कांग्रेस नेताहरू मन्त्री बन्न अनिच्छुक!

हिमाल प्रेस १४ चैत २०७९ ८:२२
12
SHARES
कांग्रेस नेताहरू मन्त्री बन्न अनिच्छुक! कांग्रेस केन्द्रीय समिति बैठक। फाइल तस्बिर

काठमाडौँ– सभापति शेरबहादुर देउवाले आग्रह गरे पनि कांग्रेस नेताहरूले सरकारमा जान अनिच्छा प्रकट गरेको पाइएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार लामो समयसम्म टिक्दैन भन्ने बुझाइ रहेका कारण नेताहरूले सरकारमा जाने आकांक्षा नदेखाएको कांग्रेसका एक नेताले बताए।

ती नेताले भने, ‘पार्टी सभापतिले आग्रह गरे पनि नेताहरूले सरकारमा जाने इच्छा देखाइरहेका छैनन्। कांग्रेस नेतृत्वमा सरकार बनेपछि मात्रै मन्त्री बन्न चाहना राख्नेहरू धेरै छन्।

त्यसैले अहिले सरकारमा को जाने भन्ने समस्या देखिएको छ।’ सरकारमा सहभागी हुने नेताको टुंगो लगाउन मंगलबारका लागि डाकिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक १६ गतेका लागि सारिएको छ।

प्रचण्डको विवादास्पद कार्यशैली

प्रधानमन्त्री प्रचण्डको कार्यशैलीका कारण पनि कांग्रेसबाट सरकारमा जान चाहना राख्नेहरू देखिएका छैनन्। सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नु र कार्यतालिकामै व्यस्त हुनु राम्रो लक्षण नरहेको ती नेताले बताए।

यस्तै गठबन्धन सरकार भए पनि प्रधानमन्त्री दाहालले एकमना सरकारजसरी मनलाग्दी निर्णय गरिरहेको विषयमा पनि कांग्रेसमा असन्तुष्टि छ। ‘प्रचण्डले एकमना सरकारजसरी भटाभट निर्णय गरिरहेका छन्। माओवादीका पूर्वलडाकुलाई पैसा बाँड्नेदेखि आफू अनुकूलको क्षेत्रमा रकम पुर्‍याउन छोडेका छैनन्’, ती नेताले भने।

देउवाको चाहना आफ्नैका लागि

सभापति देउवामाथि सरकारमा जान समयअनुकूलको व्यक्ति चयन गर्ने भन्दा पनि आफूलाई खुसी पार्ने व्यक्ति मात्र खोज्ने गरेको आरोप लागेको छ। सोही कारण कांग्रेसले सरकारमा जानेको सूची तयार पार्न सकेको छैन। यस्तै सभापति निकटका केही व्यक्तिहरूको दबदबाका कारण मन्त्रीको नामावली तयार पार्न नसकिएको ती नेताले बताए।

माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले पनि मन्त्रीको टुंगो लगाउन सकेका छैनन्। साना दलले ठूलो भाग खोज्दा कांग्रेस र माओवादीलाई समस्या परेको अर्का नेता बताउँछन्। यसरी निर्णयमा ढिलाइ गर्दै जाँदा सरकारको आयु पनि घट्दै जाने निश्चित छ।

ती नेता भन्छन्, ‘मन्त्रिपरिषद् विस्तार नहुने हो भने बिस्तारै दलभित्र अविश्वास पैदा हुँदै जानेछ। यसले वर्तमान गठबन्धनलाई धक्का पुर्‍याउनेछ।’

दबाबमा प्रचण्ड

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि पार्टीहरूबीच मन्त्रालयको भागबन्डा टुंगो लाग्न नसकेको बताउँछन्। उनी भन्छन्, ‘दलीय भागबन्डाको टुंगो लागेपछि मात्र पार्टीले निर्णय लिनेछ।’ सञ्चारमाध्यममा आएझैँ गठबन्धन मन्त्रालयको भागबन्डा र सरकार विस्तारको चरणमा पुगिनसकेको उनले बताए।

महतले भने, ‘छलफल जारी छ। मंगलबार पनि छलफल हुनेछ र त्यहाँ यो दललाई यो मन्त्रालय यति मन्त्री भन्ने टुंगो लाग्नेछ।’

महतका अनुसरा प्रचण्ड, देउवा, माधवकुमार नेपाल र उपेन्द्र यादवबीच सहमति जुटिसकेको छैन। शीर्ष नेताबीच सहमति भएपछि पार्टीभित्र छलफल भएर टुंगो लाग्ने महतले बताए। मन्त्रालय संख्या थोरै तर सरकारमा सामेल हुने पार्टी धेरै भएकाले पनि समस्या आएको नेताहरू बताउँछन्।

साना पार्टी सहमतिमा नआएमा पर्खने मनस्थितिमा नेताहरू छैनन्। त्यस्ता दललाई तत्काल सरकारमा सामेल नगराइने अर्का एक नेता बताउँछन्। यसबारे पनि मंगलबार निर्णय हुन सक्नेछ।

‘हामी ठूलो दलले नेतृत्व पनि छोड्नुपर्ने, राज्य सञ्चालनमा प्रत्यक्ष असर गर्ने मन्त्रालय पनि साना दलको चाहनाअनुरूप दिनुपर्ने, अनि के गर्न सरकारमा जाने भन्ने प्रश्न छ।’

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने अनौपचारिक निर्णय लिए पनि त्यसले औपचारिकता पाएको छैन। माओवादीले अर्थ वा गृह मन्त्रालय आफ्नो दलले पाउनुपर्ने अडान जारी राखेको छ।

प्रधानमन्त्री हुने लोभमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुख सबै गुमाइसकेका माओवादी अध्यक्ष प्रचण्डलाई पार्टीभित्र शक्तिशाली मन्त्रालय छाड्न नहुने दबाब रहेको पार्टीका एक नेताले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + three =