लोप हुँदै भक्तपुरको परम्परागत होली शैली

भीमसेको लिंग दर्शन गरेमा राम्रो हुने र व्यापार बढ्ने विश्‍वास

हिमाल प्रेस २२ फागुन २०७९ २१:५०
20
SHARES
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली

भक्तपुर– ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’अर्थात् ‘भीमसेनको लिंगले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरू अहिले लोपोन्मुख अवस्थामा पुगेका छन्।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरूले यस्ता गीतहरू गाएर होलीको आगमनसँगै बिदाइ गर्दथे। अहिले कतिपय स्थानीयवासीलाई त फागुसँग सम्बन्धित दाफा भजनका यस्ता गीतहरू पनि छन् भन्ने हेक्का छैन।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको ३ हात लामो ३० इन्च मोटो काठबाट बनेको लिंगलाई ब्रह्मायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रह्मायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिरवरिपरि रहेको घर र पसलहरूमा घुमाउने प्रचलन छ।

यसरी घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुन्ड्याउने परम्परा रहे पनि लिंगलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदैछ।

नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू अर्थात् लिंग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ। लिंगलाई केही वर्ष काँधमा नबोकी सवारी साधनमा राखेर घुमाए पनि अहिले भने वर्षौंदेखिको परम्परा लोप हुने अवस्थामा पुगेको छ।

‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात् ‘झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ’ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वका रूपमा पनि यो पर्वलाई लिने गरिन्छ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात् ‘अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ।

होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने उहिलेको प्रचलन अहिले लोप भइसकेको छ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिंग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ। सात दिनसम्म लिंग र योनीको पूजा एवम् दर्शन पनि स्थानीयवासीले गर्ने गरेका छन्।

काठको लिंगलाई भीमसेनको लिंग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपदीको योनीका रूपमा लिने गरिन्छ। भीमसेन र द्रौपदीको यौन सम्बन्धका रूपमा राखिएको लिंग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रूपमा नभई सांस्कृतिक महत्त्वका रूपमा संरक्षण गर्दै आएका छन्।

पाटीमा झुन्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमका रूपमा लिइन्छ। विगतमा भीमसेन पाटीको बाहिर नै झुन्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलालाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दिरमा झुन्ड्याउने गरेको हो।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिंग हल्लाउने गर्छन्। एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनीमा भीमसेनको लिंग घँचेटेर ढोग्ने गर्छन्। काठको लिंगको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ।

यहाँ दर्शन गर्न आउनेले लिंग र योनीको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकका रूपमा लिन्छन्। यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको छ।

यसलाई हेर्दा अश्लीलता प्रदर्शन गरेको जस्तो देखिए पनि भक्तपुरका बासिन्दा भने यसलाई धार्मिक मान्यताका रूपमा लिँदै आएका छन्।

सोमबार बिहानै भीमसेन र काठको लिंग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेको लिंग दर्शन गरेमा राम्रो हुने र व्यापार बढ्ने विश्वास रहेको बताए।

यो लिंगको दर्शन गर्न को महिला, को पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन बिहान यहाँ स्थानीयवासी आउने गर्दछन्। लिंगको दर्शन गरेर भेटी चढाउने गरेका छन्।

भक्तपुरका इतिहासविद् एवम् संस्कृतविद्डा.पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वका रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन्।

यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ भन्दै उनले वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतीकका रूपमा होली पर्व मनाउँदै आएको उन बताउँछन्।

‘भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाद नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनु हुन्न,’ उनले भने।

मन्दिरमा झुन्ड्याइएको काठको लिंग भीमसेनको प्रतीकका रूपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए।

यो पुरुष शक्तिको प्रतीकका रूपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार वर्षौँदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिंग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उनी बताउँछन्।

धार्मिक र इतिहासका प्रत्येक प्रमाणले यो बलात्कारीको लिंग होइन भीमसेनको प्रतीकका रूपमा राखिएको हो भन्ने पुष्टि गर्ने आधार धेरै रहेको भन्दै उनले वर्षौँदेखिको मान्यतालाई मास्ने प्रयास गर्न नहुने उनले बताए।

सांकेतिक रूपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेन र द्रौपदीको यौन समागमसँग सम्बन्धित रहेको उनको भनाइ छ।

चीर स्वायगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ।

यसलाई भीमसेनको प्रतीक मानिएकाले नै व्यापारीहरूले यसको दर्शन गर्ने परम्परा रहँदै आएको उनको भनाइ छ। व्यापारीले भीमसेनको पूजा गर्ने स्मरण गराउँदै उनले काठको लिंगलाई भीमसेनकै रूपमा दर्शन गर्ने र यसो गर्दा व्यापार बढ्ने पुरानो मान्यता अझै रहेको उनको भनाइ छ।

यहाँका बासिन्दाको धार्मिक आस्थामै ठेस पुग्ने गरी हचुवाको भरमा बलात्कारीको लिंग भनेर प्रचार गरिनु, धर्म संस्कृति र परम्परा मास्न खोज्नु गलत भएको इतिहास एवम् संस्कृतिविद् डा. श्रेष्ठ बताउँछन्।

पुरुष मात्र नभई यसको अवलोकन एवम् दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरूले धार्मिक विश्वासकै आधारमा झुन्ड्याएको लिंगलाई हल्लाउने गर्दछन्।

फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिरअगाडिको भीमसेनको मन्दिरबाट लिंग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ। त्यसपछि भने होली समाप्त हुने गर्दछ।

यसरी मन्दिरबाट खोलासम्म लिंग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेको स्थानीयवासी बताउँछन्।

मल्लकालीन समयमा ने.सं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीतहरू अझै गाउने गरिएको छ। वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ।

वसन्तऋतुमा मानिसको मात्रै नभई चराचुरुंगी र पशुपंक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। -राससको सहयोगमा

प्रकाशित: २२ फागुन २०७९ २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =