एएफआई बैठक काठमाडौँमा सुरु, ४१ देशका केन्द्रीय बैंक सहभागी

हिमाल प्रेस २३ फागुन २०७९ १६:३१
4
SHARES
एएफआई बैठक काठमाडौँमा सुरु, ४१ देशका केन्द्रीय बैंक सहभागी

काठमाडौँ- वित्तीय प्रवर्द्धन गर्ने संस्था (एएफआई)का दुई वटा बैठक काठमाडौँमा सुरु भएका छन्। नेपाल राष्ट्र बैंक र एएफआईको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएका बैठकमा सहभागितामूलक ग्रीन फाइनान्स र साना तथा मझौला उद्यमसम्बन्धी छलफल गरिनेछ।

फागुन २६ गतेसम्म चल्ने बैठकमा ४१ देशका केन्द्रीय बैंकको सहभागिता छ। त्यस्तै वित्तीय क्षेत्रका अन्य नियामक निकायको पनि प्रतिनिधित्व छ। बैठकको उद्घाटनका क्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले जलवायु परिवर्तनका कारण उदीयमान र विकासोन्मुख मुलुकको सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र वित्तीय स्थायित्वमा जोखिम देखिएको बताइन्।

सोको न्यूनीकरणका लागि नीतिगत व्यवस्था सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताइन्। ग्रीन फाइनान्स प्रवर्द्धनका लागि नेपाल सरकार र राष्ट्र बैंकबाट चालिएका कदमबारे उनले जानकारी गराइन्।

ग्रीन फाइनान्स प्रवर्द्धनका लागि पछिल्ला कानुनी र नीतिगत व्यवस्थासम्बन्धी पनि कामु गभर्नर ढुंगानाले जानकारी गराइन्। त्यस्तै नेपालमा साना तथा मझौला व्यवसायको प्रवर्द्धन र वित्तीय स्रोतको पहुँचका लागि राष्ट्र बैंकबाट भएका प्रयासबारे पनि उनले बैठकमा जानकारी गराइन्।

ग्रीन फाइनान्सका लागि एएफआईले उपलब्ध गराएको अनुदान र प्राविधिक सहायताप्रति पनि उनले अभार व्यक्त गरिन्। साथै, नेपालमा वित्तीय समावेशीकरणको नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा पनि एएफआईबाट उल्लेख्य सहयोग प्राप्त भएको उनको भनाइ थियो।

त्यस्तै एएफआईका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिगले विकासोन्मुख देशमा रोजगारी सिर्जना र जीविकोपार्जन सुधारमा साना तथा मझौला उद्यमको विशिष्ट योगदान रहेको बताए। साना तथा मझौला उद्यम क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो।

एएफआईका सदस्य संस्थाहरूबीच नीतिगत सहकार्य, प्राविधिक सहायता आदानप्रदान र क्षमता विकास अभिवृद्धिमा उक्त बैठक फलदायी रहने उनले बताए। इन्क्लुसिभ ग्रीन फाइनान्स (आईजीएफ)को बैठकमा वित्तीय समावेशीकरणका साथै जलवायु परिवर्तनका कारण सिर्जित वातावरणीय र सामाजिक असरलगायत विषयमा छलफल हुनेछ।

त्यस्तै स्मल एण्ड मेडियम इन्टरप्राइजेज फाइनान्स (एसएमईएफ)को बैठकमा विश्व अर्थतन्त्रमा साना तथा मझौला व्यवसायको योगदान, लैंगिक समानता र यस क्षेत्रका विद्यमान चुनौतीबारे अन्तरक्रिया हुनेछ।

दुई बैठकमध्ये आईजीएफको अध्यक्षता सेन्ट्रल बैंक अफ नाइजेरियाका उपनिर्देशक डा. पल ओलुक्पी र एसएमईएपको अध्यक्षता बैंक अफ नामिबियाका निर्देशक डा. एमा हाइयाम्बोले गर्ने छन्।

जलवायु परिवर्तनका कारण सिर्जित असहज परिस्थितिलाई सम्बोधन गर्दै ग्रीन फाइनान्सको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१९ मा एएफआई अन्तर्गत आईजीएफ गठन गरिएको थियो।

यसैगरी साना तथा मझौला उद्यमको प्रवर्द्धनमार्फत आर्थिक वृद्धि, दिगो विकास, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले सन् २०१३ देखि एसएमईएफ क्रियाशील बनाइएको हो।

प्रकाशित: २३ फागुन २०७९ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =