गोदावरीले दियो किसानलाई उन्नत जातका बोका

हिमाल प्रेस ७ चैत २०७९ १६:१०
6
SHARES
गोदावरीले दियो किसानलाई उन्नत जातका बोका

ललितपुर – गोदावरी नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको बोका उपलब्ध गराएको छ। बाख्राको नस्ल सुधार्न र उन्नत जातको पाठापाठी उत्पादन गर्न उक्त जातका १३ वटा बोका दिइएको हो। नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले किसानलाई बोका हस्तान्तरण गरे।

गोदावरी नगरपालिका पशु शाखाका अनुसार एउटा बोकालाई सरदर ४८ हजार रुपैयाँ परेको छ। ४८ हजारको ५० प्रतिशत किसानले बेहोरेका छ्न् भने ५० प्रतिशत नगरपालिकाले लगानी गरेको छ। नगर प्रमुख महर्जनले किसानको आर्थिक अवस्था सुधार गर्नका लागि नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बोका उपलब्ध गराइएको बताए।

उनले भने, ‘उहाँहरूको पनि लगानी हुँदा अपनत्व महसुुस हुने भयो। त्यसैले यो अवधारणामा काम गरेका हौँ।’ उनले किसानको आवश्यकता र मागलाई नगरले प्राथमिकतामा राखेको उनले बताए।

नगरपालिकाले उत्पादन वृद्धि गर्दै किसानको आर्थिक अवस्था सुधार गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ। नगरपालिकाले अघिल्लो वर्ष १४ वटा वोका किसानलाई दिएको थियो। अघिल्ला वर्षको कार्यक्रम प्रभावकारी भएकाले निरन्तरता दिएको पशु शाखा प्रमुख ईश्वरप्रसाद घिमिरेले बताए।

उनले भने, ‘हस्तान्तरण गरेको बोकामा बोयरको जातीय गुण ७५ प्रतिशत छ। यसबाट उत्पादन हुने पाठपाठी हृष्टपुष्ट हुन्छन्। बलिया र मोटाघाटा हुन्छन्। तिनको बिक्रीवितरणबाट किसान लाभान्वित हुनुहुन्छ।’
नगरपालिकाले बोका दिनुअघि इच्छुक किसानसँग आवेदन माग गरेको थियो।

उनका अनुसार निवेदन प्राप्त भएपछि छलफल गरेर बोका दिइएको हो। गोदावरी नगरपालिकामा १४ वटा वडा छन्। पालिकाको केही वडामा कृषि र पशुपालनमा मुख्य पेसा बनाएकाहरूको बसोबास छ।

प्रकाशित: ७ चैत २०७९ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =