इटहरीको जनता क्याम्पसमा १७ वर्षपछि नेविसंघको उदय*

हिमाल प्रेस ७ चैत २०७९ ८:५३
382
SHARES
इटहरीको जनता क्याम्पसमा १७ वर्षपछि नेविसंघको उदय*

इटहरी- इटहरीस्थित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेविसंघले इतिहास रचेको छ। २०६२ सालयता सधैँ हार व्यहोरेको नेविसंघले पहिलोपटक बहुमत प्राप्त गर्दै जित निकालेको हो।

यसपटकको अन्तिम मत परिणामअनुसार नेविसंघका सहदेव काफ्ले १ हजार २९८ मत प्राप्त गर्दै विजयी भए। चुनावमा नेविसंघ र समाजवादी विद्यार्थी युनियनबीच तालमेल थियो।  काफ्लेका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उज्वल सिग्देलले ६८२ मत प्राप्त गरेका थिए।

स्वतन्त्र उम्मेदवारी दिएका दानवीर थापा (सम्राट्) ले २८५ मत प्राप्त गरेका छन्।

सचिवमा समाजवादी विद्यार्थी युनियनका अर्जुन राई निर्वाचित भएका छन्। राईले ९७५ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका अर्जुन पौडेलले ८७१ मत प्राप्त गरे।

कोषाध्यक्षमा अनेरास्ववियुका आदित्य खड्काले १ हजार १२० मत प्राप्त गर्दै निर्वाचित हुँदा नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गरे। यस्तै सदस्यहरूमा सन्तोष पुरी (सुशान्त), सुगम भुजेल, एलिना चौधरी, मार्सल बस्नेत, केवल लुइँटेल, सुदीप खतिवडा, लक्ष्मण लिम्बू र मनीष चौलागाईँ निर्वाचित भएका छन्। समानुपातिकतर्फ भने नेविसंघले ८७५ मत प्राप्त गर्दा अनेरास्ववियुले ४२७ मत प्राप्त गरेको छ।

सुनसरीको सबैभन्दा बढी विद्यार्थी भएको जनता क्याम्पसको स्ववियु निर्वाचनमा कुल ५ हजार ७७८ मतदातामध्ये २ हजार ४२४ मत खसेको थियो।

यसअघि ०६२ सालमा जनता क्याम्पसमा नेविसंघका रमेश पोखरेल स्ववियु सभापति भएका थिए। त्यसपछिका दुई चुनावमा नेविसंघ पराजित हुँदै आएको थियो। इटहरी उपमहानगरपालिकाका वर्तमान मेयर हेमकर्ण पौडेलले ०५७ सालमा स्ववियु सभापति जित्दै आफ्नो राजनीतिक ‘करियर’ अगाडि बढाएका थिए।

को हुन् काफ्ले?

२०५२ मंसिर १४ गते भोजपुरको हसनपुरमा जन्मिएका काफ्ले ११ वर्षको उमेरदेखि राजनीतिमा चासो राख्थे। उनी २०६२/०६३ सालको जनआन्दोलनताकै सक्रिय रहे। कलिलो उमेरमै निबन्ध लेखन, साहित्यिक गतिविधिमा सक्रियता, वक्तृत्वकला, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि लगायतका कार्यक्रममा उनको सहभागिता हुन्थ्यो।

०६४ सालमा भोजपुरबाट सुनसरीको तत्कालीन भरौल गाविसस्थि कालाबञ्जारमा बसाइ सरेपछि उनी स्थानीय भरौल बाल सञ्जालको अध्यक्ष बने। ०६८ सालमा नेविसंघ जडेज माविका एकाइ सभापतिको कार्यभार सम्हालिसकेका काफ्ले निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय छन्।

इटहरीको जनता बहुमुखी क्याम्पसमा २०७१ सालमा भर्ना भएपछि उनमा विद्यार्थी राजनीतिको चाख बढ्दै गयो। सोहीअनुरूप ०७१ सालमा जनता बहुमुखी क्याम्पस प्रवेश गरी नेविसंघको एकाइ समिति सदस्य भई २०७३ मा एकाइ सचिव भएका उनी विद्यार्थीका हरेक समस्याको सारथि बन्दै आएका छन्।

विद्यार्थीलाई लिनका लागि बिहानको समयमा बस नपुगेका स्थानमा क्याम्पसको बस पुर्‍याउन उनको योगदान महत्त्वपूर्ण छ। बस नआएका ठाउँमा विद्यार्थीले काफ्लेलाई नै सम्झन्छन्। विद्यार्थीका समस्या आउनेबित्तिकै काफ्ले अडिग भएर उनीहरूका समस्यासँग नजिक रहेर काम गर्दै आएका छन्।

०७४ सालमा जनता बहुमुखी युवा रेडक्रस सर्कलको सभापति भएसँगै प्राथमिक उपचारको व्यवस्था गर्ने कार्यको प्रबन्ध र नेपालको सबैभन्दा ठूलो रेडक्रसमार्फत विपद् व्यवस्थापनको कार्यक्रम समेत आयोजना गरिसकेका काफ्ले अहिले नेविसंघ जनता बहुमुखी क्याम्पसको एकाइ सभापति छन्।

उनी विद्यार्थीमाझ मात्रै होइन, प्राध्यापकसँग पनि उत्तिकै परिचित र नजिक छन्। उनलाई प्राध्यापकहरूले समेत अनुशासित र कर्तव्यनिष्ट विद्यार्थीका रूपमा रुचाउँदै आएका छन्।

बिहान क्याम्पसमा अध्ययन र विद्यार्थीका समस्यासँगै काम गर्दै आएका उनी दिउँसो भने अध्यापन पेसामा सक्रिय छन्। दिनभर उनी इटहरीको एक निजी विद्यालयमा पढाउँछन्।

खासगरी क्याम्पसमा छात्राका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाएका काफ्लेको तिखो र लोभलाग्दो भाषणले विद्यार्थीहरू उनीसँग प्रभावित हुँदै आएका छन्। स्नातकोत्तर अध्ययन गरिसकेका काफ्लेले क्याम्पसमा भएका बेथितिहरूविरुद्ध विद्यार्थीमाझै रहेर नेतृत्व लिँदै आएका छन्।

व्यावहारिक र प्रयोगात्मक शिक्षाको अवलम्बन गर्न गराउन आवाज उठाइरहेका उनी स्ववियु सभापतिमा निर्वाचित भइसकेपछि आफू निरन्तर नडगमगाइकन विद्यार्थीको पक्षमा काम गर्ने बताउँछन्। ‘स्ववियु सबै विद्यार्थीको साझा थलो भएका कारण मेरो नेतृत्वले कसैलाई विभेद नगरी काम गर्नेछ,’ काफ्ले भन्छन्, ‘मैले विगतमा गरेका राम्रा कामकै कारण विद्यार्थीहरूले मलाई मत दिएर जिताउनुभएको छ, अब मेरो काँधमा विद्यार्थीका पक्षमा काम गर्ने चुनौतीसँगै जिम्मेवारी थपिएको छ।’

यसअघिको स्ववियुले विद्यार्थीको पक्षमा काम गर्न नसेक पनि आफू निरन्तर विद्यार्थीकै पक्षमा काम गर्ने उनको भनाइ छ। उनले भने, ‘हामीले कामै गर्न नसक्ने एजेन्डा बाँडेका छैनौँ, काम गर्न सक्ने र स-साना समस्या सम्बोधन हुने गरी काम गर्छौँ।’

पारिवारिक पृष्ठभूमि राजनीति

काफ्लेको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै हो। उनका जेठा दाजु रोहित काफ्ले बराहक्षेत्र नगरपालिका वडा नं ५ का वडाध्यक्ष छन्।

बराहक्षेत्र-५ स्थायी घर भएका सहदेवका दाजु रोहितले यसअघि कहिल्यै कांग्रेसले नजितेको उक्त वडामा गत स्थानीय तहको निर्वाचनमा जितेका थिए। अन्य सदस्य नेकपा एमालेले जिते पनि वडाध्यक्ष भने काफ्लेले जित्दै वडाको नेतृत्व गरेका छन्। पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै रहेका कारण काफ्लेलाई विद्यार्थी राजनीति गर्न सहज भएको बताइन्छ।

 नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई भन्छन्, ‘जिल्लाका सबै एकाइ सभापतिमध्ये सबैभन्दा बढी अनुशासित र दक्ष विद्यार्थी भएकै कारण सहदेवको यो जित भएको हो।’

*यसअघि शीर्षकमा गल्ती भएकाले सच्याइएको छ। सं.

प्रकाशित: ७ चैत २०७९ ८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =