बेल्जियमका यान : पहिले पर्यटक अहिले प्रशिक्षक

हिमाल प्रेस ९ चैत २०७९ १९:०८
130
SHARES
बेल्जियमका यान : पहिले पर्यटक अहिले प्रशिक्षक

काठमाडौँ- युरोपेली देश बेल्जियमका परिचय अनेक छन्। ‘फ्रेन्च फ्राइज’ देखि ‘स्याक्सोफोन’ सम्म बेल्जियमले आविष्कार गरेको हो। अर्को भनाइ छ, बेल्जियममा चार वर्षसम्म प्रत्येक दिन फरकफरक स्वादका बियर चाख्न/पिउन सकिन्छ।

बेल्जियन के पनि दाबी गर्छन् भने उनीहरू विश्वकै सबैभन्दा मिठो चक्लेट बनाउँछन्। युरोपेली राजनीतिको केन्द्र पनि बेल्जियम नै हो। युरोपियन युनियन (ईयू) र सैन्य गठबन्धन नेटोको मुख्यालय बेल्जियममै छन्।

यी सूचना खेलकुदप्रेमीका लागि चाखलाग्दा नहुन सक्छन्। तर बेल्जियमको फुटबल? बेल्जियन फुटबलले भने खेलकुदप्रेमीको ध्यान आकृष्ट गर्छ नै। एडन हाजार्डदेखि रोमेलु लुकाकु, अनि थिबाउट कोर्टुवादेखि केभिन डे ब्रुएनासम्म, यी खेलाडीले बेल्जियमलाई विश्वभर चिनाएका छन्।

बेल्जियन फुटबल र त्यहाँका फुटबलर मन पराउने विश्वभर छन्। बेल्जियमभित्रै नहुने कुरै भएन। बेल्जियमको फुटबलले यति मोहित बनाएको छ कि, लाग्छ त्यहाँ जन्मिएका हरेक व्यक्ति फुटबलर बन्न चाहन्छन्। यान ब्रान्ड्टलाई फुटबल चाखलाग्दो खेल लाग्छ। तर उनका लागि फुटबलर बन्ने विकल्प खुला थिएन। यसको कारण थिए आफ्नै पिता।

पिताले भलिबल क्लब स्थापना गरेपछि यानले कसरी फुटबलर बन्ने सपना देख्न पाउँथे र? आफ्ना दाइसँगै यान पनि भलिबल खेल्न थालिहाले। भलिबल खेल्न सुरु गर्दा उनी आठ वर्षका थिए। अहिले उनी ६४ वर्षका भए। अझै भलिबलमा सक्रिय छन्। तीन दशकभन्दा बढी भयो उनी प्रशिक्षक बनेको। अबचाहिँ करियरको उत्तरार्द्धमा पुगेको उनी बताउँछन्।

यद्यपि उनमा जोस-जाँगर घटेको छैन। ‘बच्चादेखि ठूलासम्म, हरेक उमेर समूहलाई भलिबल सिकाउन म सधैँ रमाइलो मान्छु। यो मेरो प्यासन हो,’ हाल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई प्रशिक्षण दिइरहेका यानले भने। अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले उनलाई केही साताअघि नेपाल पठाएको हो।

यानका लागि नेपाल नौलो गन्तव्य थिएन। उनी सन् २०१० मै नेपाल आइसकेका थिए, पयर्टकका रूपमा। ‘त्यसबेला तीन साता नेपाल घुमेँ। मनास्लुतिर ट्रेकिङ गरेँ। बेल्जियम फर्किएपछि पनि मेरो सम्झनामा यहाँका हिमाल, पहाड, मानिस छँदै थिए,’ यान विगत सम्झिन्छन्। यान नेपाल आउनुका केही कारणमध्ये यो विगत पनि एक हो।

तीन दशकको प्रशिक्षण करियरमा धेरैजसो समय यान विदेशमै रहे। अबचाहिँ थोरै काम धेरै आराम गर्ने सोचाइमा रहेका यान बेल्जियममै थिए। उनको जिम्मेवारीमा थियो, बेल्जियमकै महिला राष्ट्रिय टिम। गत अक्टोबरबाट खाली भएपछि उनी साना ‘प्रोजेक्ट’ मा व्यस्त थिए। त्यहीबीचमा उनको सम्पर्क भयो, नेदरल्यान्ड्सका पिटर भान टारेलसँग। जो नेपाली भलिबलसँग परिचित थिए।

‘विश्व च्याम्पियनसिप भइरहँदा पिटरले नेपाल जाने हो भनेर सोधे। मैले हुन्छ भनेँ तर यहाँ आउने निश्चित थिएन। मैले सोचेँ, नेपाल गएर पुराना मित्रसँग भेट गर्ने मौका यही हो’, यान भन्छन्।

यान नेपाल बसाइलाई एक हिसाबले ‘पेड होलिडे’ मान्छन्। ‘नेपाल आएर आफूले जानेका कुरा सिकाउन रमाइलो लाग्ने नै भयो। त्यसमाथि मैले तलब पनि पाइरहेको छु। नेपालसँग प्रेम त छँदै थियो। यी कारण म अहिलेको नेपाल बसाइलाई पेड होलिडे मान्छु,’ यान भन्छन्।

करियरको सुरुवात

यानले ३१ वर्षको उमेरमा खेल्न छाडे। बेल्जियमको राष्ट्रिय टिमबाट ३५७ खेल खेलिसकेपछि उनीसामु विकल्प थियो, प्रशिक्षक बन्ने। उसो त उनी २० वर्षको उमेरबाटै भलिबल प्रशिक्षण गराउँथे।

व्यावसायिक प्रशिक्षक बन्न भने समय लाग्यो। सुरुमा बेल्जियमका विभिन्न क्लबमा सहायक प्रशिक्षक बनेका उनी ३४ वर्षको उमेरमा पूर्णकालीन मुख्य प्रशिक्षक बने। सन् १९९१ देखि २००१ सम्म पुरुष भलिबलमै अल्झिएका उनी त्यसपछि भने महिला टिमलाई पनि प्रशिक्षण दिन थाले। विगत २० वर्षदेखि उनी लगातार महिला भलिबलमै छन्। यो बीचमा उनी बेल्जियमबाहेक हंगेरी र अस्ट्रियाको महिला टिमका प्रशिक्षक बने। स्पेन, टर्की र जर्मनीको क्लब भलिबलमा रमे। उनी प्रशिक्षक बनेको नेपालको राष्ट्रिय टिम चौथो हो।

यानका लागि नेपालमाा ‘सीएभीए वुमन्स च्यालेन्स कप’ पहिलो परीक्षा हुनेछ। नेपाल भलिबल संघले जेठमा आयोजना गर्न लागेको प्रतियोगितामा एसियाका आठ टिम सहभागी हुँदैछन्। एसियाली भलिबल महासंघअन्तर्गत पाँच क्षेत्र छन्। नेपालसम्मिलित क्षेत्रलाई मध्यएसियाली भलिबल संघ (सीएभीए) ले नियमन गर्छ। यही संघअन्तगर्तका आठ टिम काठमाडौँमा भेला हुन लागेका हुन्।

नेपाल भलिबल संघले एसियाली स्तरको प्रतियोगिता भनेको च्यालेन्ज कपमा आयोजक नेपालबाहेक भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र कजाकस्तान सहभागी हुनेछन्। प्रतियोगिता यसअघि नेपालले दुई पटक जितेको छ। तर भारत थपिएसँगै च्यालेन्ज कप थप प्रतिस्पर्धात्मक रहने अनुमान छ।

दक्षिण एसियाली टिममध्ये भारत नेपालका लागि सधैँको तगारो हो। १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्णका लागि भएको प्रतिस्पर्धा नेपाली खेलाडीले अहिलेसम्म भुल्न सकेका छैनन्। २-१ को अग्रता लिएर पनि नेपाल आखिरमा पराजित भएको थियो।

नेपाली भलिबलको स्तर

नेपालले हाल २१ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा राखेको छ। यी खेलाडीलाई दिनहुँ अभ्यास गराइरहेको यान नेपाली भलिबलको स्तरको जानकार भइसकेका छन्। नेपालको समग्र भलिबलको स्तर नउक्सिनुको कारण केलाउँदै यान भन्छन्, ‘कुनै पनि टिमको स्तर तबसम्म बढ्दैन, जबसम्म उसले आफूभन्दा बलिया टिमसँग खेल्दैन। नेपालको समस्या यही हो कि नेपाल आफूसमान वा कमजोर टिमसँग मात्र खेल्छ। बलिया टिमलाई यहाँ बोलाउँदैन।’

आर्थिक समस्याका कारण नेपाल बलिया टिमलाई यहीँ बोलाएर वा उनीहरूकहाँ पुगेर खेल्न नसक्ने यानको ठम्याइ छ। विशेषगरी महिला भलिबलमा उनले देखेको अर्को समस्या हो, शारीरिक दुर्बलता। ‘पुरुष खेलाडीको उचाइ ठिकठाक छ। तर महिलाचाहिँ होचा छन्। अन्तर्राष्ट्रिय भलिबलमा महिला खेलाडीको सरदर उचाइ एक मिटर ९० सेन्टिमिटर हुन्छ। यहाँ एक मिटर ७० देखि ८० सेन्टिमिटरका छन्,’ यान भन्छन्।

भलिबलमा शारीरिक रूपमा अग्ला खेलाडीले स्वतः ‘एड्भान्टेज’ पाउँछन्। तर उचाइ कम भएकाले नेपाली महिला खेलाडीका लागि त्यो ‘एड्भान्टेज’ खोसिएको बताउँछन् यान। नेपाली महिला टिमको यो कमजोर पक्षलाई हल गर्न यान उपाय सुझाउँछन्। त्यो हो, खेलाडी ‘स्काउटिङ।’

‘मलाई लाग्छ देशभर डुल्यो भने अहिलेका भन्दा अग्ला खेलाडी भेटिन्छन्। उनीहरूलाई किशोर उमेरमा ट्रेनिङ सेन्टरमा ल्याउने, निरन्तर अभ्यास गराउने। भविष्यमा नेपालले यसो गरे राम्रो नतिजा निस्किन्छ,’ यान भन्छन्।

यानको अर्को सुझाव पनि छ। खेलाडीलाई प्राविधिक रूपमा कुशल बनाउने। ‘जापान र थाइल्यान्डका खेलाडी पनि खासै अग्ला हुँदैनन्। तर उनीहरूसँग गजबको कौशल हुन्छ। विशेषगरी ‘डिफेन्स’मा उनीहरू बलिया देखिन्छन्। नेपालमा पनि खेलाडीलाई कुशल बनाउन सकिन्छ। तर यसका लागि निरन्त अभ्यासको जरुरी छ,’ यान थप्छन्।

यानका अनुसार भलिबलमा कुनै पनि टिम अरूभन्दा बलियो बन्न चाहे यी पाँच पक्षमा ध्यान दिनुपर्छ। जस्तै, खेलाडीको शारीरिक, प्राविधिक र रणनीतिक गुण, टिमको समग्र योजना अनि खेलाडीको मानसिक अवस्था। उनको विचारमा यी पाँच पक्ष क्रमसँगै महत्त्वपूर्ण छन्।

‘नेपाली खेलाडी रणनीतिक रूपमा कमजोर छन्। तर यसमा सुधार ल्याउन सकिन्छ। यसका लागि उनीहरू प्राविधिक र शारीरिक रूपमा बलियो हुनुपर्छ। यी तीन पक्षमा बलियो भएपछि मात्र टिमको योजना र खेलाडीको मानसिकताको कुरा आउँछ। यी सबै कुरामा सुधार ल्याउन सकिन्छ। तर प्रशस्त समय चाहिन्छ। आजको भोलि हुँदैन,’ यान भन्छन्।

यी आधारभूत समस्या हल गर्न गाह्रो नभएको यानको भनाइ छ। यसका लागि उनले दिएका सुझाव हुन्, सही स्थानमा टे«निङ सेन्टर बनाउने, १४ देखि १८ वर्षसम्मका खेलाडीलाई सुरक्षित अभ्यास गराउने, उनीहरुलाई स्कुल, कलेजको व्यवस्था गरिदिने, दैनिक अभ्यास गराउने।

‘बेल्जियममा हामी युवा खेलाडीलाई छनोट गरेर एकेडेमीमा राख्छौँ। ती खेलाडी बिहान स्कुल जान्छन्, दिउँसो अभ्यास गर्छन्। उनीहरू सातामा २० घण्टा अभ्यास गर्छन्। नेपालमा यसरी अभ्यास गराए, पाँच वर्षमा लोभलाग्दो नतिजा निस्किन्छ,’ यान विश्वस्त देखिए।

सीएभीए च्यालेन्ज कपमा नेपालको लक्ष्य

यान नेपाली टिमको प्रदर्शन र लक्ष्य धेरै पक्षमा निर्भर हुने बताउँछन्। नेपाली खेलाडी उपाधिका लागि भिड्छौँ भन्दा पनि राम्रो भलिबल खेल्छौँ भनेर अघि बढिरहेको उनको भनाइ छ। ‘म यति भन्नसक्छु, यी खेलाडीलाई अझ राम्रो बनाउन लागिपरेको छु। हामी निडर भएर, सुन्दर भलिबल खेल्नेछौँ। के यति गर्दा खेल वा उपाधि जितिएला? हेरौँ,’ यानले भने।

यानले प्रतियोगितामा नेपालको निर्णायक स्थान आफूले हासिल गर्ने नतिजामा निर्भर नहुने जिकिर गरे। ‘नतिजा हाम्रो टिमको प्रदर्शनमा मात्र होइन अर्को टिममा पनि भर पर्नेछ। त्यसबेला टिमका उत्कृष्ट खेलाडीको फिटनेसको कुरा आउनेछ। टिमका सबैभन्दा बलिया खेलाडी घाइते भए के गर्ने?’ यानको प्रश्न छ।

महिला र पुरुष टिमलाई प्रशिक्षण गराउँदाको अनुभव

यानले नेपाली पुरुष टिमलाई पनि प्रशिक्षण दिनेछन्। महिला र पुरुष टिमलाई प्रशिक्षण गराउँदाको फरक अनुभव के छ त? उनले भने, ‘अभ्यास गराउने शैली हो। यसकारण धेरै भिनता छैन। तर केही यस्ता पक्ष छन्, जसले महिला र पुरुषलाई बिलकुल फरक बनाइदिन्छन्।’

यानका अनुसार पुरुष खेलाडी स्वाभाविक रूपमा बलिया हुने भएकाले पुरुष भलिबल ‘पावर गेम’ हो। अर्को भिन्नताचाहिँ पुरुष र महिला खेलाडीको फरक-फरक मानसिकता।

‘महिला खेलाडी पुरुष खेलाडी जस्ता क्रिएटिभ हुँदैनन्। महिला खेलाडी प्रशिक्षकको योजनाअनुसार खेल्छन्, योजनाले काम गरेन भने अत्तालिन्छन्। तर पुरुष खेलाडी स्वभावले क्रिएटिभ हुन्छन्। स्वतन्त्रपूर्वक खेल्न रुचाउँछन्, प्रशिक्षकले भनेको शैलीभन्दा फरक शैलीमा पनि खेल्न सक्छन्। मेरो प्रयास महिला खेलाडीलाई पनि क्रिएटिभ बनाउने हो,’ यानको लामो जवाफ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =