सरल शैली, निर्बन्ध अभिव्यक्ति

ध्रुवहरि अधिकारी २७ फागुन २०७९ ८:०७
156
SHARES
सरल शैली, निर्बन्ध अभिव्यक्ति

महेश्वर शर्माको नवीनतम् काव्यकृति ‘संवेदनाको आकार’ बारे प्रारम्भिक मन्तव्यमै कविको दाबी छः- ‘सरल हुन खोजेको छु।’ हुनुहुन्छ पनि। परन्तु विवेच्य सङ्‌ग्रहमा परेका सबै ४० वटा साना-ठूला रचनामा उहाँ सरल मात्र हुनुहुन्न। पाठकले उहाँका कतिपय कवितात्मक उद्‌गारलाई अभिधामै बुझ्न, ठम्याउन गाह्रो पर्दछ। जस्तो, ‘मलाई पागल भनिदिनुस्’ शीर्षकको कविताको यो अंशः–

म सुन्न सक्छु देख्छु, र अनुभूत गर्छु

तर तपाईंजस्तै हुन सकिनँ

अर्थात् तपाईं हुन सकिनँ

के गर्नुहुन्छ अब मलाई

भो मलाई पागल भनिदिनुस्।

तर अन्य कतिपय कवितामा भने कविलाई सरल नै भेटिन्छ; सहजसँग बुझ्न सकिन्छ। “बा’को घर” एउटा यस्तै दृष्टान्त हुनसक्छः-

…………….

……

घर बनाउनु इतिहास बनाउनु रहेछ

…..

घर भत्किनु भनेको

इतिहास भत्किनु हो

घर नभत्काउनू है ।

पृथ्वीनारायणले नेपाल नामक घर बनाएर इतिहास निर्माण गरेका हुन्। तर अचेल भत्काउने अभियानमा लागेका नेतागणको बिग्‌बिगी छ, तिनले घर डढाएर भए पनि खरानीको अभावको पूर्ति गर्ने यत्न गर्दैछन्। यो लक्षणा शब्दशक्तिले दिने अभिव्यक्ति हो। यसमा सारगर्भित सन्देश छ।

त्यसैगरी, व्यङ्ग्य र कटाक्षका उद्‌गारमार्फत कविले दिन खोजेका विचार समावेश भएका कवितामध्येको एकको शीर्षक हो ‘मुखुण्डोको दाम’। एउटै मानव अनुहारलाई थरी-थरीका मुखुण्डाबाट हेर्नुपर्दाको अनुभूति जनाउने क्रममा आएको यो निचोडको पङ्ति घतलाग्दो छः–

……..

तर

एउटा कुरा भनिदिनुस् न

फरक फरक रूपमा देखिने

तपाईंले लगाउनु भएको

मुखुण्डोलाई कतिमा किन्नुभएको होला ?

शब्दहरूको व्यञ्जनाशक्ति झल्काउन यही अभिव्यक्ति पर्याप्त होला। अभिधा र लक्षणापछि व्यञ्जनाको पनि प्रभावकारी प्रयोग भएको छ,कवि शर्माबाट।

क्लिष्ट हुने कविको हक

भन्नुपर्ने, लेख्नुपर्ने सबै कुरा अभिधामा गर्ने काम खासमा पत्रकार/सञ्चारकर्मीको हो। ताजा सूचना सम्प्रेषणको चटारोमा परेको सञ्चारकर्मीले न फूलबुट्टा जडेर लेख्न जान्दछ न त त्यसो गर्ने समय नै ऊसँग हुन्छ। तर कवि, कथाकार, साहित्यकारहरू चाहिं फुर्सद लिएर लेख्ने स्रष्टा हुन्। र, उनीहरूसँग सिर्जनालाई सिंगार्ने कला (सीप) पनि हुन्छ। पाठकको अपेक्षा पनि त्यसै अनुरुपको हुनजान्छ। कवि महेश्वर शर्माले यस अर्थमा पाठकलाई निराश पारेकोजस्तो मलाई लागेको छैन।

नेपाली साहित्यजगत्‌ले जानेका र मानेका समालोचक प्रोफेसर यदुनाथ खनाल (विसं १९७०-२०६१) ले कवि र कविताका बारेमा रोचक कुरा भन्नुभएको छ जसको चर्चा खनालका जीवनीकार प्रोफेसर जयराज आचार्यको पुस्तकमा पाइन्छ। समालोचक खनालको मान्यताबारे उल्लेख गर्नुअघि आचार्य प्रश्न गर्नुहुन्छः- ‘कविको नबुझिने हुन कति हक छ?’ यसको उत्तरमा खनालका उद्धरणहरू प्रस्तुत गरिएका छन्ः-

आफ्नो अनुभव आफैंले मात्र बुझ्ने गरी कविता रचेर क्लिष्ट हुनु कविको हक छैन। आफ्नो अनुभव पाठकमा सञ्चार नगरीकन कवि हुँदैन।

खनाल कविताका पाठकहरूप्रति पनि संवेदनशील देखिनुहुन्छ र परामर्शको शैलीमा बोल्नुहुन्छः–’…अखबार जस्तो एकपल्ट सर्र पढ्दा बुझिएन भन्दैमा कविता नै बुझिएन भनी कोलाहल गर्ने जत्तिको पाठकलाई हक छैन, त्यत्तिकै उचित चेष्टा गरी बुझ्न खोज्ने पाठकहरूले समेत नबुझ्ने गरी कविता लेख्ने कविको हक छैन।’

नेपाली काव्य विधामा परम्परा पछ्याउँदै छन्दोबद्ध कविता लेख्ने कविहरूको जमात तुलनात्मक रूपमा सानो छ। यता, स्वच्छन्द शैलीमा गद्य ढाँचामा कविता लेख्ने कविहरूको संख्या धेरै छ। छन्दका नियम, अनुप्रास र व्याकरणका विधिहरूमा नबाँधिईकन आफूले रोजेको विषयमा निर्बन्ध अभिव्यक्ति दिंदाको सुखद् अनुभूति अतुलनीय हुन्छ भन्ने यस कित्ताका कविहरूको दलील हुने गर्छ।

यता, छन्दमा लेख्दा भाव खुम्चिन्छ भन्ने तर्कलाई छन्दका पारखीहरू मान्न तयार देखिंदैनन्। पाठकहरूलाई भने यसप्रकारको द्वन्द्वले हानि-नोक्सानी छैन। लाभै छ। कविहरू बीच प्रतिस्पर्धा हुँदा स्वादिला रचना निस्कन्छन् र पाठकले छानी-छानी रसास्वादन गर्न पाउँछन्। कविशिरोमणि लेखनाथका छन्दोबद्ध ‘सत्य-सन्देश’ र महाकवि देवकोटाका ‘यात्री’ मात्र होइन भूपि शेरचनका गद्य कविताबाट समेत प्रेरणा लिन हामी अभ्यस्त छौं। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भूपिको निकै चर्चित कविता हो।

पहाडी परिवेश

स्याङ्‌जा,कालिकाकोटमा जन्मेका कवि शर्माको बाल्यकाल त्यहीं बितेको हुनाले  होला, धेरैजसो कवितामा पहाडी परिवेश समेटिएको छ। स्कूले विद्यार्थी छँदादेखि गौतम बुद्धको मावली गाउँ देवदह (रुपन्देही) लाई आधारभूमि बनाएका शर्माका रचनामा देशप्रेम यत्रतत्र छचल्किएको भेटिन्छ। विसं २०७४ मा प्रकाशित कविको पहिलो कवितासङ्ग्रहको नाम नै ‘प्रवासका जूनहरू’ रहेछ। अष्ट्रेलियाको प्रवासमा रहँदाका कविका भावोद्‌गारहरूसँग नेपाली र संसारभर छरिएर बसेका नेपालीभाषी कविताप्रेमी पाठकहरू परिचित छन्।

महेश्वर शर्मालाई आफ्नै कवितात्मक सिर्जनामा मात्र रमाएर बस्ने साहित्यकार ठान्नु गलत हुनेछ। उहाँ कथा,लघुकथा, मुक्तक, हाइकु, गीत, नियात्रा,निबन्ध,उपन्यास जस्ता  विधामा कलम चलाउने स्रष्टाहरूको जमघट गराउने, साहित्यिक यात्राको आयोजना गर्ने, प्रकाशनको चाँजो मिलाउने समेतका गतिविधिमा सक्रिय रहने र त्यसरी सक्रिय अन्य समवयी लेखक,कविहरूलाई सघाउने काममा सहभागी हुन रुचाउने युवक हुनुहुन्छ।

भीमसेन सापकोटा, ममता मिश्र, सानु घिमिरे ’ज्योत्सना’, प्रवीण टण्डनलगायतका समान रुचि भएका मित्रहरू मिलेर प्रवासमा नेपाली भाषा-साहित्य-संस्कृतिलाई जीवन्त राख्न कवि शर्माले गरेका प्रयासहरू नजिकबाट देख्ने, अनुभव गर्ने एक-दुई मौका मैले पनि पाएको छु—सिड्नी र क्यानबेरा शहरमा पुगेका बखत। नेपालबाट आउने साहित्यिक व्यक्तित्वहरूको सम्मान गर्ने, प्रवचन गराउने यस्तै एक कार्यक्रममा समालोचक मोहनराज शर्मासँग भएको भेटघाटको सम्झना भइरहेको छ। केही वर्षअघिको प्रसङ्‌ग हो। अचेल शर्माको केही समय नेपाली साहित्यकारहरूको विश्वव्यापी सञ्जाल ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास)को केन्द्रीय उपाध्यक्षको भूमिका निर्वाह गर्नेमा जाँदो रहेछ।

उपाध्यक्ष शर्मा अचेल ‘ओसिआनिया’ नामक त्यस भौगोलिक क्षेत्रमा विकसित भइरहेको नेपाली साहित्यलाई मलजलमा संलग्न हुनुहुन्छ जसमा अष्ट्रेलिया,न्यूजील्याण्ड, फिजी, पपुवा न्यूगिनी,भानुआतु, सोलोमन द्वीप समेतका प्रशान्त महासागरस्थित् स-साना देशहरू पर्दछन्।

प्रकाशित: २७ फागुन २०७९ ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =