भ्रष्टाचार अन्त्य र सुशासन सरकारको पहिलो प्रथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस १९ फागुन २०७९ २०:२२
6
SHARES
भ्रष्टाचार अन्त्य र सुशासन सरकारको पहिलो प्रथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ फाइल तस्बिर।

दोलखा-उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

मन्त्रालयका सचिवहरूसँग बैठक गरी प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने, दुई महिनामा गर्ने, ६ महिनामा गर्ने कामको पूर्वतयारी पेस गरी सम्पन्न भएपछि प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी गराए।

वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको उनले प्रष्ट पारे।

राष्ट्रको स्वाधीनताका लागि राष्ट्रिय एकता बनाउने, संविधानको रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी परिवर्तनलाई विस्तार गरेर सामाजिक आर्थिक विकासमा परिणत गराउन वर्तमान सरकार लागिपर्ने उनले बताए।

‘देशमा अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन, व्यापार घाटामा छ यसका लागि अब हामीले उत्पादनमा वृद्धि गराएनौं भने आर्थिक मन्दी मात्र नभई जीवनयापनमा समेत समस्या सृजना हुनेछ,’ उनले भने,’संघीय, प्रदेश र स्थानीय सरकारले जनमैत्री समयसापेक्ष उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक भइसकेको छ।’

कोभिडपछि व्यापार-व्यवसाय अझै लयमा नआएको र व्यापार-व्यवसाय लयमा फर्काई आर्थिक चहपहल बढाउन महोत्सव गरिरहेको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए।

०७६ यता कोभिड महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थितिलाई लयमा फर्काई आर्थिक चहलपहल बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए।

महोत्सव भव्य रुपमा प्रभावकारी बनाउने योजना रहेको समेत उनले बताए। महोत्सवमा जिल्लाका विभिन्न जातजातिहरूको प्रतियोगितात्मक झाँकीहरू, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति, आर्थिक, कृषि, पशु, पर्यटन र जिल्लामा जलविद्युत्को सम्भावनाबारे बहस छलफल सुरु गरिएको छ।

प्रकाशित: १९ फागुन २०७९ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =