कैदीबन्दीलाई ललितपुर महानगरको सीप विकास तालिम

हिमाल प्रेस ७ चैत २०७९ १५:३३
4
SHARES
कैदीबन्दीलाई ललितपुर महानगरको सीप विकास तालिम

ललितपुर- ललितपुर महानगरपालिकाले नख्खु कारागारमा रहेका कैदीबन्दीलाई सीप विकास तालिम दिन सुरु गरेको छ। कारागारमा रहेका कैदीबन्दीमा सीप विकास गरेर उनीहरूलाई आत्मनिर्भर बनाउन महानगरले तालिम दिन थालेको हो। पहिलो चरणमा बन्दीमध्ये ६० जनाले तालिम लिँदैछन्। उनीहरूलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ। फर्निचरसम्बन्धी तालिम तीन महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ।

तालिम उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले फरक परिस्थितिका कारण नख्खु कारगारमा रहेका सबैलाई चरणबद्ध रूपमा महानगरले तालिम दिने बताए। उनले भने, ‘यो तालिम हाम्रो तर्फबाट पहिलो हो, अन्तिम होइन, अनवरत चलिरहन्छ।’

तालिमले आर्थिक रूपमा अत्मनिर्भर बनाउने बताउँदै कारागारबाट बाहिरिँदा सीपसहित बाहिरिनु महत्त्वपूर्ण भएको उनले प्रस्ट पारे। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले घटना वा दुर्घटनाका कारण कैदमा रहेकाको आत्मविश्वास बढाउन महानगरले तालिम आयोजना गरेको बताइन्। उनले भनिन्, ‘ हातमा सीप भए परनिर्भरता हट्छ। यहाँ रहँदा नै पनि सीपलाई उत्पादनसँग जोडेर तपाईँहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नुहुन्छ।’

ललितपुर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले हिजो, आज र भोलिको जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको बताए। तालिमले आत्मबल बढाउने बताउँदै आचार्यले आत्मनिर्भर बन्न सहयोग गर्ने प्रस्ट पारे।  महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कैदी बन्दीको बाँकी जीवन रचनात्मक बनाउन महानगरले तालिम आयोजना गरेको बताए।

उनले भने, ‘नियत, नियति, परिस्थिति र अवस्थाले तपाईँहरु यहाँ आइपुग्नुभयो। जीवन सकिएको छैन रमाइलो र उल्लासपूर्ण जीवन बाँकी छ, सीप सिकेर आत्मबल बढाउनुहोस्।’

आर्थिक विकास समिति संयोजक तथा वडा २१ का अध्यक्ष रवीन्द्र महर्जनले करागारहरु सुधारगृहका रुपमा परिवर्तन हुँदै गएको बताए।

कारागार प्रशासक बद्रीनाथ गैरेका अनुसार कारागारमा २० देखि ४० वर्षका पुरुषहरु छन्। यस्तै कैदीबन्दीहरू अधिकांश बिरामी छन्। उपत्यकाबाहिरका कारागारमा रहेका बन्दी बिरामी भएपछि उपचार गर्न सहज होस् भन्दै उपत्यकाभित्रका कारागारमा स्थानान्तरण गर्ने गैरेले बताए।

नख्खु कारागारमा एक हजार चार सय ५६ जना कैदीबन्दी छन् यो संख्या स्थानान्तरणका कारण दिनैपिच्छे थपघट भइरहन्छ। नख्खु कारागारमा भएकामध्ये एक सय एक विदेशी कैदी छन्।

प्रकाशित: ७ चैत २०७९ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =