कोशी फाइनलनजिक, मधेशको पहिलो जित

हिमाल प्रेस १३ चैत २०७९ १७:१८
6
SHARES
कोशी फाइनलनजिक, मधेशको पहिलो जित ललितपुर मेयर महिला च्याम्पियनसिपमा साेमबारकाे खेलअघि सुदूरपश्चिम (बायाँ) र काेशीका कप्तान

काठमाडौँ- सुदूरपश्चिम प्रदेशलाई सोमबार नौ विकेटले पराजित गरेपछि कोशी प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी ट्वान्टी२० प्रतियोगितामा कोशीको यो तीन खेलमा दोस्रो जित हो।

कोशीले लिग चरणको आफ्नो अन्तिम खेलमा मंगलबार मधेश प्रदेशलाई हराए फाइनलमा स्थान पक्का गर्नेछ। जितविहीन बने कोशीको फाइनल सम्भावना रनरेटले निक्र्योल गर्नेछ। किनभने लिग चरणका सबै खेल खेलिसकेको सुदूरपश्चिम प्रदेश चार अंकसहित तेस्रो स्थानमा छ। नेपाल एपीएफ क्लब लगातार तीन जितका साथ यसअघि नै फाइनलमा पुगिसकेको छ।

कोशीको जितमा कप्तान रुविना क्षेत्रीको प्रदर्शन निर्णायक बन्यो। उनले ११ रन खर्चिएर तीन विकेट हात पारिन् भने २८ रन बटुलिन्। सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य एक विकेट गुमाएर पूरा गरेको कोशीका लागि ओपनर काजोल श्रेष्ठले सर्वाधिक ४० रनको योगदान गरिन्।

अविजित रही ५० बलमा पाँच चौका प्रहार गरेकी काजोल र रुविनाले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। अप्सरी बेगम चार रनमा अविजित रहिन्।

त्यसअघि सुदूरपश्चिम १८.५ ओभरमा अलआउट भयो। कप्तान बिन्दू रावलले ३० रन बनाए पनि सुदूरपश्चिमले प्रतिस्पर्धात्मक योगफल तयार पार्न सकेन। सुदूरपश्चिमका लागि कुल तीन ब्याट्सवुमनले दोहोरो अंकको रन बनाउँदा सम्झना खड्का र रितु कनौजियाको नाममा १६ र १३ रन रह्यो।

सुदूरपश्चिमका पाँच ब्याट्सवुमन शून्यमा सीमित भए। तीमध्ये कविता जोशी र लक्ष्मी साउद रुविनाको बलमा पभेलियन फर्किएका थिए। त्यसैगरी अप्सरी बेगमले पनि तीन विकेट नै हात पारिन्। उनले रेवती धामी र मनिषा चौधरीलाई रनको खाता खोल्न दिइनन्। कोशीका लागि ज्योति दनुवारले एक विकेट लिइन्।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा मधेशले आयोजक टिम ललितपुर मेयर एघारमाथि एक विकेटको जित हात पार्‍यो। सुरुवाती दुई खेलमा एपीएफ र सुदूरपश्चिमसँग पराजित भएको मधेशले ललितपुरलाई हराउँदा सरस्वती कुमारीले अविजित ३२ रन बटुलेकी थिइन्।

प्लेयर अफ द म्याच घोषित सरस्वतीको सर्वाधिक स्कोरको सहयोगमा मधेशले ९७ रनको लक्ष्य चार बल बाँकी छँदा पूरा गरेको थियो। त्यसअघि ललितपुरले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ९६ रनको योगफल तयार पारेको थियो।

तीन खेल खेलिसक्दा जितविहीन रहेको ललितपुरका लागि मध्यक्रमका ब्याट्सवुमनले सन्तोसजनक ब्याटिङ गरेका थिए। सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३ र सृष्टि जैसीले १५ रन बनाएका थिए।

मधेशका लागि अलिशा यादवले १६ र सीमा कुँवरले १५ रन बनाएका थिए।

बलिङतर्फ ललितपुरका कृतिका मरासिनी र सोनी पाख्रिनले दुई–दुई विकेट हात पार्दा अस्मिना कर्माचार्य र मनिषा चौधरीको नाममा एक–एक विकेट रह्यो।

पाँच टिमसम्मिलित प्रतियोगितामा मधेश चौथो स्थानमा छ। सबै खेल हारेको ललितपुर पुछारमा छ। अब यी दुई टिमले लिग चरणमा एक–एक खेल्न बाँकी छ। मधेशले कोशी र ललितपुरले एपीएफको सामना गने तालिका छ। यी दुई खेल मंगलबार हुनेछन्। फाइनल भने बिहीबार हुनेछ।

प्रकाशित: १३ चैत २०७९ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =