महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

हिमाल प्रेस २१ फागुन २०७९ १०:०४
8
SHARES
महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै सांकेतिक तस्बिर।

कञ्चनपुर- पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत आठ करोड रूपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो।

यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका सूचना अधिकारी पियुस चटौतले बताए। उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नति भइरहेको छ। सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताए।

‘१० पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको छ।’

ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्ने कार्य भइरहेको उनको भनाइ छ। गत वर्ष सडक बोर्डबाट राजमार्गको भाँसी सडकखण्ड चौडा गर्ने कार्य गरिएको थियो।

गड्डाचौकी, दैजी, सिसैयालगायत सडकखण्डमा सडक चौडा गर्ने कार्य यसअघि नै गरिएको छ। सडक चौडा गर्ने कार्यका लागि मुमताज कन्ट्रक्सन, जसलिंग जेभी र कल्भर्ट चौडा गर्नका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको छ।

पुराना ठेक्काबाट बचेको रकमबाट पुनःबोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको कार्य अगाडि बढाइँदै आएको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म सडक र कल्भर्ट चौडा गर्ने कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सात वटामा सडक निर्माणको कार्य गरिरहेको छ। ‘जग्गा प्राप्ति नहुँदा एक वटा निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि बढ्न सकेको छैन,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, ‘बाँकी सातमा कार्य अगाडि बढेको छ।’

सडक स्तरोन्नतिको प्रगति हालसम्म १५ प्रतिशतसम्म छ। ‘दुई वर्षभित्रै सडक स्तरोन्नति गरी सक्नुपर्ने गरी ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ,’ उनले भने, ‘सातवटै सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ ।’

सातवटै सडक आठदेखि १० किलोमिटरका छन्।

प्रकाशित: २१ फागुन २०७९ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =