राष्ट्रपति निर्वाचनमा कति खस्यो मत? कोको उपस्थित भएनन्?

हिमाल प्रेस २५ फागुन २०७९ १५:५४
10
SHARES
राष्ट्रपति निर्वाचनमा कति खस्यो मत? कोको उपस्थित भएनन्? राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्बाङ। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि बिहीबार मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरेका छन्। संघीय संसद्का ३३१ सांसदमध्ये ३१३ ले मतदान गरेका छन्। राप्रपाका १४ जना सांसद मतदानमा अनुपस्थित भए। नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन्।

माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका लागि चीन र भारतमा छन्।  एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन्। प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी नभएको आयोगले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार केहीबेरमा मतगणना सुरु हुनेछ।  राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्बाङ उम्मेदवार छन्।

मतदान सकिएसँगै दुवै उम्मेदवारले मतगणनाका लागि प्रतिनिधि तोकेका छन्। पौडेलले कांग्रेसका प्रमुख सचेतकलाई प्रतिनिधि तोकेका छन् भने नेम्बाङले महेश बर्तौलालाई तोकेका छन्। मतगणनामा एकएक जना प्रतिनिधिमात्रै बस्न पाउनेछन्।

निर्वाचित उम्मेदवारलाई आजै प्रमाणपत्र दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मान्यता दिने, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति पनि भएको छ। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भएको हो।

प्रकाशित: २५ फागुन २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 13 =