संरक्षण संघर्ष

१२ वर्षदेखि मलाहा बिरालो पछ्याइरहेकी रमा

केशव राना क्षेत्री १ चैत २०७९ ९:३०
1.6k
SHARES
१२ वर्षदेखि मलाहा बिरालो पछ्याइरहेकी रमा

बाल्यकालमा बुनेको सपनालाई पछ्याउन नपाएको थकथकीले धेरैलाई सताउँछ। ‘सपना थियो एउटा, काम गर्नुपरेको छ अर्को’ भन्दै चुकचुकाउने थुप्रै भेटिन्छन्। यस्तै असन्तुष्टि थियो, चितवनकी रमा मिश्रलाई पनि। शिक्षक बन्ने सपना थियो उनको। सानोमा ‘कलेजमा पढाउने मान्छे नै सबैभन्दा ठूलो मान्छे हो’ भन्ने सुनेकी थिइन्। आमाका ती भनाइलाई ‘गुरुमन्त्र’ मानेर उनले प्राध्यापक बन्ने लक्ष्य लिइन्।

‘आमालाई लेक्चरर बन्न के गर्नुपर्छ? भनेर सोधेकी थिएँ,’ उनले विगत सम्झिइन्, ‘‘डिग्री पढ्नुपर्छ’ आमाले भन्नुभएको थियो।’ आठ वर्षीया रमालाई ‘डिग्री’ भनेको के हो थाहा थिएन। तैपनि उद्देश्य लिइन्– ‘डिग्री पढ्छु, मास्टर बन्छु।’

एसएलसीपछि विज्ञान संकाय पढिन्। बायोलोजी (जीवविज्ञान) मा स्नातक र जुओलोजी (प्राणीशास्त्र) मा स्नातकोत्तर गरिन्। यसबीच उनी पढाउनतिर पनि लागिन्। अभिभावकले नमस्कार गर्दा उनलाई गर्व महसुस हुन्थ्यो रे! ‘एउटा विद्यालयमा उत्कृष्ट शिक्षकको अवार्डसमेत पाएँ,’ उनले सुनाइन्, ‘त्यसपछि क्याम्पस पढाउने हुटहुटी जाग्यो।’ पढाउने लक्ष्य पकड्न पाएकोमा खुसी पनि थिइन्।

त्यही बेला एक अभिमुखीकरण कार्यक्रममा सहभागी हुने मौका मिल्यो। कार्यक्रम उनको सपना ‘यू टर्न’ गर्ने माध्यम बन्यो। ‘अभिमुखीकरणमा सहभागी हुँदा आफूले केही सिकेको रहेनछ भन्ने लाग्यो,’ रमाले भनिन्, ‘क्याम्पस पढाउन त धेरै कुरा जान्नुपर्ने रहेछ भन्ने बुझेपछि जुओलोजी-इकोलोजीमा मास्टर्स गरेँ। अनि पीएचडी पनि गर्नुपर्छ भन्ने लाग्यो।’

बिरालो पछ्याउँदा

रमा स्नातकोत्तर दोस्रो वर्ष पढ्दै गर्दा अस्ट्रेलियाको एक विश्वविद्यालयले स्नातक अध्ययनरत विद्यार्थीलाई चितवन ल्याएको थियो। त्यसमा ६ नेपाली विद्यार्थी सहभागी थिए। तीमध्ये एक थिइन्, रमा।  ‘त्यहाँ सहभागी भएर साना स्तनधारी, साना बिराला, चरा, कीराहरूमा कसरी अनुसन्धान गर्न सकिन्छ भनेर विधि र प्रविधिबारे प्रयोगात्मक रूपमा जान्ने मौका पाएँ,’ उनले भनिन्, ‘शिक्षणमा रमाइरहेको थिएँ। त्यतिखेर मसँग रमाउने अर्को पाटो पनि रहेछ भन्ने लाग्यो।’

उनको ध्यान साना बिरालामा गयो। सन् २०१२ मा मलाहा बिरालो (फिसिङ क्याट)मा मास्टर्सको थेसिस लेखिन्। त्यतिबेला राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहामा एउटा परियोजना रहेछ मलाहा बिरालोको।

‘मलाहा बिरालोबारे थेसिस गर्ने नेपालमै पहिलो विद्यार्थी हुँ म,’ उनले भनिन्। चितवनका केही सिमसार क्षेत्र छानेर क्यामरा ट्रयापिङमार्फत तथ्यांक संकलन गरिन्। आफ्नो शोधलाई उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुत गरिसकेकी छन्।

चिनाउनै गाह्रो

‘साना बिरालामा पनि थेसिस गर्न सकिन्छ है’ भन्ने सन्देश दिन सफल भए पनि थेसिस सुरु गर्दाताका रमालाई कम्ती गाह्रो भएन। ‘फिसिङ क्याट भन्दा माछा हो कि बिरालो? भनेर धेरैलाई अन्योल हुन्थ्यो,’ उनले भनिन्, ‘धेरैलाई मलाहा बिरालो भनेकै थाहा रहेनछ।’

सर्वेक्षणका लागि प्रश्नावली तयार पारेकी थिइन्। सर्वसाधारणमा त्यसले काम गरेन। त्यसपछि सर्वेक्षण खुम्च्याइन्। चितवन निकुञ्जमा १० वर्ष काम गरेका र पाँच वर्ष जंगलभित्र काम गरेका ‘गाइड’को सहयोग लिइन्। उनले भनिन्, ‘अनुसन्धान गरेरमात्रै नहुने रहेछ, यसबारे मान्छेले पनि थाहा पाउनुपर्छ। मलाहा बिरालो र त्यसको संरक्षण मान्छेसँग जोड्नुपर्छ भन्ने लाग्यो।’

रमा अहिले मलाहा बिरालोमै पीएचडी गर्दैछिन्। तराईमा मलाहा बिरालो प्रोजेक्टमा काम पनि थालेकी छन्।

के हो मलाहा बिरालो?

‘मलाहा’ भनेको समुदाय हो। सो समुदायका पुरुष खोला, नदीमा माछा मार्छन्। श्रीमान्‌ले मारेका माछा श्रीमतीले बजारमा बेचेर घरखर्च चलाउँछन्। ‘मलाहा जाति माछा मार्न सिपालु हुन्छन्,’ रमाले भनिन्, ‘उनीहरू साना र गर्भिणी माछा मार्दैनन्। उनीहरूकै नामबाट मलाहा बिरालो नाम दिइएको हो भन्ने बुझाइ छ।’

कतिपयले ‘पानी बिरालो’ पनि भन्ने गर्छन्। तर रमालाई मलाहा बिरालो भन्न उपयुक्त लाग्छ। ‘मलाहाहरू पौडीबाज हुन्छन्, त्यही विशेषता यो बिरालोमा पनि हुन्छ,’ उनले भनिन्, ‘माछा मारेर खान्छ भन्ने मात्रै होइन, यसले सर्प, चरा, भ्यागुतो, जलचरा पानीमुनि गएर सिकार गर्छ।’

छैन अध्ययन

मलाहा बिरालोमा राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट अध्ययन भएको छैन। ‘बाघ मर्‍यो भने समाचारको विषय बन्छ तर मलाहा बिरालो मर्दा कसैलाई वास्ता हुँदैन,’ उनले भनिन्। त्यसैले नेपालमा मलाहा बिरालो कति छन् भन्ने तथ्यांक कसैसँग नभएको उनको भनाइ छ।

उनकै सक्रियतामा सन् २०१२ मा क्यामरा ट्रयापिङ गरेर अध्ययन गर्दा चितवनमा २५ वटा र सन् २०१७ मा कोशीटप्पुमा २० वटा मलाहा बिरालो भेटिएका थिए। ‘हामीले हेरेको संरक्षित क्षेत्रमा मात्रै हो, बाहिर त हेरेकै छैनौँ,’ उनले सुनाइन्, ‘संकटमा छन् भन्ने मात्रै थाहा छ।’ पर्याप्त अध्ययन नहुँदा संरक्षण योजना बनाउन गाह्रो पर्छ। अहिलेसम्मको अध्ययनले यस बिरालोका लागि पाँच प्रतिशतभन्दा कम जमिनमात्रै उपयुक्त देखिएको छ।

मान्छे मुख्य शत्रु

मलाहा बिरालोको सबैभन्दा ठूलो शत्रु मान्छेलाई मान्छिन्, रमा। ‘मानवीय अतिक्रमणकै कारण संकटमा छन्,’ उनले भनिन्। कतिपय ठाउँमा यसलाई मार्न मोटरसाइकलको ब्रेकको तार र पासो प्रयोग गर्ने गरेको उनी बताउँछिन्।

खेतीयोग्य जमिन र सिमसार मासेर कृत्रिम ताल बनाइएका कारण मलाहा बिरालो समस्यामा छन्। ‘माछा पोखरी संरक्षणका लागि कुकुरहरू पाल्ने र त्यसले मलाहा बिरालो मार्ने गरेको पनि पाइएको छ,’ उनले भनिन्।

संरक्षित क्षेत्रबाहिर अर्थात् ६५ प्रतिशत मलाहा बिरालोको वासस्थान मानव चहलपहल हुने ठाउँमा रहेको अनुमान गरिन्छ। यसलाई जोगाउन सबैभन्दा पहिले मानिसको सोच बदल्नुपर्ने रमा बताउँछिन्। ‘यो बिरालो लुक्न सहज हुने ठाउँमा बढी पाइएको छ,’ उनले भनिन्, ‘विशेषगरी पटेर, नरकट, काँसलगायतका झाडीमा लुक्ने गरेको पाइन्छ। पर्याप्त मात्रामा लुक्ने ठाउँ भएको खण्डमा माछापोखरी आसपास भेटिएको छ। नजिकका उखुघारीमा पनि देखिएका छन्।’

उनीहरूले आफू बाँच्न अनेक उपाय लगाइरहेको रमाको भनाइ छ। ‘धान, गहुँ, मकै, उखुबारीलाई उनीहरूले आफ्नो वासस्थानका रूपमा प्रयोग गरिरहेका छन्,’ उनले भनिन्, ‘मानिसको चहलपहल हुने ठाउँ उनीहरूको स्थायी वासस्थान हुँदै होइन।’

किन र कसरी जोगाउने?

विश्वमा ४० प्रजातिका बिरालो पाइन्छन्। नेपालमा भने १३ प्रजातिका बिरालो पाइने अध्येताहरू बताउँछन्। मलाहा बिरालोमात्रै सिमसार र पानी वरिपरि पाइन्छ। ‘यसले सिमसार र कृषि क्षेत्रका शत्रु जीव नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ,’ रमाले भनिन्, ‘मुसाले धान खाएर नोक्सान गर्छ। बिरालोले त्यसलाई पनि नियन्त्रण गर्छ। मलाहा बिरालो भएन भने सिमसारको सन्तुलन बिग्रिन्छ।’

मलाहा बिरालो जोगाउन यसको वासस्थान सुधार गर्ने, सिमसार र घाँसे मैदानको व्यवस्थापनमा ध्यान दिनुपर्छ। यसले मान्छेलाई हानि होइन, फाइदामात्रै गर्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ भन्ने लाग्छ रमालाई।

‘बिरालो संरक्षण किन गर्ने?’ कतिले रमालाई प्रश्न गर्छन्। ‘पूरै पर्यावरणका लागि,’ उनी भन्छिन्, ‘मानिसले स्वस्थ वातावरणमा बाँच्न यसलाई बचाउनैपर्छ।’ राज्यले पनि यसको संरक्षणमा लागेकाहरूलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछिन्।

मलाहा बिरालोको संरक्षणका लागि ‘फिसिङ क्याट फेब्रुअरी’ मनाउने गरिएको उनको भनाइ छ।  मलाहा बिरालो पछ्याउँदै रमा पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्म पुगेकी छन्। कतै विस्तृत रूपमा काम गर्न पाइन् भने कतै कम।

‘एउटा मान्छे सबै ठाउँमा पुग्न सम्भव हुँदैन भनेर विद्यार्थी, स्थानीयलाई विभिन्न तालिम दिने गरेका छौँ,’ उनले भनिन्, ‘विशेष गरी तराईका जिल्लामा स्वयंसेवक खटाउने गरिएको छ।’

अब मलाहा बिरालोसँगै अन्य ९ प्रजातिका साना बिरालोमा काम गर्ने उनको इच्छा छ। अहिलेसम्म मलाहा बिरालो समुद्री सतहबाट ३०० मिटरसम्म पाइएको रेकर्ड छ। तर श्रीलंकामा भने १६०० मिटरसम्म भेटिएको रमाले बताइन्। उनले भनिन्, ‘मलाहा बिरालो नेपाल, भारत, पाकिस्तानलगायत आठ देशमा पाइन्छ। कति देशमा लोप भइसकेको छ। कतिमा पत्ता नलाग्दै लोप भए होलान्।’

संरक्षणमा नारी

केही वर्षअघिसम्म संरक्षण क्षेत्रमा महिलाको संख्या निकै कम थियो। यही कुरा मनन गर्दै रमाले ‘तराई फिसिङ क्याट प्रोजेक्ट’मा धेरैभन्दा धेरै महिलालाई जोडेकी छन्। ‘कम्तीमा ५० प्रतिशतजति महिला हुनुपर्छ भन्ने थियो,’ उनले सुनाइन्, ‘तर ७० प्रतिशतले आवेदन दिए।’

पछिल्लो समय महिलालाई सर्वसाधारणले हेर्ने नजर पनि बदलिएको लाग्छ उनलाई। हात्तीसम्बन्धी पहिलो सामुदायिक कार्यक्रम लिएर रमा चितवनको माडी पुग्दा त्यहाँका महिलाले ‘अहिलेसम्म केटी मान्छे आउनुभएको थिएन, फेरि पनि आउनुस् है’ भनेको सम्झिन्छिन्। ‘सोच परिवर्तन हुन धेरै समय लाग्छ, त्यसका लागि पर्खिनुपर्छ,’ उनले भनिन्।

तर संरक्षण क्षेत्रमा महिला सहभागिता बढेको देख्दा उनी खुसी छिन्। ‘मैले सेवा सुरु गर्दाताका विवाहित कि अविवाहित भनेर खोजबिन गरिन्थ्यो,’ उनले भनिन्, ‘कतिपयले त ‘तपाईंको श्रीमान् त्यही क्षेत्रमा हुनुहुन्छ, तपाईं सजिलो हुन्छ पीएचडी गर्न’ सम्म पनि भन्न भ्याए। महिलामा क्षमता नै छैन जस्तो गरिन्छ। हरेक महिलाको आफ्नै संघर्ष छ।’

रमाले मास्टर्सको थेसिस गर्दैगर्दा हो बिहे गरेको। बिहेपछि परिवार र करिअर सँगसँगै बढाउनुपर्ने भयो। उनले ‘फ्रिल्यान्सर’ भएर काम गर्न थालिन्। ‘धेरैले महिलाको यो पाटो बुझ्दैनन् बरु ‘श्रीमान्ले पालिहाल्छ किन गर्नुपर्‍यो काम’ भन्छन्,’ उनले सुनाइन्, ‘पुरुषलाई तपाईंले बिहे गर्नुभएको छ, समय दिन सक्नुहुन्छ? जस्ता प्रश्न गरिँदैन तर महिलालाई सोधिन्छ।’

पुरुषजस्तै महिला पनि काममा मेहनत गर्ने, समय दिने र क्षमतावान् रहेको रमाको भनाइ छ। त्यसको उदाहरण उनी स्वयं पनि हुन्। गर्भवती हुँदा काम गर्ने क्रममा उनी कपडाले पेट बाँधेर बारा, सप्तरी, रौतहट, सुनसरीलगायत जिल्ला पुगेकी थिइन्। त्यो अवस्थामा फिल्ड जाँदा कतिले उनले लापर्बाही गरेको आरोप पनि लगाए।

‘त्यो लापर्बाही थिएन, मेरो कामप्रतिको उत्साह थियो,’ उनले सुनाइन्, ‘आफ्नो स्वास्थ्यको ख्याल कसलाई गर्न मन लाग्दैन र?’  गर्भावस्थाका विभिन्न चुनौती सामना गर्दै उनले आफ्नो कामलाई निरन्तरता दिइन्। उनको दोस्रो बच्चा सात महिनामै जन्मियो। ‘फिल्ड गएर फर्केको एक सातामै सुत्केरी भएकी थिएँ,’ उनले भनिन्।

कामका लागि त्यसरी जोखिम मोलेकोमा उनलाई पछुतो छैन। भनिन्, ‘त्यतिबेला ती समस्यासँग नजुधेको भए अहिले मसँग यति राम्रो परिवार हुन्थेन होला।’

शिक्षण, संरक्षण र सपना

सानैदेखि शिक्षण पेसालाई आफ्नो सपना बनाएकी उनले अहिले पनि त्यसलाई बिर्सन सकेकी छैनन्। त्यसैले शिक्षणसँग कहीँ न कहीँ जोडिएकी छन्। तराईका विभिन्न विद्यालयका विद्यार्थीलाई उनी संरक्षण सिकाउँछिन्। जनस्तरमा तालिम दिने गर्छिन्।

‘मैले आफ्नो पढाउने सपना यसैबाट पनि पूरा गरिरहेकी छु,’ उनले भनिन्।


प्रतिक्रिया

2 thoughts on “१२ वर्षदेखि मलाहा बिरालो पछ्याइरहेकी रमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =