गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल

वार्षिक २० हजार पर्यटकको आगमन हुने व्यवसायीको अपेक्षा

हिमाल प्रेस २६ फागुन २०७९ १५:४४
14
SHARES
गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल

रसुवा– रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ।

हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवम् पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङस्थित क्यांजेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो संख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो।

रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकअनुसार साउनदेखि हालसम्म १२ हजार ६ सय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ।

हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पुर्‍याउने उद्देश्यका साथ ०३५ सालदेखि लाङटाङको क्यांजेनबाट सुरु गरिएको होटल व्यवसाय अहिले पैदलमार्गका विभिन्न स्थानमा सञ्चालनमा छन्।

पहिलो पर्यटन व्यवसायी स्व. रेञ्जेन दोर्जे तामाङ ज्यांवाले चौँरी गोठबाट होटल तथा लज शुभारम्भ गरेको स्थानीय लाङटाङवासीले बताए।

साउनदेखि माघ मसान्तसम्म सार्क राष्ट्रका २ सय ४५ एवम् अन्य देशका ४ हजार ७ सय ५ जनासमेत गरी ४ हजार ९ सय ५० जनाले निकुञ्जको हिमाली क्षेत्रमा भ्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

उनका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकको प्रवेश शुल्कका साथै अन्य गतिविधिबाट कूल १ करोड ८० लाख २० हजार ६ सय ६४ रुपैयाँ आम्दानी भएको छ।

गत आवमा १ करोड ७५ लाख २३ हजार ६ सय १४ संकलन गरेको निकुञ्जले यस वर्षको ७ महिनाकै अवधिमा उल्लेखनीय राजस्व वृद्धि गर्न सफल भएको निकुञ्जका वन प्राविधिक सुनिल राउतले जानकारी दिए।

०७२ सालको भूकम्पपछि फाट्टफुट्ट आगमन सुरु भएको आन्तरिक पर्यटकको संख्या हिजोआज निकै वृद्धि भएको र यो हिसाबले बढ्ने हो भने आगामी दिनमा वार्षिक २० हजार भन्दा बढीको आगमन हुने पर्यटन व्यवसायीले अपेक्षा गरेका छन्।

पर्यटकका लागि गुणस्तरीय बासस्थान मिलाउन उत्तरी रसुवाका विभिन्न स्थानमा साना ठूला ३ सयभन्दा बढी पर्यटकीय होटल सञ्चालन भइरहेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले बताए।

यस्तै आकाश मार्गबाट हिमाली सम्पदाको अवलोकन र पवित्र तीर्थ गोसाइँकुण्डको स्नानका लागि हेलिकप्टर प्रयोग गर्ने यात्रुको संख्यासमेत क्रमशः बढ्न थालेको छ।

हेलिकप्टरको उडान भर्ने प्रायः सबै एयरलाइन्सले सेवा दिने गरेका कारण पवित्र तीर्थमा ज्येष्ठ नागरिकलाई लगेर स्नान र पूजाआजा गराउन सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

हेलिकप्टर कम्पनीले उडान भरेबापत कम्पनीको आयवृद्धि हुनाका साथै राज्यकोषमा अवतरण शुल्कबापत राजस्वसमेत दाखिला हुँदै आएको छ।

विभिन्न ९ वटा यात्रुवाहक हेलिकप्टर कम्पनीले काठमाडौँ-गोसाइँकुण्डको उडान-अवतरण शुल्कबापत ९ लाख ६७ हजार ६ सय ५० वर्ष राज्यकोषमा दाखिला गरिसकेको निकुञ्ज कार्यालयले जनाएको छ।

साउनदेखि पुस मसान्तसम्मको अवतरण शुल्कबापत ५ वटा कम्पनीबाट २ लाख ५२ हजार राजस्व दाखिला भइसकेको र राजस्व दाखिला नगर्ने कम्पनीलाई भने ताकेता गरिहेको जनाइएको छ। -राससको सहयोगमा

प्रकाशित: २६ फागुन २०७९ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =