‘आर्थिक नीति र मौद्रिक नीतिबीच तादाम्यता नभएका कारण अर्थतन्त्रमा संकट’

हिमाल प्रेस ७ चैत २०७९ १९:११
2
SHARE
‘आर्थिक नीति र मौद्रिक नीतिबीच तादाम्यता नभएका कारण अर्थतन्त्रमा संकट’

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक स्वास्थ्य चिन्ताजनक रहेको बताएको छ। अर्थतन्त्रको वर्तमान अवस्थासम्बन्धी छलफल गर्न महासंघको कार्यालय टेकु पुगेका स्वतन्त्र पार्टीका सांसदहरूसँगको छलफलपछि महासंघले उक्त प्रतिक्रिया दिएको हो।

मंगलबार स्वतन्त्र पार्टीका सांसद मुलुकको आर्थिक अवस्थाबारे छलफल गर्न महासंघका पदाधिकारीलाई भेट्न महासंघको कार्यालयमा गएका थिए। छलफलपछि विज्ञप्ति जारी गर्दै महासंघले अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक रहेको बताएको हो। छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितका पदाधिकारी र स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याललगायतको सहभागिता थियो।

सो अवसरमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी गराए। बाह्य क्षेत्रमा केही सुधार देखिए पनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य चिन्ताजनक रहेको गोल्छाले बताए।

सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा सञ्चिति, मुद्रास्फिति, आन्तरिक एवं बाह्य ऋणको अनुपातमा नेपालको अर्थतन्त्र बलियो देखिए पनि चर्को ब्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्ततालगायत इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ताजनक रहेको प्रष्ट हुने उनको भनाइ थियो।

सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिबीच तादाम्यता नभएका कारण अर्थतन्त्रमा संकट आएको गोल्छाले बताए। ‘कोभिड लगत्तै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुु पर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको हो,’ अध्यक्ष गोल्छाले भने।

अर्थतन्त्रमा संकट आउँदा पर्याप्त मात्रामा बाह्य लगानी र बाह्य ऋण ल्याउन नसकिएकाले झन अप्ठ्यारोमा परेको उनले बताए। ‘दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको हो,’ उनले भने, ‘विकास खर्च नबढेसम्म देश अगाडी बढ्दैन।’
अहिलेको संकट समाधानका लागि वितरणमुखी काम रोकेर विकास खर्च बढाउनै पर्नेमा उनले जोड दिए। ‘कठोर निर्णय लिनैपर्छ,’ उनले भने, ‘त्यसमा दलहरूको सहयोग अपरिहार्य छ।’

अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरूको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनुु स्वतन्त्र पार्टीका सांसदहरूलाई सुुझाव पनि दिए।

अध्यक्ष गोल्छाले विधायक र निजीक्षेत्रबीच अर्थतन्त्रका विषयमा निरन्तर अन्तरक्रिया आवश्यक रहेको सन्दर्भमा राष्टिय स्वतन्त्र पार्टीको छलफल गर्ने पहलको प्रशंसा गरे।

राष्टिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र, उद्योग व्यवसायका मुद्दाहरूमाथि छलफल आफूहरू महासंघमा आएको बताए।

योजनागत विकासको अभ्यास दशकौँदेखि गर्दै आए पनि अहिले समेत नेपाल पिछडीएकै राष्ट्रमा दरिनुपर्ने बाध्यता दुुर्भाग्य रहेको उअर्यालको भनाइ थियो। ‘हामी विकासको मार्गमा कसरी हिँड्न सक्छौं, समस्या कहाँ छ भन्ने सम्बन्धमा छलफल गर्न अर्थतन्त्रको इञ्जिन निजीक्षेत्रको छाता संस्थामा आएका हौँ,’ उनले भने।

छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले निजीक्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन अपरिहार्य रहेको बताए। अर्थतन्त्र एवं उद्योग व्यवसायसम्बन्धी नीति निर्माण गर्दा सरोकारवाला निजीक्षेत्रसँग पर्याप्त छलफल पश्चात मात्र ल्याउने अभ्यास गर्नुपर्ने उनको भनाइ थियो।

मुलुक बनाउने कुरामा आफना स्वार्थ छाडेर निर्णय गर्न सक्ने परिपाटी दलहरूले अंगाल्नुपर्ने ढकालको भनाइ थियो।

प्रकाशित: ७ चैत २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =