सडकका ‘बेगमबेली’ फूलले बढाएको तिलोत्तमाको सौन्दर्य (तस्बिरहरू)

विनोद परियार ३० फागुन २०७९ १०:१३
98
SHARES
सडकका ‘बेगमबेली’ फूलले बढाएको तिलोत्तमाको सौन्दर्य (तस्बिरहरू)

लुम्बिनी- बुटवल-बेलहिया ६ लेन सडकअन्तर्गत तिलोत्तमा नगरमा यतिखेर बेगमबेली फूलले जो कोहीलाई आकर्षत गर्छ। बुटवल-भैरहवा यात्रा गर्नेहरू सडकका दायाँबायाँ र डिभाइडरमा फुलेका बेगमबेली फूलको अवलोकन गर्न पाउँदा रोमाञ्चित हुने गर्छन्। कतिपय यात्रु त गुडिरहेको गाडी रोकेर तस्बिरसमेत लिने गर्छन्।

वसन्त ऋतुको आगमनसँगै सडकका डिभाइडरमा फुलेको बेगमबेलीले सडकलाई आकर्षक बनाएको छ। चार वर्षअघि तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्यकरणका लागि बेगमबेली नामक फूल लगाएको हो।

तिलोत्तमा नगरभित्र पर्ने १३ किलोमिटर सडकमा नगरपालिकाले ३ हजार बढी बेगमबेली प्रजातिको फूल लगाएको तिलोत्तमा नगरपालिकाका वातावरण शाखा हरियाली प्रवर्द्धन अधिकृत गोरखनाथ खनालले बताए। उनका अनुसार सुक्खा ठाउँमा, कम पानी र जरासमेत जमिनमुनि धेरै नजाने भएकाले तिलोत्तमामा बेगमबेली फूल लगाइएको हो।

तिलोत्तमाले बेगमबेलीलाई नगरफूल घोषणा गरेको छ। तिलोत्तमा नगरक्षेत्रका सडकका दायाँबायाँ, डिभाइडरसहित पार्कहरूमा समेत यही फूल लगाएको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए।

उनले सडक निर्माणका क्रममा सडक क्षेत्रमा यत्रतत्र छरिएका डुंगा, गिट्टी, बालुवालाई व्यवस्थापन गरेर हरियालीसँगै फूल लगाइएको बताए। ‘४ वर्षअघि लगाइएको बेगमबेली फुल्दा यसले नगरको सौन्दर्यता बढाएको छ,’ उनले भने।

बुटवलदेखि बेलहियासम्मको ६ लेन सडकमध्ये तिलोत्तमा नगर क्षेत्रमा सडकमा रातिमा समेत बत्तीले झिलिमिली हुन्छ। वसन्त ऋतुको आगमनसँगै मनै लोभ्याउने गरी राताम्मे फूलले यात्रा गर्नेहरूलाई आनन्दित तुल्याएको छ।

सडकमा दायाँबायाँ किनार र डिभाइडरमा लगाइएको फूलसहित अन्य बिरुवाहरूको नियमित रूपमा नगरपालिकाका ४२ जना कर्मचारीहरूले गोडमेल र संरक्षण गर्ने गरेका छन्। सडकमा बेगमबेलीसहित केही ठाउँमा करविर नाम प्रजातिका फूलसमेत लगाइएको छ।

 

प्रकाशित: ३० फागुन २०७९ १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =