ठूला दलबाट ‘रुष्ट’ साना दलहरू सातदलीय मोर्चाबन्दीको तयारीमा

हिमाल प्रेस ४ चैत २०७९ १५:११
30
SHARES
ठूला दलबाट ‘रुष्ट’ साना दलहरू सातदलीय मोर्चाबन्दीको तयारीमा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले साना केही दललाई साथमा लिएर नयाँ गठबन्धन बनाउने प्रयास थालेका छन्।

एकै एजेन्डा लिएर जाने उद्देश्यले यी पार्टीले सातदलीय मोर्चा बनाउने प्रयास गरेका हुन्। यसका लागि दलहरूले औपचारिक संवाद गरिरहेको पार्टी नेताहरूले बताएका छन्।

दलका नेताहरूबीच काठमाडौँमा शुक्रबार अनौपचारिक छलफलसमेत भएको थियो।

यो मोर्चामा रवि लामिछाने नेतृत्वको रास्वपा, डा. सीके राउत नेतृत्वको जनमत, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र सुमन सायमीलगायतले अभियानका रूपमा चलाइरहेको हाम्रो नेपाली पार्टी सहभागी हुने तयारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

आम निर्वाचनपछि मन्त्रालय विस्तारमा गरिएको भागबण्डा, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायत पछिल्ला दिनमा ठूला दलले गरेको व्यवहारका कारण साना दल रुष्ट भएपछि आफूहरू नयाँ गठबन्धनको तयारीमा लागेको उनले बताए।

‘नयाँ गठबन्धन बनाएर विषयमा नेताहरू परामर्शमा हुनुहुन्छ,’नेता साहले भने।

पछिल्लो समय रास्वपा र जनमतसँग नजिकिएको देखिन्छ। उपराष्ट्रपतिको निर्वाचनमा रास्वपाले जनमतकी ममता झालाई मत दिएबाट पनि यी दलको निकटता देखिएको छ।

देशको राजनीतिक अवस्थालाई बदल्न सात दल थप छलफल र परामर्शमा बसी समस्याको निकासका लागि वृहत छलफल गरिने उनले जानकारी दिए।

यसका लागि सातदलीय मोर्चाले शनिबार (आज) बैठक डाकेको बताइएको छ।

प्रकाशित: ४ चैत २०७९ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =