चाइना जर्नल

चिनियाँ शैलीको आधुनिकीकरण र वैश्‍विक सभ्यताको पहल

अजय अलौकिक ४ चैत २०७९ २१:५९
94
SHARES
चिनियाँ शैलीको आधुनिकीकरण र वैश्‍विक सभ्यताको पहल

बेइजिङ– अहिले वसन्त बहारको समय छ। यो वसन्त ऋतुमा बोटबिरूवा, वनस्पतिमा पालुवा लाग्ने, रंगीचंगी फूलहरू फुल्ने र हरियाली हुने गर्दा यस मौसमले पुनःजन्म, पुनःउत्थान, कायाकल्पको अर्थ दिन्छ।

यसै वसन्त कालमा भर्खरै चीनका महत्त्वपूर्ण ‘दुई अधिवेशन’सम्पन्न भएका छन्। जहाँ चिनियाँ सरकारको गत वर्षको समीक्षा तथा यस चालु वर्षका लागि ठोस लक्ष्य र योजना सँगसँगै नयाँ सरकारसमेत गठन गरिएको छ।

यसबाहेक यी दुई अधिवेशनमा धेरैपटक ‘चिनियाँ शैलीको आधुनिकीकरण’को चर्चा भएको छ। यसै गरी, मार्च १५ मा चिनियाँ कम्युनिस्ट पार्टी र विश्‍वका राजनीतिक दलबीचको उच्चस्तरीय संवादमा पनि चीनका सर्वोच्च नेता सी चिनफिङले मानव समाजको आधुनिकीकरणलाई अघि बढाउने पक्षमा सम्बोधन गर्दै विश्‍व सभ्यता सम्बन्धमा आफ्नो नयाँ विचार प्रस्तुत गरेका छन्।

अनलाइनमार्फत् आयोजित चिनियाँ कम्युनिस्ट पार्टी र विश्‍वका राजनीतिक दलहरू बीचको उच्चस्तरीय संवादको उद्घाटन समारोहलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले ‘आधुनिकीकरणतर्फको बाटो : राजनीतिक दलहरूको जिम्मेवारी’शीर्षकमा सम्बोधन गरे।

उक्त सम्बोधनमा राष्ट्रपति सीले आधुनिकीकरणबारे चर्चा गर्दै आधुनिकीकरणको अन्तिम लक्ष्य जनताको स्वतन्त्र र सर्वांगीण विकास रहेको बताए।

राजनीतिक दलहरूलाई जनताको सुन्दर जीवन चाहनालाई लक्ष्य बनाउँदै सभ्यताको प्रगतिप्रतिको जनताको चाहनाअनुसार भौतिक समृद्धि, राजनीतिक इमानदारी, भावनात्मक समृद्धि, सामाजिक स्थायित्व र पर्यावरणीय संरक्षण हासिलका लागि प्रयास गर्न आग्रह पनि गरे।

यसरी यी लक्ष्य र कार्य पूरा गर्नसके मात्र आधुनिकीकरणबाट सबै पक्ष र बहुआयामिक आवश्यकतामा जनताका मागलाई उचित तथा राम्रो तरिकाले जवाफ दिनसकिने र मानव समाजको दिगो विकासलाई अघि बढाउनलसकिने औँल्याए।

‘आधुनिकीकरण हासिल गर्नु एउटा सपना हो, जुन चिनियाँ जनताले आधुनिक कालदेखि नै पूरा गर्न प्रयास गर्दै आएका छन्। चिनियाँ जनतालाई एकताबद्ध गर्न र राष्ट्रिय कायाकल्पमा अग्रसर गराउन पार्टीले १ सय वर्षभन्दा लामो यात्रा तय गरेको छ, त्यो पनि आधुनिकीकरणतर्फको बाटोको अन्वेषण हो। पुस्तौँपुस्ताको अथक प्रयासका कारण हामीले आधुनिकीकरणको आफ्नै बाटो भेट्टाएका छौँ,’ राष्ट्रपति सीले भने।

विगतदेखि वर्तमानसम्म र भविष्यबारे चीनको यो परिकल्पनाले चीनको अघि बढ्ने दिशा प्रदर्शन गर्नुका साथै विश्‍वसमक्ष पनि आसा जगाएको छ। चिनियाँ शैलीको आधुनिकीकरणको निर्माण प्रक्रियाबाट चीनले विश्‍व शान्ति र विकासका लागि थप स्थिरता तथा प्रेरक शक्ति पनि प्रदान गर्ने छ।

मार्च १३ मा सम्पन्न १४ औँ राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पनि चिनियाँ राष्ट्रपति सीले शक्तिशाली मुलुकको निर्माण तथा राष्ट्रको पुन:उत्थानको नयाँ यात्रामा गुणस्तरीय विकासलाई अटलताकासाथ अघि बढाउनुपर्ने, मानवजातिको साझा भाग्य समुदायको निर्माण गर्न प्रयास गर्नुपर्ने, विश्‍वका लागि उच्चस्तरीय खुलापनलाई स्थिरताकासाथ अघि बढाउनुपर्ने कुरामा जोड दिएका थिए।

साथै चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनमा गुणस्तरीय विकास भनेको समाजवादी आधुनिक मुलुकको चौतर्फी रूपमा निर्माण गर्ने प्राथमिक जिम्मेवारी रहेको औँल्याइएको छ।

सन् २०२२ को अक्टुबरमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा चिनियाँ शैलीको आधुनिकीकरणको सिद्धान्तबारे उल्लेख गरिएको छ।

समस्त जनताको साझा समृद्धि नै आधुनिकीकरणको एक अंग हो। आममानिसलाई चाहिएको शान्ति हो र शान्तिपूर्ण विकास मात्रै आधुनिकीकरण हुने मूल बाटो हो। शान्तिपूर्ण विकास वातावरण नभए सही अर्थमा आधुनिकीकरण हुन सक्दैन।

पार्टी महासचिव सी चिनफिङले केही मुलुकले युद्ध, उपनिवेशवाद, कब्जालगायतका तरिकामार्फत बनाएको आधुनिकीकरणको पुरानो बाटोमा चीन हिँड्दैन भन्ने सीपीसीको २० औँ महाधिवेशनलाई प्रतिवेदन पेस गर्दै जोड दिएका थिए।

हामीले विश्‍वको शान्ति र विकासको संरक्षण गरी आफ्नो विकास गर्छौं साथै आफ्नो विकासमार्फत विश्‍वको शान्ति र विकासको अझ राम्ररी संरक्षण गर्छौं।

यसैले वर्तमान विश्‍वमा देखिएको अस्थिरता तथा अनिश्चितता र मानवजातिका धेरै चुनौतीको सामना गर्दा चीन साझा सल्लाह, सुझाव दिन, नयाँ रचना गर्न र साझा गर्न तत्पर रहेको छ।

यस क्रममा नै चीनले वैश्‍विक विकास पहल, वैश्‍विक सुरक्षा पहल, बेल्ट एन्ड रोड पहल, मानव भाग्य समुदाय विचार आदि प्रस्तुत गरी विश्‍व शान्ति विकासको निर्माणमा निर्माणकर्ता, योगदानकर्ता तथा नेतृत्वकर्ताको जिम्मेवारी लिएको छ।

चिनियाँ शैलीको आधुनिकीकरण आफ्नै राष्ट्रिय अवस्था र अन्य देशको अनुभवमा आधारित छ। इतिहास र संस्कृतिको बिँडो थामिएको छ र आधुनिक सभ्यता मिसिएको छ। यसबाट चिनियाँ जनताको हित कल्याण हुनुका साथै विश्‍वको संयुक्त विकासलाई पनि अघि बढाउँछ।

उक्त उच्चस्तरीय संवादमा महासचिव सीले विश्‍वका लागि चिनियाँ शैलीको आधुनिकीकरणको अर्थबारे पुनःस्पष्ट पार्दै चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ उपलब्धिले विश्‍व विकासका लागि नयाँ अवसर प्रदान गर्दै आधुनिकीकरण बाटोप्रति मानवजातिको सोचाइमा नयाँ प्रेरणादायी शक्ति थपेर मानवजाति समाजको आधुनिकीकरणको सिद्धान्त तथा व्यवहारमा सिर्जना गर्नका लागि नयाँ योगदान पुर्‍याउन जोड दिएका छन्।

‘चिनियाँ शैलीको आधुनिकीकरण आफ्नै राष्ट्रिय अवस्था र अन्य देशको अनुभवमा आधारित छ। इतिहास र संस्कृतिको बिँडो थामिएको छ र आधुनिक सभ्यता मिसिएको छ। यसबाट चिनियाँ जनताको हित कल्याण हुनुका साथै विश्‍वको संयुक्त विकासलाई पनि अघि बढाउँछ,’ सीले भने।

राष्ट्रपति सी चिनफिङको मूल अवधारणा ‘जनता केन्द्रित’ हो जहाँ आधुनिक देश निर्माणको उद्देश्य जनतालाई राम्रो जीवनयापनको वातावरण दिनु हो। साथै मानवजातिको संयुक्त भाग्य समुदाय विचारको मूर्तरूप भनेको उपलब्धिहरू सबैका लागि हुनु र सबैजना लाभान्वित हुनु नै हो।

चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १४औँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) का प्रतिनिधिलाई हात हल्लाउँदै राष्ट्रपति सी जिनफिङ। तस्बिर : सिह्नवा

‘आधुनिकीकरणको लक्ष्यलाई पूरा गर्न खोजेका कुनै पनि देशले संयुक्त निर्माण तथा उपलब्धि साझा गर्ने र साझा जित भन्ने बाटो लिनुपर्छ। अग्रस्थानमा रहेका देशहरूले अरूलाई विकास गर्न साँच्चिकै सहयोग गर्नुपर्छ,’ यसबारे चर्चा गर्दै उनले भने।

यसका साथै चिनियाँ राष्ट्रपति सीले विश्‍व आधुनिकीकरणको प्रक्रियालाई अघि बढाउन तथा मानवजातिको सभ्यताको प्रगतिका लागि पहिलो पटक वैश्‍विक सभ्यता पहल प्रस्तुत गरेका छन्।

‘एउटा फूलले वसन्त बनाउँदैन, सयवटा फुलेका फूलहरूले बगैँचामा वसन्त ल्याउँछ। सबै देशहरूको भविष्य नजिकबाट जोडिएको हुँदा विभिन्न सभ्यताहरूबीच सहिष्णुता, सहअस्तित्व, आदानप्रदान र पारस्परिक सिकाइले मानवताको आधुनिकीकरण प्रक्रियालाई अगाडि बढाउन र विश्‍व सभ्यताहरूको बगैँचालाई फस्टाउन अतुलनीय भूमिका खेल्दछ। यहाँ, म वैश्‍विक सभ्यता पहल प्रस्ताव गर्न चाहन्छु,’वैश्‍विक सभ्यता प्रस्ताव प्रस्तुत गर्ने क्रममा सीले भने।

यो वैश्‍विक सभ्यता पहल के हो त? यस प्रस्तावको अर्थ के हो? चिनियाँ राष्ट्रपति सीद्वारा सो संवादको क्रममा पहिलोपटक प्रस्तुत गरिएको ‘वैश्‍विक सभ्यता पहल’ भनेको विश्‍व सभ्यताको विविधताको सम्मान गर्दै संयुक्त प्रवर्द्धन गर्ने, संयुक्त रूपमा सम्पूर्ण मानवजातिका साझा मूल्यमान्यताको प्रवर्द्धन गर्ने, सभ्यताको उत्तराधिकार र नवप्रवर्तनमा महत्त्व दिने र संयुक्त रूपमा अन्तर्राष्ट्रिय मानव आदान-प्रदान र सहयोगलाई सुदृढ पार्नेलगायत हुन्।

देशहरूले सभ्यताबीच समानता, पारस्परिक सिकाइ, संवाद र समावेशिताका सिद्धान्तहरूलाई कायम राख्न आवश्यक छ र सांस्कृतिक आदान-प्रदानलाई विभेदभन्दा माथि उठाउनुपर्छ। पारस्परिक सिकाइलाई द्वन्द्वभन्दा माथि उठाउनुपर्छ र सहअस्तित्वलाई श्रेष्ठताको भावनाभन्दा माथि उठाउनुपर्छ।

विभिन्न सभ्यताबारे चर्चा गर्दै सीले विभिन्न सभ्यताको समावेसी सहअस्तित्व र पारस्परिक आदान-प्रदानले मानव समाजको आधुनिकीकरण प्रक्रियालगायत विश्‍व सभ्यताका सयौँ बगैँचालाई समृद्ध बनाउने क्रममा अतुलनीय भूमिका खेल्ने पनि बताए।

‘आदान-प्रदानले गर्दा सभ्यताहरू समृद्ध हुन्छन् र पारस्परिक सिकाइद्वारा सभ्यताहरूमा प्रचुरता थपिन्छ। मानव सभ्यताको नयाँ स्वरूप चिनियाँ शैलीको आधुनिकीकरणले विश्‍वका अन्य सभ्यतासँग तथा एक अर्कासँग सिकेर विश्‍व सभ्यताका सयौँ बगैँचा अझ सुन्दर हुँदै जानेमा शंका छैन,’ उनले आग्रह गर्दै भने, ‘हामी सभ्यताको विविधताको सम्मानको वकालत गर्दछौँ। देशहरूले सभ्यताबीच समानता, पारस्परिक सिकाइ, संवाद र समावेशिताका सिद्धान्तहरूलाई कायम राख्न आवश्यक छ र सांस्कृतिक आदान-प्रदानलाई विभेदभन्दा माथि उठाउनुपर्छ। पारस्परिक सिकाइलाई द्वन्द्वभन्दा माथि उठाउनुपर्छ र सहअस्तित्वलाई श्रेष्ठताको भावनाभन्दा माथि उठाउनुपर्छ।’

आजको विश्‍वमा विभिन्न सभ्यताका मूल्यमान्यताहरूको कदर छैन साथै आफ्नो स्वार्थ हेरेर ठूला भनाउँदा देशहरूले आफू उपयुक्त तथा आफ्ना मूल्यमान्यता र मोडेलहरू अरूमाथि थोपर्ने जसबाट वैचारिक टकराव सिर्जना भइरहेका छन्।

यसै परिप्रेक्ष्यमा, हालका वर्षहरूमा भूराजनीतिक द्वन्द्वहरू पनि अत्याधिक बढेका छन् र राष्ट्रपति सीले भनेजस्तै ‘सभ्यताहरूको टकराव’ र ‘सभ्यताहरूको श्रेष्ठता’ का प्रसंगहरू आमजनताको मनमस्तिष्कमा फर्केका छन्।

यसरी विभिन्न सभ्यताबीचको घृणा र विचलनबाट अन्तर्राष्ट्रिय सहकार्यमा गम्भीर बाधा पुर्‍याइएको छ। यही अवस्थाको पृष्ठभूमिमा नै वैश्‍विक सभ्यता पहल खडा भएको हो।

यसैबीच, मार्च १० तारिख चीन, साउदी अरेबिया र इरानले बेइजिङमा जारी गरेको त्रिपक्षीय संयुक्त वक्तव्यले विश्‍वलाई नै तरंगित गरेको छ।

सो वक्तव्यअनुसार, साउदी अरेबिरया र इरानले सम्झौता सम्पन्न भएको घोषणा गरेका छन्। दुई पक्षबीचको कूटनीतिक सम्बन्धको पुनःस्थापना गर्ने, दुई महिनाभित्र दुई पक्षका दूताबास र प्रतिनिधि एकाइ खोल्ने, राजदूत खटाउने र द्विपक्षीय सम्बन्धलाई बढाउन छलफल गर्ने विषयहरू समावेश छन्।

साथै, तीन मुलुकले सार्थक प्रयास गरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षालाई सुदृढ गर्ने इच्छा लिएको पनि उल्लेख छ। यो अप्रत्याशित झैँ लाग्ने वार्ता चीनको अथक प्रयासमा बेइजिङमा भएको हो।

चीन सदा सर्वदा नै वार्ता मात्र सबै समस्याको समाधान भन्दै अडिग रूपमा लागिपरेको छ। शान्ति नै सही छनौट भन्ने यसबाट प्रमाणित पनि भएको छ।

तसर्थ, सम्पन्न समाजको निर्माण पूरा गरेको चीनले स्थिर रूपमा साझा समृद्धितर्फ विकास गर्दै गरेको यो चिनियाँ शैलीले  मानवजातिको आधुनिकीकरणलाई नयाँ छनोट गरेको छ।

आधुनिकीकरणतर्फ लागेको चीनले विश्‍वलाई अरू बढी मौका र अवसर प्रदान गरी मानवजातिको प्रगतिलाई थप योगदान गर्ने छ। चीनको साझा समृद्धि अनुभव नेपालसहित विश्‍वका अन्य देशहरूलाई सिक्नलायक छ।

अन्तमा, विश्‍वको संयुक्त विकास सही अर्थमा विकास हो र साझा समृद्धि नै साँच्चिकै सबैको समृद्धि हो। हामी ध्रुवीकरण खोज्ने कि साझा समृद्धि, जिरो सम गेम, एकपक्षीय हार कि वीन वीन सिच्वेशन अर्थात् साझा जित।

प्रकाशित: ४ चैत २०७९ २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =