सहरका हलमा कुनकुन फिल्म चल्दैछन्?

सुस्मिता बजगाईं २७ फागुन २०७९ ७:०३
130
SHARES
सहरका हलमा कुनकुन फिल्म चल्दैछन्?

काठमाडौँ- शनिबार बिदाको दिन रमाइलो गर्न चाहनेका लागि उपत्यकाका फिल्म हल, नाटकघर आदि उपयुक्त गन्तव्य हुन सक्छन्। सिनेमा हलमा नेपाली, हिन्दी, अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नाट्यघरहरूमा विभिन्न नाटक मञ्चन भइरहेका छन्।  विभिन्न चित्रकला, फोटोग्राफी महोत्सव पनि जारी छन्।

शिल्पीमा ‘विमोक्ष’

काठमाडौँ, बत्तीसपुतलीस्थत शिल्पी थिएटरमा ‘विमोक्ष’ मञ्चन भइरहेको छ। नाटककार घिमिरे युवराजद्वारा लिखित नाट्यपुस्तक ‘विमोक्ष’मा आधारित नाटकका निर्देशक प्रवीण खतिवडा हुन्।  चैत १८ सम्म चल्ने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामी लगायतको अभिनय छ। शनिबार दिउँसो साढे १ र साँझ सवा ५ मा गरी नाटकका दुई पटक मञ्चन हुन्छन्।

‘अ रेट्रोस्पेक्टिभ अफ एन आर्टिस्ट’ (रागिनीको चित्रकला प्रदर्शनी)

चित्रकार रागिनी उपाध्याय ग्रेलाको ‘अ रेट्रोस्पेक्टिभ अफ एन आर्टिस्ट’ नामक चित्रकला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भइरहेको छ।  ग्यालेरीकै आयोजनामा फागुन २४ गतेदेखि जारी चित्रकला प्रदर्शनी चैत ८ (२२ मार्च) सम्म चल्नेछ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो महिला कुलपतिसमेत रहेकी उपाध्यायले सन १९७८ देखि २०२३ सम्म कोरेकी विभिन्न चित्राकृति प्रदर्शनमा राखिएको छ। प्रदर्शनी बिहान ११ बजेदेखि ५ बजेसम्म अवलोकन गर्न सकिनेछ।

इशान र सविताको ‘कम्प्याटिबल थट्स’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा कलाकार इशान परियार र सविता डंगोलको ‘कम्प्याटिबल थट्स’ नामक चौथो चित्रकला प्रदर्शनी भइरहेको छ।  फागुन १९ गतेदेखि जारी प्रदर्शनी चैत १७ गतेसम्म चल्नेछ। प्रदर्शनीमा धार्मिक स्थल, प्राकृतिक स्रोत, सम्पदा, नेपालका पर्यटकीय स्थल, फेवाताल, सांस्कृतिक मठ मन्दिरलगायतका पे्रमिल तस्बिर हेर्न पाइन्छ।

अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव २०७९

पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा पाँचौँ ‘अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव-२०७९’ चलिरहेको छ। फोटो काठमाडौँको आयोजनामा फागुन १२ देखि जारी महोत्सव चैत १७ सम्म चल्नेछ।

विभिन्न घटनाक्रमका साथै भूराजनीतिक तथा आर्थिक यथार्थका भाष्य र इतिहाससम्बन्धी तस्बिर त्यहाँ निःशुल्क हेर्न सकिनेछ। महोत्सवमा प्रवेश शुल्क लाग्दैन। महोत्सवमा १६ देशका ६० भन्दा बढी फोटोग्राफरका सिर्जना राखिएका छन्। नेपाल, भारत, बंगलादेश, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायतलगायत देशका चर्चित फोटोग्राफरका फोटो प्रदर्शनीमा छन्।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शन भइरहेका छन्। नेपाली फिल्म ‘छक्का पञ्जा ४’, ‘फूलबारी’ र ‘छड्के २.०’ चलिरहेका छन्। त्यस्तै हिन्दी फिल्म ‘तु झुठी मे मक्कर (ए)’ र अंग्रेजी ‘क्रिड ३’ र ‘एन्ट-म्यान एन्ड द वास्पः क्पान्टुमेनिया’ उपत्यकामा प्रदर्शन भइरहेका अन्य फिल्म हुन्।

‘छक्का पञ्जा ४’
फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीतिक विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेमा हल, ठमेलको क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, ललितपुरस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा बिहान साढे ७ बजेदेखि राति सवा ९ बजेसम्म फिल्मका थुप्रै सो छन्।

आईएनआई सिनेमाअन्तर्गत गोंगबुस्थित लोत्से मल, वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटीस्थित कालिमाटी ट्रेड सेन्टर, कमलपोखरीको बिग मुभिजमा ‘छक्का पञ्जा’ प्रदर्शन भइरहेको छ।

बौद्धस्थित एफसीयूबीई सिनेमाज, सीटीसी मलस्थित सिडिसी सिनेमाज, दरबारमार्गस्थित क्यूएस सिनेमाज, कीर्तिपुर पाँगास्थित कीर्तिपुर सिनेप्लेक्स, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघर, बागबजारस्थित सिटीम्याक्स सिनेमा, सुन्धाराको बिजीमलस्थित बिएसआर मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेपलेक्स ‘छक्का पञ्जा ४’ चलिरहेका अन्य हल हुन्।

‘फूलबारी’

फागुन ५ मा प्रदर्शनमा आएको ‘फूलबारी’ अझै हलमा लागिरहेको छ। पारिवारिक कथामा बनेको फिल्ममा मुख्य कलाकार विपिन कार्की र अरुणा कार्की छन्। फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्केलगायतको पनि अभिनय छ।  रामबाबु गुरुङको निर्देशन, उपेन्द्र सुब्बाको लेखन र कमल किशोर मलपानीको कथा रहेको छ।

शनिबार क्यूएफएक्स सिनेमाघरअन्तर्गत भक्तपुरस्थित क्यूएफएक्स, ललितपुरस्थित लबिम मल, सुन्धाराको सिभिल मलमा फूलबारी फिल्मको सो छ। बौद्धस्थित एफसीयूबीई सिनेमाज, न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा पनि ‘फूलबारी’ले शो चलिरहेको छ।

‘छड्के २’

फिल्म ‘छड्के २’ फागुन १९ देखि देशभर प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्म ग्याङ फाइटको कथालाई समेटेको छ। निगम श्रेष्ठ निर्देशित फिल्ममा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले, सिर्जना सुब्बालयागत कलाकारको अभिनय छ।

शनिबार आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको गोंगबुस्थित लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा १-१ सो छ।

‘तु झुठी मे मक्कर (ए)’

हिन्दी फिल्म ‘तु झुठी मे मक्कर (ए)’ मार्च ९ तारिख अर्थात् फागुन २५ गतेदेखि नेपालसहित विश्वभर चलिरहेको छ। कमेडी जनरामा बनेको फिल्मका निर्देशक लभ रञ्जन हुन्। फिल्ममा रणवीर कपूर र श्रद्धा कपुर मुख्य भूमिकामा छन्।

काठमाडौँमा क्यूएफएक्स सिनेमाजअन्तर्गत दरबारमार्गमा रहेको दरबार सिनेमाक्स, ठमेलको क्यूएफएक्स छाया सेन्टर, सिभिल मल, ललितपुरस्थित लबिम मल र क्यूएफएक्स भक्तपुरमा विभिन्न सोमा हेर्न सकिनेछ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको गोंगबुस्थित लोत्से मल, वान सिनेमाजअन्तर्गत नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, कमलपोखरीस्थित बिग मुभिज, बौद्धस्थित एफसीयूबीई सिनेमाज, सुन्धारामा रहेको सीडीसी मलस्थित सिडिसी सिनेमाजमा पनि ‘तु झुडी मे मक्कर (ए)’ चलिरहेको छ।

दरबारमार्गस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघर, बागबजारस्थित सिटीम्याक्स सिनेमा, सुन्धाराको बिजीमलस्थित बिएसआर मुभिज, रानीपोखरीस्थित जमलमा रहेको बिश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा यो फिल्म प्रदर्शन भइरहेको छ।

‘क्रिड ३’
फागुन १९ अर्थात ३ मार्चदेखि अंग्रेजी फिल्म ‘क्रिड ३’ विश्वभर प्रदर्शन भइरहेको छ। यो फिल्म खेलकुद जनरामा बनेको छ। माइकल बी जोर्डनको निर्देशनमा बनेको फिल्ममा जोर्डनसहित टेसा थोम्पसन, जोनाथम मेजर्सलगायत कलाकारको अभिनय छ। यो फिल्म आज उपत्यकाका क्यूएफएक्स सिनेमाघरअन्तर्गत ललितपुरस्थित लबिम मल र न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा चलिरहेको छ।

‘एन्ट-म्यान एन्ड द वास्प : क्पान्टुमेनिया’

अंग्रेजी फिल्म ‘एन्ट-म्यान एन्ड द वास्प : क्पान्टुमेनिया’ फागुन ५ देखि नेपालका हलमा प्रदर्शन भइरहेको छ। पेटन रिडले निर्देशन गरेको फिल्म कमेडी एक्सन र एड्भेन्चर जनरामा बनेको छ। फिल्ममा मुख्य कलाकार पल रड, जोनाथन मेजर्सलगायत कलाकार छन्। यो फिल्म आज क्यूएफएक्स सिनेमाघरअन्तर्गत ललितपुरस्थित लबिम मलमा बेलुका सवा ६ बजे हेर्न सकिन्छ।

प्रकाशित: २७ फागुन २०७९ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =