर हेर्नुपर्छ। यसरी सइद र सेन गौतम बुद्धको ‘सचेतना’ विचारबाट प्रभावित भएका देखिन्छन्) अर्थात् पहिचान एक प्रबुद्ध अस्तित्वको अनुभव हो जहाँ संलग्नता र करुणा बढाउने भावना विकास गर्दछ र जीवन पूर्णतया स्वतन्त्र रूपमा अनुभव गरिन्छ।

फ्रान्सिस फुकुयामा पहिचानको राजनीतिविरुद्धमा छन्। उनी पहिचानको राजनीति र जनजातिवाद लोकतन्त्रको संकट हो भन्छन्। फुकुयामा नागरिक पहिचानका पक्षमा छन्। नागरिक पहिचानले आफूलाई समाजमा सक्रिय सहभागीका रूपमा सार्वजनिक उद्देश्यसँग काम गर्ने प्रतिबद्धता र जिम्मेवारी दिन्छ।

धर्म व्यक्तिगत आस्था र विवेकको विषय हो। धर्मलाई सम्मान गर्नुपर्छ तर राज्य स्तरमा सामूहिक रूपमा थोपर्नु हुँदैन। आखिर भगवान् र व्यक्तिबीचको सम्बन्ध घनिष्ट व्यक्तिगत हो। यद्यपि राज्यले धर्मका सांस्कृतिक पक्षहरूलाई समर्थन गर्न सक्छ समाजले संरक्षण गर्नुपर्छ।

फुकुयामाले पहिचानको व्याख्या गर्न पुरातन ग्रिक विचारहरू ‘थाइमोस’, ‘आइसोथिमिया’, ‘मेगालोथिमिया’ को प्रयोग गरेका छन्। ‘थाइमोस’ आत्माको एक भाग हो जुन मर्यादाको मान्यता चाहन्छ। ‘आइसोथिमिया’ भनेको अन्य मानिससँग समान आधारमा सम्मान गरिने माग हो। ‘मेगालोथिमिया’ आफ्नो श्रेष्ठताको मान्यता प्राप्त गर्ने इच्छा हो (फ्रान्सिस फुकुयामा, आइडेन्टिटी : द डिमान्ड फर डिग्निटी एन्ड द पोलिटिक्स अफ रिसेन्मेन्ट, २०१८)।

फुकुयामाको ‘आइडेन्टिटी’ पुस्तकलाई उनको ‘इतिहासको अन्त्य’ (एन्ड अफ हिस्ट्री) को निरन्तरताका रूपमा बुझ्न सकिन्छ। फुकुयामा उदारवादी प्रजातन्त्रका समस्याहरूको समाधान खोज्ने प्रयासमा छन्। पहिचानवादविरुद्ध उदारवादीहरूलाई एकीकरणको मद्दत गर्न सक्छ भन्छन् उनी।

वंशानुगत र सम्बद्धता

धार्मिक र वंशानुगत जन्मका आधारमा पहिचान सामाजिक अभ्यासको सट्टा भित्री विश्वासको विषय पनि बन्छ। त्यसैले सइद भन्छन्- वंशानुगत (फिलिएसन) वा सम्बद्धताका (एफिलेसन) का आधारमा शान्तिपूर्ण सहअस्तित्वको राष्ट्रिय साझा ठाउँ आवश्यक हुन्छ। फुकुयामा स्कटल्यान्ड, क्युबेक र क्याटालोनियाजस्ता स्वतन्त्रता आन्दोलनहरू उदार लोकतन्त्रका लागि खतरा हुन् भन्छन् ।

सइदको ‘सम्बद्धतासम्बन्धी विचार’ का आधारमा हेर्दा स्वतन्त्रता आन्दोलनहरूबाट व्यक्तिगत अधिकारको रक्षा गर्न विरोधाभासबीच एउटा साझा ठाउँ खोज्न आवश्यक हुन्छ। आफूलाई अरूबाट अलग गर्नुको सट्टा आफ्नो पहिचान अरूमा देख्न सक्नुपर्छ, अरूका विरुद्ध होइन। विशेष गरी संकटको समयमा एकल पहिचानको संकटबाट जोगिनैपर्छ।

सइद जसरी सेन भन्छन्, एकल पहिचानले मानिसलाई विशेष रूपमा ध्रुवीकरण गर्छ। तर हामीले तथ्यलाई ध्यानमा राख्यौँ भने एकै पहिचानभित्र फरक पहिचान देख्न सक्छौँ। जस्तै- धर्मसँग जोडिएको पहिचान मात्र होइन भाषा, पेसा र व्यवसाय, राजनीति, वर्ग र गरिबीसँग पनि सम्बन्धित छ। त्यसैले एकल ध्रुवीकरणविरुद्ध लड्न ज्ञान र समझ धेरै महत्त्वपूर्ण छ।

धर्म सापेक्ष र धर्म निरपेक्ष पहिचान

धर्म पहिचानको विवादास्पद मुद्दा हो। राजनीतिक व्यवस्था धार्मिक आस्थामा आधारित हुनुपर्छ वा वैज्ञानिक प्रवृत्तिमा आधारित हुनुपर्छ भन्ने विषय राजनीतिशास्त्रको कठिन बहस भएको छ। विशेषगरी यस विषयमा नेपाल र भारतमा उचित जानकारी बिनाको भ्रामक बाइनरी आलोचना भएको छ। एकातिर ‘सेकुलर’ शब्दलाई ‘धर्म निरपेक्ष’ शब्दमा अनुवाद गरिएको छ र धर्म निरपेक्ष शब्द धर्मविरोधीका रूपमा प्रयोग भई सोहीअनुसार बुझिएको देखिन्छ। धर्ममा विश्वास गर्नेहरू आक्रोशित देखिन्छन् किनभने उनीहरू धर्म निरपेक्षताले धार्मिक विश्वासलाई अतिक्रमण गर्छ भन्ने विश्वास गर्छन्।

अर्कोतर्फ आफूलाई धर्म निरपेक्ष ठान्नेहरू राज्य स्तरमा वैज्ञानिक स्वभावको कार्यान्वयन गर्न असफल भएका छन्। उदाहरणका लागि संविधानबमोजिम नेपाल धर्म निरपेक्ष राष्ट्र भए पनि धार्मिक भवन निर्माणका लागि स्थानीय सरकारले आर्थिक सहयोग गरिरहेको छ। यसविपरीत अस्पताल र विद्यालयको पूर्ण निजीकरण छ। धर्म व्यक्तिगत आस्था र विवेकको विषय हो। धर्मलाई सम्मान गर्नुपर्छ तर राज्य स्तरमा सामूहिक रूपमा थोपर्नु हुँदैन। आखिर भगवान् र व्यक्तिबीचको सम्बन्ध घनिष्ट व्यक्तिगत हो। यद्यपि राज्यले धर्मका सांस्कृतिक पक्षहरूलाई समर्थन गर्न सक्छ समाजले संरक्षण गर्नुपर्छ।

धार्मिक विचारको क्षेत्रले धार्मिक ग्रन्थ र सन्दर्भमा धर्मशास्त्रीय र दार्शनिक प्रतिबिम्बलाई सम्बोधन गर्दछ। व्यक्तिगत रूपमा एक धार्मिक पुस्तक आफ्नो नैतिकताको मार्गनिर्देशन हुन सक्छ। संविधान भनेको नागरिक राष्ट्रव्यापी आचरणको नियम हो। तसर्थ राजनीतिक व्यवस्था वैज्ञानिक प्रवृत्तिका साथ चल्नुपर्छ। यो धार्मिक सोच र वैज्ञानिक स्वभाव सहअस्तित्वको साझा स्थान हो।

राज्य व्यवस्था वैज्ञानिक सोचका साथ चलाउनुपर्छ भन्ने बुझाइको कमी भएको समाजमा धार्मिक आस्था र वैज्ञानिक प्रवृत्तिमा विरोधाभास पाइन्छ। धर्ममा आधारित नस्लवाद र संस्कृतिमा आधारित भेदभाव आजको विश्वको ऐतिहासिक समस्याको हिस्सा हो। उदाहरणका लागि हिन्दू धर्मअन्तर्गत जातको वर्गीकरण र सांस्कृतिक प्रचलनका नाममा महिलामाथि हुने भेदभाव। इस्लाम धर्ममा बुर्का र जननंग विच्छेदनजस्ता प्रचलनबाट महिला पीडित बनेका छन्। सबै धर्मअन्तर्गत समलैंगिक सम्बन्धविरुद्ध भेदभाव देखिन्छ।

उदाहरणका लागि सन् २०१५ मा समानता र मानव अधिकार आयोगले समलिंगी सम्बन्धहरूमा उनीहरूको अडानका कारण इसाई, यहुदी र मुस्लिम धर्ममा गिल्ला गरिएको गुनासो गरेको भेट्टायो। कुल २,४८३ संस्था र व्यक्ति अनुसन्धानमा इसाई, यहुदी र मुस्लिम कामदारले धार्मिक कारणले गर्दा काममा गाह्रो भएको रिपोर्ट गरे। संयुक्त राष्ट्रसंघको सामाजिक सांस्कृतिक तथा आर्थिक अधिकार अनुबन्ध सन् १९६६ का नाममा आज विश्वमा महिलामाथि भेदभाव भइरहेको छ। परम्परा जोगाउने नाममा यस्तो भेदभाव भइरहेको हो।

समाजको दिगोपनका लागि वैज्ञानिक स्वभाव

धार्मिक र आध्यात्मिक पक्षहरू व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा महत्त्वपूर्ण हुन्छन्। तर कुनै पनि समाजको दिगोपनका लागि वैज्ञानिक स्वभाव आवश्यक हुन्छ। वैज्ञानिक स्वभाव भन्नाले तार्किक र तर्कसंगत सोच र मनोवृत्तिलाई बुझाउँछ। मानिसले दैनिक जीवनमा निर्णय गर्न वैज्ञानिक विधि प्रयोग गर्दछ भने उसलाई वैज्ञानिक स्वभाव भएको मानिन्छ। वैज्ञानिक हुनु भनेको जिज्ञासा, तर्कसंगत, निर्णय गर्ने इच्छा, खुला दिमाग, आलोचनात्मक मानसिकता, वस्तुनिष्ठता, इमानदारी, नम्रताजस्ता मनोवृत्ति हुनु हुन्।

धार्मिक वा आध्यात्मिक (वा दुवै) व्यक्तिहरू सामान्यतया ईश्वर वा उच्च शक्तिमा विश्वास गर्छन्। धार्मिक वा आध्यात्मिक नभएकाहरूले ईश्वर वा उच्च शक्तिमा विश्वासलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। धार्मिक विचारको क्षेत्रले धार्मिक ग्रन्थ र सन्दर्भमा धर्मशास्त्रीय र दार्शनिक प्रतिबिम्बलाई सम्बोधन गर्दछ। व्यक्तिगत रूपमा एक धार्मिक पुस्तक आफ्नो नैतिकताको मार्गनिर्देशन हुन सक्छ। संविधान भनेको नागरिक राष्ट्रव्यापी आचरणको नियम हो। तसर्थ राजनीतिक व्यवस्था वैज्ञानिक प्रवृत्तिका साथ चल्नुपर्छ। यो धार्मिक सोच र वैज्ञानिक स्वभाव सहअस्तित्वको साझा स्थान हो।

धर्म निरपेक्षको खोलमा जातीय सर्वोच्चतावाद

अमेरिकी संविधान धर्म निरपेक्ष छ भनिन्छ। तर अमेरिकी राष्ट्रपतिले बाइबलमाथि हात राखेर पदको शपथ लिन्छन्। त्यसकारण धर्म र राज्य सञ्चालनको वैज्ञानिक प्रवृत्तिमा कहाँ कुन अवस्थामा एकअर्काबाट अलग हुन्छ भन्ने विवाद छ। धर्ममा आधारित नस्लवादी केही गम्भीर अभिव्यक्तिलाई अमेरिकामा सामान्य बनाइएको छ। उदारवादी अमेरिकी राजनीतिक नेताहरूले समेत प्रायः नस्लवादी अभिव्यक्ति प्रयोग गर्छन्। जस्तै: प्रोमिस्ड ल्यान्ड (प्रतिज्ञा भूमि), चुजन पिपुल (विशेष मानिसहरू), अमेरिकन एक्सेसेपस्नलिस्म (अमेरिकी अपवादवाद), सान्निङसिटी ओन द हिल (पहाडको टाकुरामा उज्यालो सहर) जस्ता अभिव्यक्ति प्रयोग गर्छन्।

अत्यधिक शिक्षित र उदारवादी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले ‘ए प्रोमिस्ड ल्यान्ड’ (२०२०) नामक पुस्तक पनि प्रकाशित गरेका छन्। बाइबलअनुसार अब्राहम र तिनका सन्तानलाई भगवान‍्द्वारा चुनिएका मानिसलाई प्रतिज्ञा गरिएको भूमि ‘ए प्रोमिस्ड ल्यान्ड’ हो।

हार्वर्ड प्रोफेसर रान्डल केनेडीले ‘जातीय रूपमा प्रतिज्ञा गरिएको भूमि’ को विगत र वर्तमान दर्शनहरू र यसलाई आकार दिन कानुनले के गर्न सक्छ भनेर छलफल गरेका छन्। रान्डल केनेडी भन्छन्, ‘गोरा मानिसहरूको सर्वोच्चतावाद देखिन्छ।’

जात-जाति वर्गीकृत समाज दिगो हुन सक्दैन

जात-जातिको वर्गीकरण गर्नु जातीयवाद थियो र यथावत् छ। आफ्नो जात, धर्म, राष्ट्र र संस्कृतिलाई अरूभन्दा श्रेष्ठ मान्नु फासीवाद हो। जातीयवादको ऐतिहासिक अन्यायलाई स्वीकार नगर्ने र अन्यायका लागि माफी नमाग्ने व्यवहार सबैभन्दा अमानवीय कुरूप प्रवृत्ति हो। नेपालका केही क्षेत्रीय पहिचानवादी लेखकहरूले ‘पहाडी’ शब्दको विरुद्धमा ‘मदेशी’ र ’तराई’ शब्दको विरुद्धमा ‘गोर्खा’ शब्दलाई लागातार दुरुपयोग गरेको देखिन्छ।

जातीय आधारमा मानवलाई वर्गीकृत गर्ने कुप्रथालाई पुनःजीवित गर्नु मानववादविरुद्ध हुन्छ। सहअस्तित्वका लागि साझा ठाउँ खोज्न ऐतिहासिक सामाजिक अन्यायहरूलाई आधिकारिक रूपमा स्वीकार गर्नुपर्छ। ऐतिहासिक हानिको क्षतिपूर्ति जहाँ सम्भव छ त्यसको पूर्ति गर्नुपर्छ।

पहाडका व्यक्तिले मधेशका व्यक्तिलाई मधेशी मात्रै सोच्ने र मधेशकाले पहाडकालाई पहाडी मात्र देख्ने प्रवृत्ति नव फासिस्ट प्रवृत्ति हो। त्यस्तै गरी एक जातका व्यक्तिले अर्का जातका व्यक्तिलाई जातका दृष्टिले मात्र हेर्नु पनि नव फासिस्ट प्रवृत्ति हो। आपसी भिन्नता र समानतालाई एकसाथ विचार नगरी अर्काको पहिचान विरुद्धमा आफ्नो पहिचान मात्र खोज्नु) पनि फासिस्ट प्रवृत्ति हो। बहु पहिचानको अर्थ एकले अर्कोलाई कुनै न कुनै प्रकारको वर्गीकरण राख्नुपर्छ भन्ने होइन। एउटा भाषालाई अर्को भाषामा थोपर्नु भाषावाद हो जुन जातिवाद र फासीवादको हिस्सा पनि हो। नेपाली भाषालाई अन्य भाषाको विरुद्धमा खडा गर्नु पनि फासीवाद हो।

नेपालका रूढिवादी बौद्धिकहरू जातीय प्रणालीको पदानुक्रमलाई जायज ठान्छन्। एक्काइसौँ शताब्दीमा योभन्दा अमानवीय विचार के हुनसक्छ? अर्काथरी बौद्धिक जसले वर्तमान समयलाई ‘वैश्ययुग’ भनी नश्लवादलाई प्रोत्साहित गर्दै विभिन्न समुदायको अपमान गरिरहेका छन्। परम्परावादी बुद्धिजीवीहरू ऐतिहासिक अन्याय स्वीकार गर्दैनन्। संविधानले नागरिकलाई जातिको पदानुक्रममा वर्गीकृत गरेको छ।

यो संवैधानिकताको आधारभूत सिद्धान्तविरुद्ध छ। यो बौद्धिक वर्गको सबैभन्दा ठूलो अज्ञानताको प्रतिबिम्ब हो। जातीय आधारमा मानवलाई वर्गीकृत गर्ने कुप्रथालाई पुनःजीवित गर्नु मानववादविरुद्ध हुन्छ। सहअस्तित्वका लागि साझा ठाउँ खोज्न ऐतिहासिक सामाजिक अन्यायहरूलाई आधिकारिक रूपमा स्वीकार गर्नुपर्छ। ऐतिहासिक हानिको क्षतिपूर्ति जहाँ सम्भव छ त्यसको पूर्ति गर्नुपर्छ। र ऐतिहासिक सामाजिक अन्यायबारेमा माफी माग्नुपर्छ। ऐतिहासिक अन्यायको सामना गर्न पुरानो व्यवस्था दोहोर्‍याउनु हुँदैन। दिगो समाजका लागि जात र जातीय व्यवस्थाको अन्त्य गर्नु नितान्त आवश्यक छ ।

बहुपहिचानको साझा बिन्दु खोज्न नसक्नु सोचको अन्त्य

अरूको पहिचानविरुद्ध आफ्नो पहिचान वा मूल्यमान्यताबारे मात्रै सोच्नु भनेको सोच, विचार र ज्ञानको अन्त्य हो। ज्ञानको अन्त्य वैकल्पिक विचारको अन्त्य हो। वैकल्पिक विचारको अन्त्य भनेको साझा ठाउँको अन्त्य हो। त्यो अवस्थामा मानिसहरू सहअस्तित्वमा रहन सक्दैनन्। पहिचान राजनीति भनेको एक साझा स्थान खोज्नु हो जहाँ विभिन्न पहिचान एकसाथ रहन्छन्। यो मानवतावादीद्वारा विकसित एक विचार हो।

अमर्त्य सेनले भनेझै एकल ध्रुवीकरण पहिचानविरुद्ध ज्ञान र समझ धेरै महत्त्वपूर्ण छ। तर आज विश्वका शैक्षिक प्रणालीहरू सामूहिक मानव हितको सट्टा आत्मपहिचान र रुचि तथाकथित जाति, वा जातीय धर्म र संस्कृति, देशभक्ति वा राष्ट्रवादको प्रवर्द्धनमा केन्द्रित छन्। आजको विश्व शिक्षाको उद्देश्य प्राविधिक पेसाविज्ञहरूको उत्पादन विशेष गरी पेसाकर्मीहरूले मिडिया, सुरक्षा, व्यापार आदि क्षेत्रका विज्ञलगायतका उत्पादन गर्नु छ।

पेसाकर्मीहरूले सत्तामा रहेका मानिसका लागि सोचेको बापत पारिश्रमिक पाउँछन् र उनीहरूले मानवीय मूल्यका लागि होइन व्यक्तिगत स्वार्थमा काम गर्छन्। तिनीहरूको उद्देश्य तलब र पदोन्नति कमाउने वा पदानुक्रममा शीर्ष स्थानमा पुग्नु हो। ज्ञान उत्पादनका लागि गुणात्मक नागरिक, मानवतावादी शिक्षा, स्थिर विद्यार्थी, प्रतिबद्धता, आलोचनात्मक शंका र स्वतन्त्र निर्णय (कठोर नभई निरन्तर) सहितको हुनुपर्छ। शिक्षाले संसारलाई प्रमाणित गरेर उसको आत्मपहिचान परिभाषित गर्न सक्छ। सम्मान र सफलताका साथ संसारको सामना गर्न आत्मसम्मान दिन्छ। शिक्षाले मानिसलाई अरूहरूमध्ये आफ्नो पहिचान सजिलै दिन्छ। यस्तो पहिचान कसैको विरुद्धमा नभई एकअर्काका पक्षमा हुन्छ।

(अन्तर्राष्ट्रिय कानुनका ज्ञाता मल्ल स्टकहोल्म सेन्टर फर इन्टरनेसनल ल एन्ड जस्टिसका सिनियर फेलो हुन्। )

प्रकाशित: १४ चैत २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =