लिग-२ : पीएनजीसँग यूएई लगातार चौथो पटक पराजित

हिमाल प्रेस २६ फागुन २०७९ १७:१०
6
SHARES
लिग-२ : पीएनजीसँग यूएई लगातार चौथो पटक पराजित

काठमाडौँ- पपुवा न्युगिनी (पीएनजी) ले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) माथि ५६ रनको जित दर्ता गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीका लागि यो पाँचौँ र यूएईमाथिको चौथो जित हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी शृंखलामा आफ््नो दोस्रो खेलमा विजयी भएपछि पीएनजीको ११ अंक भएको छ। पीएनजीसँग लगातार चौथौ पटक पराजित भएपछि छैटौँ स्थानको यूएईको शीर्ष तीनमा पर्ने लक्ष्यमा धक्का पुगेको छ।

लिग-२ मा अब तीन खेल्न बाँकी यूएईको ३१ अंक र पाँचौँ स्थानको नेपालसँग ३४ अंक छ। सात टिमसम्मिलित लिग–२ मा पीएनजीको स्थान परिवर्तन भएको छैन। पुछारमा रहेको पीएनजीले अब सोमबार नेपाल र बिहीबार यूएईको सामना गर्ने तालिका छ। भोलि आइतबार नेपाल र यूएई भिड्नेछन्।

यूएईका लागि लिग-२ मा यो तेस्रो हार हो। घरेलु मैदानमा यसअघि सम्पन्न शृंखलामा यूएई पीएनजीसँग दुवै खेलमा पराजित भएको थियो। दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको शृंखलामा यूएईलाई नेपालले एक खेलमा हरायो। लिग–२ मा यूएई पीएनजीसँग पहिलो पटक मार्चमा हारेको हो, त्यो पनि आफ्नै मैदानमा।

टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल तयार पारेको थियो। यूएई ४२.२ ओभरमा १९० रन बनाएर अलाआउट भयो।

पीएनजीका सुरुवाती तीन ब्याट्सम्यानले अर्धशतक बनाएका थिए। पहिलो विकेटका लागि किप्लिन डोरिगा र हिरी हिरीले ७२ रनको साझेदारी गरे। डोरिगा ५५ रन बनाएर ११ औँ ओभरसम्म आउट भए।

हिरी ३२ औँ ओभरसम्म टिक्दा ७७ रन बटुले। अविजित रहेका सेसे बाउले ८१ रनको योगदान गरे। उनले हिरीसँग ११२ रनको साझेदारी गरेका थिए। बिहीबार नेपालसँग पराजित हुँदा बाउ तीन रन र हिरी हिरी आठ रनमा सीमित भएका थिए।

पीएनजीका बाँकी ब्याट्सम्यानले भने निराशाजनक ब्याटिङ गरे। चाड चोपर र नोर्मान भानुआ १०–१० रनमा समेटिँदा चाल्र्स अमिनी र हिला भारे चार–चार तथा रिले हेकुरे र काबुआ मोरेआ एक–एक रन बनाएर आउट भएका थिए।

बलिङतर्फ आयान अफ्जाल खानले तीन विकेट लिँदा जुनैद सिद्दिकी र जाहुर खानले दुई–दुई विकेट हात पारे। त्यसैगरी रोहन मुस्ताफा र कार्थिक मेइयाप्पनको नाममा एक–एक विकेट रह्यो।

प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको यूएईले आक्रामक सुरुवात गरेको थियो। कप्तान मोहम्मद वासिमले २७ बलमा तीन छक्का र चार चौकासहित ४१ रन बनाए। सातौँ ओभरमा काबुअ मोरेआको बलमा रिले हेकुरेबाट क्याच आउट हुनुअघि उनले आशिफ खानसँग ४९ रनको साझेदारी गर्न भ्याए।

दुबईमा नेपालविरुद्ध लगातार दुई अर्धशतक बनाएका आशिफको पीएनजीका बलरसामु सीप चलेन। उनी २१ बलमा ११ रन बनाएर ११ औँ ओभरमा पभेलियन फर्किए। उनलाई रिले हेकुरेले आउट गरे।
त्यसपछि ब्याटिङ गरेका आर्यन लक्राले अर्धशतक बनाए। पीएनजीसँगका पछिल्ला दुई खेलमा गरी पाँच रनमा समेटिएका लक्राले यसपालि ७२ बलमा ५१ रन बटुले।

तर मध्यक्रमका तीन ब्याट्सम्यान लगातार सस्तोमा समेटिँदा युएईले लक्ष्य भेट्न सकेन। चुन्दानगापोयिल रिज्वान १९ र रोहन मुस्ताफा ११ रनमा सीमित हुँदा भृत्य अरबिन्द र आयान अफ्जाल खान शून्यमा पभेलियन फर्किए।

प्रकाशित: २६ फागुन २०७९ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + one =