स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवराेध, दुई क्याम्पसमा निर्विरोध

हिमाल प्रेस २८ फागुन २०७९ २०:५८
2
SHARE
स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवराेध, दुई क्याम्पसमा निर्विरोध

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आंगिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ। देशभरका क्याम्पसमा शनिबार (फागुन २७ गते) उम्मेदवारको मनोनयन भए पनि आठ आंगिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध बनेको हो।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनबीच भर्नाका विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिए।

उनका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पोखराको पृथ्वीनारायण क्याम्पस, नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पस, कञ्चनपुरस्थित सिद्धनाथ विज्ञान क्याम्पस, बागलुङस्थित धवलागिरि क्याम्पस र चितवको वीरेन्द्र क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।

निर्वाचन प्रक्रिया अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको अधिकारीको भनाइ छ। ‘हामी यसपटक सबै क्याम्पसमा निर्वाचन गराउने छौँ,’ उनले भने, ‘ रोकिएको क्याम्पसमा विद्यार्थी संगठनसँग वार्ता गरेर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छौँ।’

आरआर क्याम्पस, नेपाल कमर्स क्याम्पस, जनप्रशासन क्याम्पसमा रोकिएको निर्वाचन प्रक्रिया पनि सुरु गर्ने उनले बताए। ‘हिजो (फागुन २७ गते) उम्मेदवारी दर्ता भएसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ,’ उनले भने।

दुई क्याम्पसमा निर्विरोध

निर्देशक अधिकारीले हालसम्म दुईवटा क्याम्पसमा स्ववियु निर्वाचन निर्विरोध भएको जानकारी दिए। उनका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।

यसपटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्। त्यस्तै उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षपछि विसं २०७३ चैत १५ गते केही क्याम्पसमा मात्रै भएको थियो।

आइतबार उम्मेदवारमाथिको दाबीविरोध छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ। सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। रासस

प्रकाशित: २८ फागुन २०७९ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =