पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

हिमाल प्रेस ११ चैत २०७९ २१:३०
4
SHARES
पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

कञ्चनपुर- कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। क्याप्टेन ‘वेद उप्रेती ट्रस्ट’द्वारा सञ्चालित म्युजियममा तस्बिर खिच्ने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ।

म्युजियमभित्र उल्टो तस्बिर लिनेहरूको आकर्षण देखिन्छ। उक्त म्युजियममा कुर्सी, टेबल, साइकललगायतका सामग्री उल्टो राखिएको छ। तस्बिर लिएपछि उल्टो नै देखिने भएकाले फोटो खिच्नेको भीड लागने गरेको छ।

पछिल्लो समय म्युजियममा दैनिक एक सयदेखि डेढ सय जनासम्म अवलोकनका लागि पुग्ने गरेका छन्। महेन्द्रनगर मात्रै नभएर धनगढी र नेपालगञ्जबाट समेत अवलोकनका लागि आउने गरेका छन्।

त्यसैगरी म्युजियमभित्र पुरानो हेलिकोप्टर र स्विमिङ पुललगायत यस क्षेत्रका पर्यटकीयस्थलको तस्बिर समेत छन्। म्युजियममा यस क्षेत्रका रानाथारू पहिरनमा सजिएका डमी राखिएका छन्। ‘म्युजियमभित्र सुदूरपश्चिमका धार्मिकस्थल र यहाँका संस्कृति झल्किने सामग्री देख्न पाइन्छ,’ म्युजियमका सञ्चालक क्याप्टेन उप्रेतीले भने, ‘अहिले यहाँ आउने आन्तरिक पर्यटक बढ्न थालेका छन्।’

शनिबारदेखि म्युजियममा ‘एयरक्राफ्ट म्युजियम’ समेत सञ्चालनमा आएको छ। ‘कस्मिक एयरको फोकर–१०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो,’ उप्रेतीले भने, ‘यसमा एकैपटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन्।’

म्युजियमले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको स्थानीय चित्रांग थापाले बताए। ‘महेन्द्रनगरमा पर्यटकको नयाँ गन्तव्यका रूपमा म्युजियम स्थापित भएको छ,’ थापाले भने, ‘म्युजियमले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको छ।’

पछिल्लो समय म्युजियममा भारतको सीमावर्ती सहरबाट समेत अवलोकनका लागि आउने गरेका छन्। सामाजिक सञ्जाल र टिकटकमा नयाँ–नयाँ ठाउँको भिडियो पोष्ट गरेको देखर यहाँ आउन पर्यटक पनि आकर्षित हुने गरेका छन्। ‘एक जना साथीको टिकटकमा यहाँको भिडियो देखेपछि मलाई पनि हेर्न मन लागेर आएको हुँ,’ म्युजियम घुम्न आएका विकास क्षेत्रीले भने, ‘म्युजियममा धेरै कुरा हेर्न पाइयो।’

पछिल्लो समय यहाँ आएर टिकटक बनाउनेहरूको समेत भीड लाग्छ। रासस

प्रकाशित: ११ चैत २०७९ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =