‘उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना’

हिमाल प्रेस २३ फागुन २०७९ २०:३६
2
SHARE
‘उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना’

काठमाडौँ- खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना विस्तार हुने अर्थतन्त्रका जानकार एवं अर्थक्षेत्रका विज्ञहरूले बताएका छन्। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले मंगलबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरूले हाल विश्वमा सतप्रतिशत आत्मनिर्भरता असम्भव रहेकाले खुला व्यापारको विकल्प नरहेको बताएका हुन्।

नेपालले विश्व व्यापार संगठनमा प्रवेश गरेको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति तय गरेर कार्यान्वयन गर्नुपर्ने विज्ञहरूले औंल्याए।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, ब्याङ्लोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेसनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमण्यमले व्यापारमा खुलापनले आफैँमा अवसर ल्याउने बताए। ‘यसले प्रतिस्पर्धी क्षमताको विकास र प्रविधिको प्रयोगले गुणस्तरीय उत्पादन बढाउने अवसर दिन्छ,’ उनले भने।

नेपालले आफ्नै स्थानीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड उनले जोड दिए। ‘कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ। स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ,’ उनले भने, ‘व्यापार प्रणालीमा सुधारसँगै सूचनाप्रविधिको प्रयोगले उपलब्धि हासिल हुनसक्छन्।’
भारत सरकारका पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा हुने थोरै नियमन तथा उदारले अर्थतन्त्रले लाभ पाउने बताए। ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,’ उनले भने, ‘अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव रहेकाले खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि सम्भव छैन।’

काठमाडाैँ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए।
नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता हात लागेको भन्दै उनले असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने विश्वास लिइएको बताए। ‘विश्वविद्यालयका रूपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ। अझै नयाँ युगको आवश्यकताअनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ,’ उनले भने।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकाले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने औंल्याए। रासस

प्रकाशित: २३ फागुन २०७९ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =