मातृभाषामा सिक्न पाउँदा बालबालिका खुसी

शिक्षाविद् भन्छन्- मातृभाषामा अध्ययन गर्न पाउनु बालबालिकाको अधिकार

नेहा झा २९ फागुन २०७९ १९:०८
176
SHARES
मातृभाषामा सिक्न पाउँदा बालबालिका खुसी तस्बिर सौजन्य- आसमान नेपाल।

जनकपुरधाम– जनकपुरधामको सरस्वती नमूना माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छात्र अन्शु रामलाई सुरु-सुरुमा विद्यालय जानै डर लाग्थ्यो। तर अचेल उनलाई विद्यालय जान रमाइलो लाग्न थालेको छ।

अन्शुलाई विद्यालय जान सुरुवात गरेको समयमा शिक्षक शिक्षकहरूले अध्यापन गराउँदा उनीहरूले प्रयोग गर्ने वाक्यहरू आफू नबुझे दण्डित हुनुपर्ने हो कि भन्ने लाग्थ्यो। तर जब उनी कक्षाकोठामा प्रवेश गरे अनि शिक्षक शिक्षकहरूले उनकै भाषामा उनलाई स्वागत गर्दै अध्यापन गराउन सुरु गरेपछि उनको मनबाट भाषासहित विद्यालयप्रतिको डर विस्तारै हट्दै गयो।

उनी नियमित विद्यालय जान्छन् र आफूले नबुझेका कुराहरू त्यहाँ उपस्थित सर म्याडमहरूसँग सहजै सोध्ने गर्छन्।

‘विद्यालयमा साथीहरूसँग खुब रमाइलो गर्छु, सर म्याडमलेसमेत मैले नबुझेका कुराहरू बुझाइदिनुहुन्छ,’ अन्शुले भने,‘विद्यालय जान र पढ्न खुब मन पर्छ।’

पाठ्यक्रममा नेपाली भाषा मात्रै लेखिएको भए पनि विद्यार्थीहरूको सहजताका लागि मातृभाषामासमेत अध्यापन गराउँदै आएको उक्त विद्यालयकी शिक्षक बिनीता कर्णले बताइन्।

‘हुन त अंग्रेजीबाहेक अन्य सबै विषयहरू नेपालीमै हुन्छन् तर कतिपय यस्ता वाक्यहरू हुन्छन् जो स-साना कक्षाका बालबालिकाहरूलाई बुझ्न असहज हुन्छ,’शिक्षक कर्णले भनिन्, ‘त्यस्तो समस्या नआओस् भनेरै हामीले सुरुमा नेपालीमा बुझाउँछौं र त्यसपछि हाम्रोतिर बोलिने मैथिली भाषामा बुझाउने गरेका छौं।’

एकातर्फ विद्यालय जान डराउने अन्शु अहिले सहजै पढ्न आउँछन् भने अहिले पनि कतिपय यस्ता विद्यार्थीहरू छन् जसका लागि विद्यालय जानु बाध्यताजस्तै भएको छ।

घरमा सधैँ मातृभाषामा बोल्ने तर कक्षाकोठामा छिर्नेबित्तिकै राष्ट्रिय भाषा नै बोल्नुपर्ने बाध्यात्मक परिस्थितिले कतिपय स्थानमा विद्यार्थीहरू पढ्न हिच्किचाउने अवस्था अझै पनि कायमै रहेको पाइन्छ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भगवतीपुर महोत्तरीको कक्षा ५ मा अध्ययनरत छात्रा लक्ष्मी पासमानलाई शिक्षकहरूले कक्षाकोठामा पढाइ रहेको कुराहरू बुझ्न गाह्रो हुन्छ।

कक्षामा पढाइ नबुझेपछि उनी शिक्षकले दिएका गृहकार्य गर्नसमेत कहिलेकाही असमर्थ हुन्छिन्।

जसले गर्दा उनलाई विद्यालय जान पनि असहजता महसुस भइरहन्छ। यति मात्रै होइन कक्षाकोठामा नेपालीमै बोल्नुपर्ने बाध्यताले उनलाई झन् गाह्रो बनाइदिन्छ। यो उनको मात्र होइन उनको कक्षामा पढ्ने प्रायः बालबालिकाहरूलाई यही कठिनाइ छ।

‘घरमा आमा बुबाले जतिबेला पनि मैथिली बोल्नुहुन्छ, हामी पनि घरदेखि बाहिरसम्म मैथिली नै बोल्ने गर्छौं, तर कक्षाकोठामा छिर्नेबित्तिकै शिक्षकहरूले नेपालीमै कुरा गर भन्नुहुन्छ,’ कक्षा ५ मै अध्ययनरत अर्का छात्रा मोनिका मण्डलले भनिन्,‘यो दुई वटा भाषा बीच घरमा बोल्ने भाषाकै जित हुन्छ र हामीले बोल्ने नेपाली भाषामा आधाभन्दा बढी मैथिली नै मिसिन्छ र कक्षामा जवाफ आइरहेका प्रश्नहरूको उत्तर दिनसमेत असहज हुन्छ।’

आफूले घरमा बोल्दै आएको मैथिली भाषामै विद्यालयमा शिक्षकहरूले पढाइदिँदा नबुझेका कुराहरू बुझ्न पनि सजिलो र नेपाली बोल्दा बिग्रिन्छ कि भन्ने डरसमेत नहुने उनको बुझाइ छ।

स्थानीयस्तरमा राष्ट्रिय भाषा बुझ्न गाह्रो भएकै कारण स-साना कक्षाका छात्रछात्राहरूलाई मातृभाषाकै प्रयोग गरी अध्ययन अध्यापन गराउँदै आएको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भगवतीपुर महोत्तरीका प्रधानाध्यापक मनोज मिश्रले बताए।

‘स्थानीय भाषामा अध्यापन गराउँदा साना उमेरका विद्यार्थीहरूले सहजै ती विषयहरूको सार बुझ्न पाउँछन्, शिक्षक शिक्षकहरूसँग छिट्टै नै घुलमिल भई केही नयाँ सिक्न जहिल्यै उत्सुक हुन्छन्,’प्रधानाध्यापक मिश्रले भने ‘तर त्यही विषय नेपाली भाषामा पढाउँदा उनीहरू त्यति चासो दिँदैनन्। घरमा बोलिँदै आएको भाषा उनीहरूका लागि सहज भइसकेको हुन्छ र विद्यालयमा पढ्न आउँदा यो उनीहरूका लागि पूर्ण रूपमा नयाँ हुन्छ। जसकारण उनीहरू विद्यालय नै आउन चाहँदैनन्, त्यसैले हामीले स-साना विद्यार्थीहरूलाई उनीहरूले सहजै बुझुन् भनेर दुवै भाषा प्रयोग गरी पढाउन भनेका छौं र त्यसैअनुरूप हाम्रा शिक्षक शिक्षकहरूले अध्यापन गराउँदै आउनुभएको छ।’

विद्यार्थीहरूलाई नियमित विद्यालय आउन भाषालेसमेत प्रभाव पार्ने गरेको उनको भनाइ छ। यसका लागि स्थानीय सरकारले गम्भीर भई पहल गर्नुपर्ने नितान्त जरुरी रहेको उनको बुझाइ छ।

विद्यालयमा मातृभाषा प्रयोग बाध्यता नभई अपरिहार्य रहेको शिक्षाविद् राधा कोइराला बताउँछिन्।

‘कुनै पनि विद्यार्थीहरू सानैदेखि आफ्ना घर टोल छिमेकमा जुन भाषा सिकेका छन् त्यही भाषामा अध्ययन गर्न पाउनु भनेको उनीहरूको अधिकार हो। विद्यालयमा उनीहरू पढ्न जान्छन् तर शिक्षक शिक्षकहरूले पढाइरहेका कुरा उनीहरूले बुझ्न पाएनन् भने उनीहरूका लागि विद्यालय जानु रहरभन्दा पनि बाध्यता हुन पुग्छ,’शिक्षाविद् कोइरालाले भनिन्, ‘त्यसैले विद्यार्थीहरू बीचैमा पढाइ छोड्ने, नियमित विद्यालय नजानेजस्ता समस्या देखा पर्छ।’

विद्यालयमा विद्यार्थीहरूलाई नियमित टिकाई राख्न र उनीहरूको मनोभावलाई बुझेर मातृभाषालाई प्राथमिकता दिन शिक्षशिक्षकदेखि स्थानीय सरकारसहितकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रकाशित: २९ फागुन २०७९ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =