सिकलसेलबारे विशेषज्ञ चिकित्सकहरूको अभिमुखीकरण

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

हिमाल प्रेस २८ फागुन २०७९ २०:११
8
SHARES
सिकलसेलबारे विशेषज्ञ चिकित्सकहरूको अभिमुखीकरण

धनगढी– सुदूरपश्चिम प्रदेशको धनगढीमा फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले सिकलसेल एनिमियासम्बन्धी चिकित्सकहरूसँग अभिमुखीकरण कार्यक्रम गरेको छ।

शनिबार चिकित्सकको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा थारू समुदायमा बढी देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियासम्बन्धी चिकित्सकहरूबीच ज्ञान आदानप्रदान गर्ने उद्देश्यले धनगढीमा सम्मेलन गरिएको थियो।

करिब १५० चिकित्सकहरू सहभागी भएको उक्त कार्यक्रममा १६ विषयमा कार्यपत्र प्रस्तुत गरी रोगको निदान तथा उपचारमा सघाउ पुर्‍याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ।

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्। आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्।

सम्मेलनमा विभिन्न विषयका विशेषज्ञ १६ जना चिकित्सकले सिकलसेल एनिमियासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए। डा. जगदीश जोशी, डा. राजन पाण्डेय, डा. खगेन्द्र भट्ट, प्रोफेसर डा. भुपेन्द्र बस्नेत, डा.शेरबहादुर कमर, डा. प्रज्ञा गौतम, डा. कपिल गौतमले कार्यपत्र प्रस्तुत गरेका छन्।

यसैगरी, डा. निरजकुमार सिंह, डा. उत्तम भट्ट, डा. पुष्पराज अवस्थी, डा. योगेश भट्ट, डा. नवीन चन्द्र भट्ट, डा. ओमकार विष्ट र डा. अस्मिता शर्माले पनि कार्यपत्र प्रस्तुत गरे। सिकलसले एनिमियाले बहुअंगमा समस्या गर्ने भएकाले आँखा, हड्डीलगायतका विषय विशेषज्ञ चिकित्सकहरूले कार्यपत्र प्रस्तुत गरेका हुन्।

संस्थाका कोर्ष डाइरेक्टर (पाठ्यक्रम निर्देशक) प्राध्यापक डा. शुभेषराज कायस्थले केही वर्षअघि ठूलो जनसंख्यामा गरिएको सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतको रोग फेलापरेको जानकारी दिए।

डा. कायस्थले भने, ‘सिकलसेलमात्र भएका रोगी धेरै वर्ष बाँच्दैनन्, धेरैमा ४० वर्ष बाँच्न सक्ने देखिन्छ।’ विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको बताइएको छ।

सिकलसेल सरुवा रोग भने होइन। रोगबाहक आमाबुवाको जिनका कारण यो रोग सन्तानमा देखा पर्दछ। चिकित्सकहरूका अनुसार सिकलसेल बहुअंगमा समस्या गर्ने रोग हो।
पीडितमा पटक-पटक समस्या बल्झिरहन्छ। रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अंग जस्तै आमासय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्‍याउँछ।

यो रोगको समस्यालाई मध्यनजर गरी नेपालमा पहिलो पटक ०७१ सालमा सरकारले प्रत्येक रोगीको उपचार व्यवस्थापनमा १ लाख रुपैयाँ बराबरको निःशुल्क सेवा प्रदान गरिरहेको छ।

समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्।

सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ उनीहरूले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ।

सुदूरपश्चिम प्रदेशमा सिकलसेल एनिमियाका बिरामीहरूलाई सेति प्रादेशिक अस्पताल, महाकाली अस्पताल , घोडाघोडी अस्पतालमा बिरामीहरूको नि:शुल्क उपचार हुने गरेको स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले बताए।

सुदूरपश्चिम प्रदेशमा सिकलसेल एनिमियासम्बन्धी थप अनुसन्धानसमेत भइरहेको डा. जोशीले बताए।

वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह छ।

सिकलसेल एनिमियाको बाहक र पूर्ण बिरामी हुने गर्दछन्। पूर्ण बिरामीको उपचारका लागि नेपाल सरकारले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ। बाहकमा रोगको लक्षण देखिँदैन तर उनीहरूले आफ्नो सन्तानमा सिकलसेल सार्ने गरेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =