रोकिएन मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपबाट चुहावट

हिमाल प्रेस २४ फागुन २०७९ १५:५०
4
SHARES
रोकिएन मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपबाट चुहावट मेलम्ची खानेपानी वितरणका क्रममा पाइप फुटेपछि जलमग्न बनेको काठमाडौँको सडक। फाइल तस्बिर।

काठमाडौँ- मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपबाट चुहावट भएको पाइएको छ। पछिल्लो एक दशकयता बिच्छाइएका नयाँ पाइपबाट अत्यधिक चुहावट भएको पाइएको हो।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उक्त जानकारी दिएको छ। निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र मात्रै एक हजार १० किमी पाइप बिच्छाएको थियो। नयाँ पाइपमा अरु निकायले पनि काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए।

उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए। ‘पुरानो पाइपमा त चुहावट स्वभाविक पनि मान्न सकिएला,’ उनले भने, ‘नयाँ पाइपमा पनि चुहावटको समस्या पाइएका छ।’

निर्देशनालयले यसअघि बिच्छाइएको पाइपको परीक्षण गरिरहेको छ। नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभेटिए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ,’ उनले भने।

नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ। उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ।

पहिले कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको निर्देशनालयका अधिकारीहरू बताउँछन्। नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ। मेलम्चीको पानी वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ। रासस

प्रकाशित: २४ फागुन २०७९ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =