पूर्वपरराष्ट्रमन्त्री कमल थापा भन्छन् : विश्‍व फेरि शीतयुद्ध उन्मुख हुँदा नेपाल अलमलमा

हिमाल प्रेस ५ चैत २०७९ २२:०२
152
SHARES
पूर्वपरराष्ट्रमन्त्री कमल थापा भन्छन् : विश्‍व फेरि शीतयुद्ध उन्मुख हुँदा नेपाल अलमलमा

काठमाडौँ– पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले विश्‍व दोस्रो शीतयुद्धकालीन अवस्था नजिक पुगेको बताएका छन्। विश्‍वको राजनीतिक सन्तुलनमा व्यापक परिवर्तन आइरहेको उनको भनाइ छ। अमेरिकाको एकछत्र वर्चस्व कायमै रहनु र चीनको विश्‍वव्यापी महत्त्वाकांक्षा अभूतपूर्व रूपमा बढ्नुले शीतयुद्ध निम्तिएको थापाले बताए।

राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापाले विश्‍व शीतयुद्ध उन्मुख हुँदा नेपाल चाहिँ अलमलमा परिरहेको बताए। राप्रपा नेपालको विदेश विभागले आइतबार राजधानीमा आयोजना गरेको ‘महाशक्ति राष्ट्रहरूबीचको भूराजनीति प्रतिस्पर्धा र कूटनीतिक सन्तुलनको दिशामा नेपालको द्विविधा, चुनौती र सम्भावनाहरू’ विषयक अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन्।

‘दक्षिणी छिमेकी भारत पनि शक्ति राष्ट्र बन्ने होडमा छ। भारत र चीनको सम्बन्ध अनि भारत अमेरिका सम्बन्ध पनि स्पष्ट छ। भारत र चीनबीच रहेको हामीकहाँ कमजोर राजनीतिक गठजोड चलिरहेको छ। यस्तो अवस्थामा परराष्ट्र नीति कार्यान्वयन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन गम्भीर चुनौती देखिएको छ,’ उनले भने,  ‘विश्‍वमा चल्ने यो द्वन्द्वबाट कसरी जोगिने भन्नेमा हामीले हेक्का राख्नुपर्छ। यसमा हामीले दक्षिणपूर्वी एसियाली मुलुक (आसियान) बाट हामीले सिक्नुपर्छ। यो क्षेत्रले पनि सिक्नुपर्छ।’

आसियान मुलुकले चीन र अमेरिका दुवैसँग सन्तुलन कायम गरेर बजार व्यवस्थापन गरिरहेझैँ नेपाल पनि त्यो नीतिमा अघि बढ्नुपर्ने थापाले बताए।  उनले भने, ‘यसका लागि सामान्य गृहकार्यले हुँदैन। सबै राजनीतिक दलको एकस्वरे नीति चाहिन्छ।’

उनले नेपाल र भारत सम्बन्ध थप अघि बढाउन दुवै मुलुकका तर्फबाट प्रबुद्ध व्यक्ति समूह गठन गरी तयार गरेको ईपीजी प्रतिवेदन बलियो भएकाले भारतले बुझ्नै नमानेको  बताए। दरिलो काम गरेकोमा प्रबुद्ध व्यक्ति समूहलाई धन्यवाद दिँदै थापाले भने, ‘यसरी नै भारतीय पक्षलाई सहमत गराएर नेपालको हितमा  विषय उठान गर्दै जानुपर्छ।’

कार्यक्रममा दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख एवम् कूटनीतिक विश्लेषक डा. निश्चलनाथ पाण्डेले नेपाल यतिबेला भारत चीन र अमेरिकाको त्रिपक्षीय दाउमा फसिसकेको बताए। उनले भने, ‘भारत र चीनसँग मात्र सम्बन्ध सन्तुलन गरे हुने नेपालले  यतिबेला भारत, चीन र अमेरिकासँग सम्बन्ध कायम गर्न आवश्यक देखिन्छ। भारत र चीन खेलिरहेको स्थानमा अमेरिका पनि थपिँदा हामी झन् जटिलतातर्फ गएका छौँ।’

मुलुक कुनै युद्धमा फसे आफ्नै सेनाले मात्र लड्नुपर्ने भएकाले  हतियार बेच्नेहरू कि युद्धअघि आउने र कि पछि आउने उनको भनाइ छ। पाण्डेले भने,  ‘युक्रेनमा हेर्नुहोस् के भइरहेको छ, रुस पराजय उन्मुख छ भने युक्रेन टिकिरहेर युद्ध जित्ने अवस्थामा छ। यहाँ कोही विदेशी गएर लडिदिएका छैनन्। युक्रेनीहरू नै मरिरहेका छन्।’

उनले नेपालले यस्ता विषयमा बेलैमा ध्यान पुर्‍याउनुपर्ने  बताए। नेपालको राहदानी उत्तर कोरियाको जस्तै रहेको टिप्पणी उनको छ।  उनले भने,  ‘युवा शक्ति विदेशमा छन्। स्वदेशमा रहेका भोकमा छन्। जसले गर्दा झैझगडा बढेको छ। भोको पेटले समृद्धि आउँदैन।’

सार्क सक्रिय नहुनुमा अध्यक्ष राष्ट्र नेपाल नै दोषी रहेको उनको भनाइ छ। ‘भारतसँग सीधा बसेर कुरा गर्न नसक्ने नेताहरू र कर्मचारी भएको मुलुकले कसरी ईपीजी रिपोर्ट बुझाउन सक्छ?,’ उनले प्रश्न गरे।

उनले शीतयुद्धकालीन समयमा विश्‍वले जसरी नेता खोजेको थियो त्यसैगरी अहिलेको अवस्थामा पनि नेपालमा नेता खोजिरहेको बताए।

नेपाल-भारत, नेपाल-चीन, नेपाल-अमेरिका मात्र होइन नेपाल र ती मुलुकबीचको सम्बन्ध कायम गर्दै राष्ट्र हितमा काम गर्ने नेता चाहिएको उनको भनाइ छ।

कार्यक्रममा पूर्वउपरथी डा. पूर्ण सिलवालले विश्‍वव्यापीकरण दक्षिणतर्फ उन्मुख हुनाले त्यसमा स्थायी शक्तिका तर्फबाट द्वन्द्व बढिरहेको बताए। उनले नेपाल कुन ध्रुवमा लाग्ने भन्ने असहज अवस्थामा परेको पनि स्पष्ट पारे। उनले पनि नेपाललाई  तीनखुट्टे नीतिमा चल्न सहज हुने बताए। ओदान जसरी सन्तुलित भएर  भारत र चीनसँगको सम्बन्ध बलियो पार्नुपर्ने सिलवालको भनाइ छ।

सिलवालले भने, ‘युद्ध त पहिले पनि हुन्थ्यो। अहिलेभन्दा असजिलो अवस्था विगतमा पनि आएको थियो तर त्यो अवस्थालाई नेपालले कसरी सम्हाल्छ त्यो महत्त्वपूर्ण हो।’ उनले नेपालले यतिबेला चीन, भारत र अमेरिकासँगको सम्बन्धलाई सन्तुलित गरेर विकास नीतिमा अघि बढ्नुपर्ने अवस्था छ।

नेपालमा सेनाको संख्या घटाउन प्रस्ताव गर्नेहरूलाई सांसद र मन्त्री घटाउन सुझाव दिए। उनले भने, ‘प्रदेश संरचनमा यतिधेरै सांसद, मन्त्री अनि राष्ट्रियसभा, उराष्ट्रपति किन आवश्यक भन्नेजस्ता विषयमा सोच्नुपर्छ।’

कार्यक्रममा पूर्वराजदूत अञ्जान शाक्यले यतिबेला नेपाल बचाउन आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘भारतलाई इस्ट इन्डिया कम्पनीले कसरी खायो त्यो हामीले भुल्न हुँदैन।’  नेपाली युवालाई विदेश मात्र पठाउने नीतिले विकास नहुने र परनिर्भरता बढ्ने उनले उल्लेख गरिन्।

पूर्वराजदूत डा. मदनकुमार भट्टराईले नेपालको विकासमा नेताहरू स्पष्ट हुन पर्ने बताए। उनले भने, ‘भारत वा चीनसँग सम्बन्ध राख्दा अर्को देशको नाम लिनु पर्दैन। नेताहरूले आफ्नो स्वार्थभन्दा मुलुकको स्वार्थ हेरेमा विकास टाढा छैन।’

कार्यक्रममा पूर्वमन्त्री एवम् पूर्वराजदूत नीलाम्बर आचार्य, प्राध्यापक लालबाबु यादव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवम् ईपीजीका सदस्य सूर्यनाथ उपाध्यायले नेपालमा भारतीय चासो बढिरहेको बताएका थिए। नेपालको कर्मचारीतन्त्र कमजोर भएर कुरा गर्न नसकेको उनीहरूको असन्तुष्टि थियो।

उपाध्यायले नेपालको प्रस्ताव भारतलाई असजिलो हुने गरेको र आफ्नो वर्चस्व कम हुने हुनाले ईपीजी प्रतिवेदन बुझ्न नमानेको बताए। उनले भने, ‘भारतले नेपाललाई हेर्ने नजर अहिले पनि १९५० अघिकै हुँदा समस्या भएको हो।’  ईपीजी प्रतिवेदनका कारण भारतसँग कुरा गर्न नेपाली अधिकारीलाई सहज भएको धारणा उनको छ।

भारतमा राजदूत भएर पनि ईपीजी प्रतिवेदन बुझाउन नसकेका आचार्यले भारतले हामीलाई हेर्ने नजर अझै परिवर्तन नगरेको बताए। उनले भने, ‘हाम्रा नेताहरूले अडान राखेमा भारतबाट हामीले धेरै कुरा लिन सक्छौँ र विकासमा भारतसँग सहकार्य गर्न सकिन्छ।’

करिअर राजदूतहरूको समूहका प्रमुख एवम् पूर्वराजदूत डा. रामभक्त पीबी ठाकुरले नेपालमा पुराना व्यवस्था सम्झनुपर्ने अवस्था आएको बताए। उनले अहिलेका नेताले मुलुकलाई बेच्न सक्ने हुनाले त्यसतर्फ नागरिक सचेत हुनुपर्नेमा  जोड दिए।

प्रकाशित: ५ चैत २०७९ २२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =