स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साह (तस्बिरहरू)

हिमाल प्रेस ५ चैत २०७९ १०:१८
10
SHARES
स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साह  (तस्बिरहरू) पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु निर्वाचन। फाइल तस्बिर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ।

देशभरिका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए।

१४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन्। बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ देखियता नियमित हुन सकेको छैन ।


काठमाडौँ उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जिनियरिङ क्याम्पस, पुल्चोक इञ्जिनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उनले जानकारी दिए। मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

यी क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।

विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ। उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ। नेपाल कमर्स क्याम्पसमा शनिबार अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो।

यस्तै सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ। यस्तै त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनअन्तर्गतको डेमो डिजिटल भोटिङ। तस्बिर: दिपेश श्रेष्ठ।
शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भएको स्ववियु निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता। तस्बिर: सुशीला रेग्मी/रासस
कपिलवस्तुको शिवराजमा रहेको समयथान बहुमुखी क्यापसमा भइरहेको स्ववियु निर्वाचन। तस्बिरः सनिउल्ला धोबी/रासस
नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा भइरहेको स्ववियु निर्वाचन। तस्बिरः रामहरि न्यौपाने/रासस
जुम्ला बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनको चहलपहल। तस्बिरः विजय रावत/रासस
प्रकाशित: ५ चैत २०७९ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =