कवि किशमा किशोर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

हिमाल प्रेस २७ फागुन २०७९ १८:५३
8
SHARES
कवि किशमा किशोर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

सिन्धुपाल्चोक- प्रगति सम्मान- २०७९ कवि किशमा किशोर बुढाथोकी, पत्रकार दिनेश थापा र लोकगायक पदम दुलाललाई अर्पण गरिएको छ। मेलम्ची नगरपालिका-११ स्थित प्रगति अंग्रेजी माविले शनिबार तीन प्रतिभालाई सम्मानित गरेको हो।

बुढाथोकीलाई प्रगति साहित्य सम्मान, थापालाई प्रगति पत्रकारिता सम्मान र  दुलाललाई प्रगति कला सम्मान अर्पण गरिएको विद्यालयले जनाएको छ।

खाडी मुलुक कतारदेखि नेपालमा समेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप बुढाथोकीलाई सम्मान गरिएको हो। बुढाथोकीले कतारमा रहँदा नवोदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यको विकासमा योगदान गरेका थिए। उनी स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिकको सम्पादक पनि हुन्।

सिन्धु साहित्य अभिलेखालयको संयोजक, गजल सिन्धुको अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आबद्ध रही उनी साहित्यको विकासमा क्रियाशील छन्। उनका ‘मरूभूमिको साहित्य यात्रा’ र ‘जूनका आभाहरू’ कृति प्रकाशित छन्।

पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन्। २०६० सालबाट पत्रकारिता सुरु गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन्। राजधानी दैनिक र नेपाल प्रेस डटमा आबद्ध उनले जिल्लामा भएका विपदलगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएको विद्यालयले जनाएको छ।

लोकगायक पदम दुलाललाई गीतसंगीतबाट मनोरञ्जन मात्रै नभई जिल्लाको कला तथा पर्यटन विकासमा सघाउ पुर्‍याएकाले सम्मान गरिएको हो।  सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई योगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि निरन्तर सम्मान प्रदान गर्दै आएको सो विद्यालयले आफ्नो विद्यालयको ३१औँ वार्षिकोत्सव समारोहको अवसरमा सम्मान प्रदान गरेको हो।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उनीहरूलाई सम्मान पत्र प्रदान गरेका थिए।

प्रकाशित: २७ फागुन २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =