स्ववियु निर्वाचन : नेविसंघका दुई पक्षबीच कुटाकुट

हिमाल प्रेस १९ फागुन २०७९ १६:१९
8
SHARES
स्ववियु निर्वाचन : नेविसंघका दुई पक्षबीच कुटाकुट

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई पक्षबीच कुटाकुट भएको छ।

नेविसंघले त्रिवि केन्द्रीय क्याम्पसमा पठाएको प्रतिनिधिको आधिकारिकताको विषयमा विवाद भएपछि संस्थापन पक्ष र इतरपक्षका विद्यार्थीबीच कुटाकुट भएको हो।

प्रतिनिधिको आधिकारिकताको विषयलाई लिएर भएको विवादमा शिव रिमालमाथि अज्ञात समूहले कुटपिट गरेको नेविसंघले जनाएको छ। रिमाल नेविसंघका पूर्व कोषाध्यक्षसमेत हुन्।

नेविसंघका सभापति दुजाङ शेर्पाले त्रिवि केन्द्रीय क्याम्पसका लागि पदम भट्टराईलाई प्रतिनिधि तोकेका थिए। तर, इतर पक्षले भने त्यहाँको प्रतिनिधिका रूपमा प्रविण कैनीलाई जिम्मेवारी दिएपछि दुई पक्षबीचमा भएको विवाद हिंसात्मक बनेको हो।

त्रिवि केन्द्रीय क्याम्पस नेविसंघका विद्यार्थीले संस्थापन पक्षका विद्यार्थी समूहले इतरपक्षमाथि हातपात गरेको आरोप लगाएका छन्। प्रतिनिधिको विषयमा विवाद भएपछि पुरन रोकायालाई नेविसंघले प्रतिनिधि तोकेको छ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा त्रिविमा सभापतिको उम्मेदवारका आकांक्षी बढेसँगै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेविसंघको संस्थापन पक्ष र इतर पक्षबीच विवाद छ।

इतर पक्षले स्ववियु निर्वाचनका लागि उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि चयन गरेको थियो। उनीहरूले संस्थापन पक्षको प्रतिनिधिलाई मान्यता नदिने बताएका छन्।

त्रिविले केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा भाग लिने संगठनको नाम दर्ता भएको छ। निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। स्ववियु निर्वाचन चैत ५ गते हुनेछ।

प्रकाशित: १९ फागुन २०७९ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =