सुधारोन्मुख अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस ६ चैत २०७९ १८:०८
6
SHARES
सुधारोन्मुख अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था गरौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था गर्न माग गरेका छन्। समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्रयाकमा लैजान सकिने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौँ वार्षिका साधारणसभाको उद्घाटन समारोहमा सोमबार उनले सुधारोन्मुख अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्था गर्न माग गरेका हुन्।

‘अहिले अर्थतन्त्रका केही सूचकांकहरू सकारात्मक देखिएका छन्,’ उनले भने, ‘विदेशी पर्यटकको संख्या बढेको छ। बैंकमा तरलता पनि बढेकाले यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने समस्याबाट पार पाउन सकिन्छ।’

छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिँदा अर्थतन्त्रमा समस्या आएको भन्दै उनले अहिलेको अवस्था व्यवसायीहरूका लागि चुनौतीपूर्ण रहेको बताए।

‘कोरोना भाइरस महामारीपछि हाम्रो आफ्नो आन्तरिक नीतिहरूका कारणहरूले वा रसिया युक्रेन युद्धको कारणले होस्, हाम्रो अर्थतन्त्र प्रवाभित हुन गएको छ। ब्याज बढायो भने तरलता समस्या समाधान हुन्छ र आयात रोक्यो भने अहिलेको संकट पार लगाउन सकिन्छ भन्ने नीतिहरूका कारण अहिलेको समस्या आएको हो,’ उनले भने, ‘ती सबै नीतिहरू निष्प्रभावी रहे। अब अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिएका छन्। यसलाई आधार मानेर नयाँ नीतिगत व्यवस्था गर्न सकियो भने अर्थतन्त्रलाई अहिलेको समस्याबाट पार लगाउन सकिन्छ । छिटोभन्दा छिटो यसलाई लयमा ल्याउन सकिन्छ।’

अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

प्रकाशित: ६ चैत २०७९ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =