महानगरले दरबार मार्गमा पार्किङको विकल्प नदिएको व्यापारीहरूको दाबी

हिमाल प्रेस ३ चैत २०७९ १५:४१
8
SHARES
महानगरले दरबार मार्गमा पार्किङको विकल्प नदिएको व्यापारीहरूको दाबी

काठमाडौँ– दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले काठमाडौँ महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रूपमा दिएर नहुने बताएका छन्।

पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विस्व ज्योति हल,अन्नपूर्ण होटल र दरबार मलको अन्डर ग्राउन्ड हो भनेर पत्राचार गर्नुपर्ने बताए

बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने बताउँदै उनले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरूले विकल्प नदेखेको दाबी गरे। दरबारमार्गको पार्किङको विकल्प निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने उनको भनाइ छ।

दरबारमार्ग सुनसान

संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ। दरबार मार्ग सुनसान हुनु विगत लामो समय अघिदेखि सडकको एक लेनमा सवारी पार्किङ हटाउनु प्रमुख कारण देखिएको व्यापारीहरू बताउँछन्।

भीभीआइपी, भीआइपीदेखि सर्वसाधारणको केन्द्र भए पनि दरबारमार्गको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राम्रोसँग नबुझेको उनले बताए।

‘जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझााएको निस्कर्ष हाम्रो हो। दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था गरेको छ भनेरमात्र पर्याप्त हुँदैन। दरबामार्गको व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन। अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो। यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्छ,’ उनले भने, ‘अन्नपूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन। यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन। अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकरात्मक भइसकेको छ।’

दरबार मार्गमै पार्किङ हुनुपर्ने अडान

महानगरले पार्किङ हटाएदेखि अहिलेसम्म कुनै पनि विकल्प नदिएको व्यापारीहरूको गुनासो छ। बोर्डले महानगरपालिकालाई बारम्बार पत्राचार गरे पनि महानगरले यसबारे केही ध्यान नदिएको व्यापारीहरू बताउँछन्।

‘मेयरसँग भेट गरेर छलफल गर्नसमेत समय दिनुभएको छैन। भेट नदिए पनि पत्राचार गरेर दरबारमार्गको पार्किङको लागि विकल्प यो छ भनेर भन्नुपर्छ। अथवा दरबारमार्ग विकास बोर्डलाई बोलाएर तपाईहरूको मागलाई यसरी समाधान गर्छौं भनिएको भए समस्या समाधान हुने थियो। सञ्चारमाध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरूले विकल्प देखेका छैनौं,’ उनले भने, ‘दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योति हल,अन्नपूर्ण होटल र दरबार मलको अन्डर ग्राउन्ड होइन। त्यो दीर्घकालीन विकल्प पनि होइन। काठमाडौँमा मेयरलाई विस्व ज्योति हल,अन्नपूर्ण होटल र दरबार मलको अन्डरग्राउन्ड पार्किङ गर भन्ने अधिकार छैन। मेयरको अधिकार प्रयोग गरेर विश्व ज्योति हल,अन्नपूर्ण होटल र दरबार मलको अन्डरग्राउन्डमा दरबारमार्गमा जाने मानिसहरूले सार्वजनिक रूपमा पार्किङ गर्न पाउँछ भनेर पत्राचार गरेको भए व्यवसायी ढुक्क हुने थियौं। मौखिकको भरमा विकल्प दिएर हुँदैन।’

मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो नभएको कक्षपतीले बताए। दरबारमार्गको सडकमा ५ वटा लेन रहेको र एकातिरबाट आउने २ र अर्कोतर्फ ३ लेनको सडक रहेको छ।

३ लेन भएको ठाउँमा २ लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको उनले जिकिर गरे।

‘पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन। तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरूले बुझ्न सकेका छैनौं। महानगरको निर्णय प्रविधिक रूपमा पनि राम्रो हो जस्तो लाग्दैन,’ उनले भने।

‘६० प्रतिशत व्यापार घट्यो’

‘महानगरले पार्किङ नहटाउँदा पनि दरबार मार्गमा सवारी, मानिसहरूको जमघट भइरहेकै थियो। व्यवसाय पनि राम्रोसँग चलिरहेको थियो,’ उनले भने।

महानगर पालिकाका मेयरले शान्त भएको तालमा ढुंगाले हान्ने काम गरेको उनले बताए। महानगरले दरबार मार्ग विकास बोर्डसँग समन्वय गरेर दरबार मार्गलाई कसरी राम्रो बनाउने भनेर समन्वय गरेको भए सुनमा सुगन्ध हुने उनको भनाइ छ। महानगरले उल्टो काम गरेको पनि उनले आरोप लगाए।

‘पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको छ। दरबार मार्गका व्यवसायीहरूले अब २ पटक सोच्न बाध्य भएका छन्,’ उनले भने।

व्यवसायीहरूले घरभाडा, कर्मचारीलाई तलब दिनसमेत समस्या आएको जनाउँदै उनले यसले व्यवसायीलाई मार पार्ने मात्रै नभएर सरकारलाईसमेत प्रभाव परेको छ।

दरबार मार्गको पार्किङ हटाउँदा कति प्रभाव परेको छ भन्ने कुरा मेयरले थाहा नपाउनु दुःखको कुरा भएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =