कार्टुनिस्ट वात्स्यायनको अभिनन्दन तथा रथारोहण

विजय नेपाल ४ चैत २०७९ १५:३७
14
SHARES
कार्टुनिस्ट वात्स्यायनको अभिनन्दन तथा रथारोहण

पोखरा– कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण गरिएको छ।

उमेरले ८० वर्ष पुगेका पोखरेली कलाकार वात्स्यायनको सम्मानमा यहाँका करिब ३ दर्जन साहित्यिक तथा वांमयिक संस्थाले उनको भव्य रूपमा नागरिक अभिनन्दन तथा रथारोहण गराइएका हो।

आफ्नो पुस्ताका उत्कृष्ट कलाकार वात्स्यायन कार्टुन सिर्जनामा अग्रणी मानिन्छन्।

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक, वांमयिक संस्था गरी ३२ संघ संस्थाले कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराई अभिनन्दन गरेका छन्।

बिहान १०:३० बजेदेखि वात्स्यायन निवासबाट सुरु भएको रथ यात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्षमा पुगेको हो।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै विगतमा उनीसँगको सानिध्यता स्मरण गरे।

देशकै निधिको अभिनन्दन गर्ने अवसर पोखरेलीको लागि सुनौलो सौभाग्य भएको भन्दै उनले सहभागी सबैलाई धन्यवादसमेत व्यक्त गरे।

संस्कृतिकर्मी, कवि एवम् बरालका पुराना सहकर्मी तीर्थ श्रेष्ठले उनको जीवनी र पुरानो समयबारे आद्योपान्त सुनाए। बरालको व्यंग्यचित्रले वर्तमान साथै तत्कालीन शासकको मथिंगल हल्याइदिने गरेको श्रेष्ठले सुनाए।

वि.सं. १९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बरालले नेपाली कला क्षेत्रमा लामो समय योगदान पुर्‍याएका छन्।

दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका उनले जगदम्बा श्री, प्रवल गोरखा दक्षिणबाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्करा, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार प्राप्त गरेका छन्।

उनका ४ वटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ। २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन्।

पछिल्लो समय उनी कान्तिपुर दैनिकमा कार्टुन कोर्थे। कान्तिपुरको साप्ताहिक परिशिष्टांक ‘कोसेली’मा उनको ‘बसिबियाँलो’ नामक स्तम्भ धेरैको रोजाइमा पर्छ।

सानै उमेरमा धूलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली व्यंग्यचित्रलाई यथार्थवादी धारमा डोर्‍याउन उल्लेख्य योगदान दिएका छन्।

उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेनन्, थुप्रै अनुजलाई दीक्षितसमेत गरे।

बरालले वात्स्यायनका नाममार्फत व्यंग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रूपमा आफूलाई उभ्याएका छन्।

पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि उनैलाई जान्छ। साथै पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको योगदान छ।

                                                                                                                                                                                                                                                                                                                                          तस्बिरहरू- विजय उत्सव/हिमाल प्रेस

                                                                                                                                                                                                                                                                                                                                                                                         

प्रकाशित: ४ चैत २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =