रिपोर्ताज

पीडितलाई दोषी देख्‍ने समाज

संगीता श्रेष्ठ २ चैत २०७९ १४:४७
172
SHARES
पीडितलाई दोषी देख्‍ने समाज

सामाजिक सञ्जालमा व्यक्त भद्दा, अपमानजनक र महिलाद्वेषी प्रतिक्रियाहरूले नेपाली समाजको कमजोर चेतनास्तर मात्रै स्पष्ट हुँदैन, महिलाप्रति पुरुषको दृष्टिकोण कति त्रुटिपूर्ण र खेदजनक छ, त्यसको जनाउ पनि दिन्छ।

‘समाज, सत्ता, संसद् र न्यायपालिकामा पुरुषको वर्चस्व छ। त्यसैले सबै कानुन र तिनको व्याख्या पुरुषका पक्षमा हुने गरी गरिएका छन्। जहाँ पुरुषका लागि चोर बाटोबाट निस्किन हजारौँ ढोका छन्। तर महिलाका लागि कानुनी चक्रव्यूहबाट निक्लिनु असम्भव छ। यसो हुँदा पीडितले आफूलाई नै दोषी ठान्छ। सम्मानपूर्ण जीवन बाँच्नबाट वञ्चित हुन्छ।’

यी वाक्य भारतीय लेखक अरविन्द जैनले आफ्नो किताब ‘औरत होने की सजा’ मा लेखेका छन्। जैनको यही भनाइ पुष्टि हुने गरी हाम्रो न्यायपालिकाबाट हालै दुइवटा फैसला भएका छन्। एक चलचित्रको तथाकथित ‘हिरो’ अर्थात् अभिनेता पल शाह र अर्को तथाकथित ‘गहना’ अर्थात् क्रिकेटर सन्दीप लामिछानेबारेको फैसला।

सुटिङका क्रममा पटकपटक करणी गरेको भनी नाबालिगले पल शाहविरुद्ध २०७८ फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। नाबलिगले त्यही प्रकृतिको घटना भएको भन्दै नवलपरासी पूर्वमा पनि उजुरी हालेकी थिइन्। उजुरीपछि केही दिन फरार अभिनेता पल शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरे। त्यसको एक वर्षपछि उनी ‘निर्दोष’ साबित भएर रिहा भएका छन्।

अर्कोतिर क्रिकेटर सन्दीप लामिछानेले यौन दुर्व्यवहार गरेको भन्दै एक किशोरीले गत भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा नेपालबाहिर रहेका सन्दीपलाई असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। यसो हुँदा क्यानले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गर्‍यो। कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठायो।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन गएका सन्दीप पुस २९ मा धरौटीमा रिहा भए। उच्च अदालतले उनलाई विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गर्‍यो। सर्वोच्च अदालतले त झन् एक कदम अघि बढ्दै सन्दीपलाई विदेश जान पाउने आदेश दियो।

यी दुई आदेशपछि पीडितको मनोविज्ञान कस्तो रह्यो भनेर न त न्यायालयले सोच्यो, न समाजले। यौन उत्पीडनको आरोप लागेका यी दुई यसै थुनामुक्त भएका होइनन्। दुवै पीडक ‘शक्तिशाली’ र चर्चित भएका कारण समाज अनि न्यायालयले पीडितको पक्षमा झन् बढी पैरवी गर्नुपर्थ्यो। तर अवस्था ठीक उल्टो भयो।

लेखक जैनले भनेझैँ यी दुवैलाई थुनाबाट बाहिर निकाल्न ‘पुरुषसत्तात्मक समाजका ठेकेदार’ले अनेक जुक्ति लगाए। थुप्रै तिकडम गरे। पीडितलाई प्रभावित पार्न अनेक खेल खेलिए। पल शाहविरुद्ध उजुरी दिने नाबालिगले त अदालतलमा बयान नै फेरिन्।

अनेक तिकडमपछि बाहिर निस्किएका दुई पीडकले खुला हावामा सास फेरिरहेका छन्। तर त्यही खुला हावामा पीडित किशोरीहरू निसासिरहेका छन्। उनीहरू निसासिनुको कारण अरू होइन यही समाज हो। पुरुषसत्ता हाबी भएको समाजले अझै पनि पुरुषलाई गलत ठान्न सकिरहेको छैन।

पीडितलाई सान्त्वना र साथ दिनुपर्ने समाजले उल्टै ‘मन मिले चमत्कार, नमिले बलात्कार’, ‘मन मिले वी टू, नमिले मी टू’ जस्तो गैरजिम्मेवार, हलुका र सस्ता टिप्पणी गर्‍यो। सामाजिक सञ्जालमा व्यक्त भद्दा, अपमानजनक र महिलाद्वेषी प्रतिक्रियाले नेपाली समाजको चेतनास्तरको तह मात्रै बताउँदैन, महिलाप्रति पुरुषको आधारभूत दृष्टिकोण कति त्रुटिपूर्ण र खेदजनक छ भन्ने जनाउ पनि दिन्छ।

यी दुई घटनाले भारतीय अभिनेता सुशान्त सिंहको मृत्यु प्रकरणबारे अभिनेत्री स्वरा भास्करले दिएको एउटा अभिव्यक्तिलाई सम्झाउँछन्।

सन् २०२० जुन १४ मा सुशान्त मुम्बई, बान्द्रास्थित आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। मुम्बई पुलिस, सेन्ट्रल ब्युरो अफ इन्भेस्टगेसन (सीबीआई)को अनुसन्धानले सुशान्त बाइपोलर डिसअर्डरको सिकार भएको र त्यसकै कारण आत्महत्या गरेको निष्कर्ष निकालेको थियो। परिवार र प्रशंसकले उनले आत्महत्या गर्नै नसक्ने बरु उनको हत्या भएको भन्दै जिद्दी गरे। हत्याको मुख्य आरोपित सुशान्तकी गर्लफ्रेन्ड रिया चक्रवर्तीलाई मानियो।

सुशान्त गहिरो अवसादबाट गुज्रिरहेको कुरा समाजले स्विकार्न नसकेकोमा स्वरा भास्करले गम्भीर आपत्ति जनाएकी थिइन्। स्वराको जस्तो आवाज उठाउन सक्ने हिम्मत हाम्रो समाजले महिलालाई अझै दिएको छैन। भारतीय सञ्चारमाध्यमसँग उनले भनेकी थिइन्, ‘सिनेमाको पर्दामा हिरो देखिने मान्छे वास्तविक जीवनमा पनि हिरो नै हुन्छ भन्ने छैन।’

स्वराले भनेजस्तै फिल्मको पर्दामा महिलाको मद्दत गर्ने, सम्मान गर्ने, हिंसा नगर्ने, भलाद्‌मी, अनुशासित हिरो वास्तविक जीवनमा पनि त्यस्तो हुँदैन भन्ने पुष्टि शाहकै घटनाले देखायो।

उनी पीडक भएको धेरैले पत्याउन सकेनन्। बरु उल्टै उनलाई नाबालिगले आरोप लगाएर फसाउन खोजेको भन्दै पीडितकै खेदो खनियो। पुरुषमात्र नभई महिलासमेत पल शाहको समर्थनमा उत्रिए। उनले गल्ती गर्नै नसक्ने किसिमका अभिव्यक्ति सामाजिक सञ्जालतिर छरपस्ट भए।

ठ्याक्कै यही देखियो सन्दीपको घटनामा पनि। ‘अनुशासित खेलाडीबाट गल्ती हुनै सक्दैन’ भनेर गल्तीको पगरी पीडितलाई गुथाइयो। पल जेलबाट छुट्दा उनले ‘संसारै जितेसरी’ स्वागतमा भीड उर्लियो। फूलको बर्सात भयो। रातो अबिर दलियो। मान्छे नै छोपिने गरी माला लगाइयो। भव्य स्वागत गरियो।

अनेक तिकडमपछि बाहिर निस्किएका दुई पीडकले खुला हावामा सास फेरिरहेका छन्। तर त्यही खुला हावामा पीडित किशोरीहरू निसासिरहेका छन्। उनीहरू निसासिनुको कारण अरू होइन यही समाज हो। पुरुषसत्ता हाबी भएको समाजले अझै पनि पुरुषलाई गलत ठान्न सकिरहेको छैन।

विमानस्थलमा भीड धेरै भएपछि शाहलाई प्रहरीले अर्कै बाटो बाहिर निकाल्नुपर्‍यो। त्यति मात्रै होइन जेलपछि उनी रुकुममा आयोजित महोत्सवमा पहिलोपटक सहभागी भए। जहाँ उनको स्वागतका लागि सयौँ दर्शक सहभागीमात्रै भएनन् उनको सम्मानका लागि काठमाडौँदेखि रुकुमसम्म हेलिकप्टर चार्टर गरेर पुर्‍याइयो। सन्दीप थुनामुक्त हुँदा पनि त्यसै गरी स्वागत गरियो। त्यहाँ पनि अबिर, माला छुटेन।

यौन हिंसाको आरोपमा थुनिएकाहरूको सानदार स्वागत देखेर केही मुखर महिला तथा पुरुषले आफूलाई मालाप्रति वितृष्णा नै भएको विचार सामाजिक सञ्जालमा पोखे।

‘भ्रष्टाचारीको गलामा माला, बलात्कारीको गलामा माला, भो बहिनी मलाई अब तिहारमा कहिले माला नलगाइदिनू’ सञ्चारकर्मी जनक कार्कीले फेसबुकमा स्ट्याटस लेखे। धेरैले उनको स्ट्याटस सेयर पनि गरे।

लेखक अमृता लम्सालले ट्विट गरिन्, ‘सेलिब्रिटीहरू जे गरे पनि अदालतले जिताउँछ भन्नेमा ढुक्क छन्, सेलिब्रिटीसँग पैसा छ, अदालत छ अनि ढोंगी समाज छ। न्याय पाउने भनेको खरायोको सिङ खोजेजस्तै हो।’

महिला र पुरुषको रूपमा हेर्ने गलत भाष्य

दुवै घटनामा समाजले पीडितलाई उस्तै खालको प्रश्न तेर्स्यायो। जस्तो– तिमीले कति पैसा माग्यौ? कुनचाहिँ ‘गतिली’ केटी केटासँग होटलको कोठासम्म पुग्छे? किन गयौ केटासँग घुम्न? यी र यस्ता प्रश्नको सामना पीडितले पटकपटक गर्नुपर्‍यो।

पल शाहबाट पीडित किशोरीले पनि यही नियति भोग्नुपर्‍यो। उजुरी गरेदेखि नै ‘भिक्टिम ब्लेमिङ’को सिकार हुँदै आएकी उनको पीडा पीडक ‘निर्दोष’ साबित भएपछि झनै बढ्यो। उनीविरुद्ध सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिए। सामाजिक सञ्जालमा सेलिब्रिटीले ‘न्याय पाएको’ भनेर धेरैले खुसी व्यक्त गरिरहँदा पीडित अन्यायमा परेको कसैले देखेनन्।

डा. जानुका खतिवडा भन्छिन्, ‘यसो हुनुको कारण घटनामा सधैँ महिलालाई नै ‘सफ्ट टार्गेट’ ठान्नु हो। पुरुषसत्ताको वर्चस्व रहेको देश, समाज र मिडियाका लागि महिला सफ्ट टार्गेट हुन्। त्यही ठाउँमा पुरुष भइदिएको भए उतिसारो ‘भिक्टिम ब्लेमिङ’ को सिकार हुन्थेन होला जति महिला हुन्छन्।’

घटनामा महिला र पुरुष भनेर होइन पीडक र पीडितका रूपमा हेर्नुपर्ने हाडानाता करणीमा पीएचडी गरेकी डा. खतिवडाको भनाइ छ। ‘गलतलाई गलत र सहीलाई सही भन्नुपर्‍यो,’ उनले भनिन्, ‘तर हाम्रो समाज पुरुषतिर बढी ढल्किएको छ। पुरुष गलत हुँदा पनि महिलालाई नै दोषी मानिन्छ।’

‘सेलिब्रिटी हिरो, अनुशासित खेलाडीबाट गल्ती हुन सक्दैन’ लगायतजस्ता सोचबाट नेपाली समाज मुक्त हुनुपर्ने खतिवडा बताउँछिन्। ‘भिक्टिम ब्लेमिङको मारमा पुरुषभन्दा महिला बढी पर्ने गर्छन्,’ उनले भनिन्, ‘पुरुषमाथि विश्वास देखाउने, महिलामाथि अविश्वास गर्ने परिपाटीले नै कुनै सेलिब्रिटीले गल्ती गर्न सक्दैन भन्ने किसिमका भाष्य खडा भएका हुन्। त्यसबाट हामी अब मुक्त हुनुपर्छ।’

प्रकाशित: २ चैत २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =