भद्रकाली होमस्टेमा प्रकृतिको स्पर्श

हिमाल प्रेस ३ चैत २०७९ १३:१७
22
SHARES
भद्रकाली होमस्टेमा प्रकृतिको स्पर्श

सिन्धुली– पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने। पश्चिममा मन थिचेर राख्ने घनाजंगल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने। उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्त्व बोकेको भद्रकाली मन्दिर। यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ। मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन्। जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्गानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ।

२०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड–१९ को त्रासका कारण दुई वर्ष थलियो। अहिले पुनः पुरानै लयमा फर्किँदैछ। होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन्। एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले बताए।

जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो। तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो। ‘होमस्टेमा आउने पर्यटक स्थानीय अर्गानिक परिकार खान रुचाउँछन्। लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ,’ अध्यक्ष थापामगरले भने, ‘एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ।’

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ। होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन्। जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ। टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन्।

पर्यटक होमस्टेमै आएर बस्छन्। एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ। पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेष गरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ। होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन। स्थानीयलाई रोजगारी पनि दिएको छ।

स्थानीय उत्तमकुमारी आलेमगर अरू व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन्। होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन्।

ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ। ३० वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन। ‘राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए। लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए। गृहस्थी महिला घर धानेर बसे,’ उनले भनिन्।

राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर–घरमा पानी, बत्तीको सुविधा थपियो। ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो। आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन्। तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो। यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत संघसंस्थाको साथ र सहयोग रहेको उनको भनाइ छ।

चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो। तर अहिले उनीमा धेरै परिर्वतन आएको छ। तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ।

घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ। ६ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइहेकी छन्। ‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन। स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्,’ उनले भनिन्।

होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन्। स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभर फैलिएको छ।

होमस्टे महासंघ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन्। एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन्। देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनको भनाइ छ।

बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन्। यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्यांक छ। –राधिका बुढाथोकी/रासस

प्रकाशित: ३ चैत २०७९ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =