न्यायिक समिति सम्मेलनमा आउन सबै पालिकालाई काठमाडौँ महानगरको निम्तो

हिमाल प्रेस १८ फागुन २०७९ २१:१०
20
SHARES
न्यायिक समिति सम्मेलनमा आउन सबै पालिकालाई काठमाडौँ महानगरको निम्तो

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ७ सय ५३ वटै पालिकाका प्रतिनिधिको उपस्थितिमा ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ। महानगरपालिकाले यही चैत १५ र १६ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा उक्त सम्मेलनको आयोजना गर्ने भएको हो।

सो सम्मेलनमा सहभागिताका लागि महानगरपालिकाले ७ सय ५३ वटै पालिकालाई निमन्त्रणा पत्र पठाएको उपमेयर एवम् न्यायिक समिति संयोजक सुनिता डंगोलले जानकारी दिइन्।

‘सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा पत्र पठाएका छौँ,’ उनले भनिन्, ‘पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्य मध्येबाट सहभागिता जनाउन अपिल गरेका छौँ।’

सम्मेलनमा न्यायिक समितिसँग सम्बन्धित कुरा मात्रै हुने भन्दै डंगोलले सम्मेलन सबै पालिकाले अहिलेसम्म गरेको असल अभ्यासको आदन-प्रदानका लागि प्रभावकारी हुने अपेक्षा गरेको बताइन्।

‘सम्मेलनमा न्यायिक समितिको अवधारणा, कानुनमा भएको व्यवस्था, समितिको क्षेत्राधिकार, हालको प्रचलन, स्थानीय विवादको समाधानमा मेलमिलापको प्रक्रिया, निर्णय प्रक्रिया, मेलमिलाप तथा निर्णय कार्यान्वयन आदिका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छौँ,’उपमेयर डंगोलले भनिन्,‘सम्मेलनबाट न्यायिक समितिको राष्ट्रिय, प्रादेशिक र जिल्लास्तरीय सञ्जालको विकास गरी स्थानीय विवाद निरुपण गर्न तथा न्यायको स्थानीयकरण गर्नसमेत सफलता मिल्ने हामीले अपेक्षा गरेका छौँ।’

स्थानीय सरकारले अवलम्बन गरिरहेको न्यायिक प्रणालीलाई अझ प्रभावकारी बनाउन साथै यसका चुनौतीका विषय पनि सम्मेलनमा छलफल गरिने उनले जानकारी दिइन्।

‘हामीले यस्तो सम्मेलनको निरन्तरता होस भन्ने हेतूले पनि यसको आयोजना गरिहेका छौँ। यो पटक काठमाडौँ महानगरपालिकाले गर्छ। अर्को पटक अर्को पालिकाले गरोस् र अनुभव आदन-प्रदान होस् भन्ने छ,’ उनले भनिन्, ‘पहिलो चरणमा हामीले सबै पालिकालाई निमन्त्रणा पत्र पठाएका छौँ। अब दोस्रो चरणमा उपत्यकाका पालिकाका उपमेयरहरूलाई बोलाएर यही विषयमा छलफल गरेर यो सबैको सम्मेलन हो भन्ने सन्देश दिने तयारी गरेका छौँ। छलफलपछि हामी थप कसरी अघि बढ्ने भन्ने प्रभावकारी तयारी गर्ने छौँ।’

न्यायिक समितिसँगै सम्बन्धित भएर न्यायिक समितिबारे जनचेतना प्रवर्द्धन गर्ने उद्देश्यले मह जोडीको सहयोगमा डकुमेन्ट्रीसमेत तयार गर्दै गरेको पनि उनले जानकारी दिइन्।

‘वैशाखको निर्वाचनपछि हामीले कार्यभार सम्हालेको १० महिनामा काठमाडौँ महानगरपालिकाको न्यायिक समितिले गरेको असल अभ्यासबारे पनि सम्मेलनमा जानकारी गराउने तयारी गरेका छौँ,’ उनले भनिन्, ‘नि:शुल्क कानुनी सेवालगायतका विषयमा पनि जानकारी दिने हाम्रो तयारी छ।’

सम्मेलनमा मुलुकभर पालिकाका जनप्रतिनिधि र सम्बन्धित विज्ञ, सरोकारवालासहित करिब १ हजार जनाको सहभागिता रहने अपेक्षा गरेको डंगोलको भनाइ छ।

सम्मेलनको तयारीका लागि महानगरकी उपमेयर डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भइसकेको छ। सम्मेलनले काठमाडौँ विवाद निरुपण घोषणा पत्र २०७९ जारी गर्दै सम्मेलन समापन गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =