बैतडीमा बुडाल मृत्यु प्रकरण : छानबिनमा विश्वास नहुँदा ६ दिनसम्म बुझेनन् शव

हिमाल प्रेस १८ फागुन २०७९ १९:२६
16
SHARES
बैतडीमा बुडाल मृत्यु प्रकरण : छानबिनमा विश्वास नहुँदा ६ दिनसम्म बुझेनन् शव प्रतीकात्मक तस्बिर।

काठमाडौँ- बैतडीमा शंकास्पद रूपमा मृत फेला परेका २६ वर्षीय जीवनसिंह बुडालको मृत भेटिएको ६ दिन भइसक्दा पनि आफन्तहरूले शव बुझ्न मानेका छैनन्। राष्ट्रिय अनुसन्धान विभागको बझाङ कार्यालयमा कार्यरत बुडालको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न नमानेका हुन्।

बुडालसँगै वनभोज गएका जिप चालकसहित १२ जनाको नाममा परिवारका सदस्यले किटानी जाहेरी दिएका छन्। मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। वनभोजस्थल नजिकै चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए। तर कम पानी भएकै ठाउँमा मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका छन्।

जिल्ला अदालतबाट म्याद थपेर १२ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। बुडालसँगै वनभोज गएका गजेन्द्र सिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामु सिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीन सिंह ठगुन्ना, केशव सिंह रावल, दीपेन्द्र सिंह ऐरी, भिम सिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

दशरथचन्द नगरपालिका– १० खडेनी घर भएका बुडाल गत शनिबार दशरथचन्द नगरपालिका–६ शेरामा मृत फेला परेका थिए। छुट्टी मनाउन घर गएको बेला वनभोज गएको समयमा उनको मृत्यु भएको हो।
शनिबार बिहान ११ जना साथीहरूसँगै वनभोज गएका बुडाल वनभोजस्थलभन्दा करिब एक किलोमिटर पर खोलामा राति ९ बजे मृत फेला परेका थिए। हिमालप्रेससँग कुरा गर्दै मृतकका दाई गोविन्द सिंह बुडालले भाईको मृत्यु शंकास्पद भएको बताए। ‘१३ जना पिकनिक गएकामध्ये १२ जना मात्र फिर्ता आए,’ उनले भने, ‘सोधपुछ गर्दा डुबेर मरेको भन्छन्। पोस्टमार्टम रिपोटमा डुबेको मृतकले पानी खाएको देखिँदैन।’

शव वनभोजस्थल भएको ठाउँदेखि १–२ किलोमिटर टाढा भेटिएको उनको भनाइ छ। घटनाको स्पष्ट छानबिन नभएसम्म शव नबुझ्ने उनले बताए। शव अहिले बैतडी जिल्ला अस्पतालमा राखिएको छ।

प्रहरीले रिपोर्ट आउन केही दिन लागेको भन्दै आलटाल गरिरहेको परिवारजनको आरोप छ। जिल्ला प्रशासन कार्यालयले भने निष्पक्ष छानबिन गर्न पहल गर्ने बताएको छ। मृतक बुडालका ८ वर्षीया छोरी, ६ वर्षीय छोरा र श्रीमती छन्।

प्रकाशित: १८ फागुन २०७९ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =