नेविसंघसँग १४ बुँदे सहमतिपछि खुल्यो चक्रवर्ती ल कलेजमा लागेको ताला

हिमाल प्रेस २९ फागुन २०७९ १६:४५
374
SHARES
नेविसंघसँग १४ बुँदे सहमतिपछि खुल्यो चक्रवर्ती ल कलेजमा लागेको ताला

काठमाडौँ- क्याम्पसको शैक्षिक, भौतिक एवम् अतिरिक्त क्रियाकलाप लगायतका विषयमा विद्यार्थीले अघि सारेका माग पूरा गर्न काठमाडौँको चकवर्ती हबी एजुकेसन एकेडेमी (कलेज अफ ल) सहमत भएको छ। सहमतिसँगै विद्यार्थीले कलेजमा एक महिनादेखि लगाएको ताला खोलेका छन्।

क्याम्पस प्रशासन, प्राध्यापक र आन्दोलनरत विद्यार्थीको उपस्थितिमा भएको बैठकमा यस्तो सहमति जुटेको चक्रवर्ती हबी ल कलेज एकाइ समितिका अध्यक्ष अभिनव सिंह राठौरले जानकारी दिए।

सहमतिपत्रमा क्याम्पस प्रशासनका तर्फबाट वार्ता टोलीका संयोजक प्रा.डा. ज्ञान बस्नेत र विद्यार्थीका तर्फबाट संयोजक राठौरले हस्ताक्षर गरेका छन्।  सहमतिअनुसार शैक्षिक भ्रमण, क्लिनिकल गतिविधिलाई नियमित गर्ने र अघिल्ला वर्ष छुटेका क्लिनिकल गतिविधि कम्तीमा एउटा गराउने निर्णय भएको छ।

यस्तै ई-लाइब्रेरीलाई व्यवस्थित गर्ने र पुस्तक संख्या थप्न क्याम्पस प्रशासन तयार भएको छ। शौचालयका लागि उपयुक्त पूर्वाधार तयार गर्न तथा शौचालयका लागि आवश्यक पर्ने सामग्रीका साथै विशेष गरी छात्राका लागि स्यानिटरी प्याडको व्यवस्था गर्न पनि क्याम्पस प्रशासन तयार भएको छ।

कक्षाकोठालाई थप व्यवस्थित बनाउन र  सेमिनार हलको पनि व्यवस्थापन गर्न क्याम्पस प्रशासन तयार भएको नेविसंघका नेता राठौरले जानकारी दिए। उनका अनुसार कक्षा व्यवस्थापन गर्दा एउटा कक्षाको एउटा सेक्सनमा ६० जनाभन्दा बढी विद्यार्थी नराख्ने, प्रत्येक कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गर्ने र त्यसको व्यवस्थापन उपयुक्त तरिकाले गर्ने विषयमा पनि सहमति भएको छ।

दुवै पक्ष क्याम्पसले गर्ने मुटकोर्टलाई व्यवस्थित र नियमित गर्न, त्यसका लागि दक्ष प्रशिक्षकको व्यवस्था गर्न, क्याम्पसमा पूर्ण रूपमा शैक्षिक एमव् प्राज्ञिक वातावरण कायम गर्न, शैक्षिक र प्राज्ञिक वातावरण बिगार्ने कुनै पनि गतिविधिलाई दुरुत्साहन गर्न सहत भएका छन्। यस्तै खेलकुदका कार्यक्रमलाई नियमित र व्यवस्थित गर्न तथा क्याम्पस सूचनापाटीलाई नियमित र व्यवस्थित गर्न पनि क्याम्पस प्रशासन तयार भएको छ।

क्याम्पसका गतिविधिलाई सहज र सरल रूपमा प्रचारप्रसार गर्न, विद्यार्थी र क्याम्पसका बीचको सम्बन्धन प्रगाढ बनाइराख्नका लागि अलुम्नाई एसोसिएसन गठन गर्ने विषयमा छलफल गरी निर्णय गर्न, स्वागत तथा बिदाइ कार्यक्रमलाई विशेष परिस्थिति र अवस्थामा बाहेक नियमित र व्यवस्थित रूपमा आयोजना गर्ने पनि सहमति भएको छ।

विश्वविद्यालयको वार्षिक क्यालेन्डरलाई पूर्णरूपमा लागू गर्न विद्यार्थी, क्याम्पस प्रशासन र प्राध्यापकहरू सबै मिलेर कार्य गर्ने, क्याम्पसले लिने नियमित शुल्कको हकमा चालु महिना सकिएको १५ दिनभित्रमा शुल्क बुझाउनुपर्ने र सो समयभित्र शुल्क बुझाएमा कुनै विलम्ब शुल्क नलाग्ने विषयमा पनि सहमति भएको नेता राठौरले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =