उमेर समूहको विश्वकपमा फर्कियो नेपाल [भिडियोसहित]

हिमाल प्रेस १८ फागुन २०७९ १८:३७
44
SHARES
उमेर समूहको विश्वकपमा फर्कियो नेपाल [भिडियोसहित]

काठमाडौँ- नेपाल १९ वर्षमुनिको क्रिकेट विश्वकपमा फर्किएको छ। एसियातर्फको छनोटमा आफ्नो अन्तिम खेलमा बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ रनले पराजित गरेपछि नेपालले अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा स्थान पक्का गरेको हो।

यूएईको अज्मानस्थित इडन गार्डेन ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल तयार पारेको थियो। मध्यम लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १८४ रनमा अलआउट भयो।

नेपालको जितमा दिपेश कँडेलले नायक साबित भए। उनले ४८ औँ ओभरमा तीन विकेट लिएपछि यूएई १८४ रनमा अलआउट भएको थियो। ४७ ओभर सकिँदा यूएई १८१/७ को स्थितिमा थियो। १८ बलमा ११ रन ल्याउँदै नेपाललाई हराउने यूएईको लक्ष्य दिपेशले सफल हुन दिएनन्।

नेपाल सन् २०१६ यता पहिलो पटक विश्वकपमा छनोट भएको हो। त्यसबेला नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो। तर त्यसपछिका तीन संस्करणमा नेपाल छनोट हुन सकेको थिएन। विश्वकप २०१८ को छनोटमा नेपाल अफगानिस्तानसँग पछि परेको थियो।

नेपाल २०२० विश्वकपको नजिक पुगेको थियो। तर मलेसियामा भएको छनोटमा वर्षा खलनायक साबित भएपछि नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन। एसियाली छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल डीएल पद्धतिका आधारमा संयुक्त अरब इमिरेट्स यूएई सँग एक रनले पराजित हुन पुग्यो। बाँकी चार खेल जितेको नेपाल छनोट अंक तालिकामा दोस्रो स्थानमा सीमित हुँदा यूएईले विश्वकपमा स्थान पक्का गरेको थियो।

सन् २०२२ विश्वकपका लागि भने छनोट प्रतियोगिता गरिएन। कोभिड महामारीका कारण छनोट प्रतियोगिता नभएपछि अघिल्लो संस्करणको छनोटका आधारमा यूएई वेस्ट इन्डिजले आयोजना गरेको विश्वकपका लागि छानिएको थियो।

यूएईको अज्मानस्थित इडन गार्डेन ओभलमा बिहीबार टस हारेर ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। ओपनरद्वय दीपक बोहरा र अर्जुन कुमाल शून्य र तीन रनमा आउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गरका आकाश त्रिपाठी नौ रनमा सीमित भएका थिए।

कप्तान देव खनालले ४ बलमा ५१ रन बनाएपछि नेपालको इनिङ्स सम्हालिएको थियो। मध्यक्रमका ब्याटिङ गरेका उत्तम रांगु थापा मगर र विशाल विक्रम केसीले ३६ र ३८ रन बटुलेका थिए। बाँकी ब्याट्सम्यानले भने उल्लेखनीय रन बटुल्न सकेनन्।

उता यूएईले भने बलियो सुरुवात गरेको थियो। ओपनर अर्यान सक्सेना र आर्यन्स शर्माले क्रमशः ३४ र ३२ रन बटुलेका थिए। मध्यक्रमका इथान कार्ल डि सुजाले ६६ बलमा ५० रन बनाएपछि यूएईको अत्मविश्वास बढेको थियो। उनी आउट हुँदा युएई ४२.२ ओभरमा १५३ रन बनाएर पाँच विकेटको स्थितिमा थियो।

तर तल्लोक्रमका ब्याट्सम्यान सजिलै आउट भइरहेपछि यूएई जितबाट वञ्चित भयो। यूएईका पछिल्ला चार ब्याट्सम्यानमध्ये हर्ष देशाई सात र हर्षित सेठ चार रनमा आउट भए भने शरित हरिष शेट्ठी र मोनिष गजेश शून्य रनमा पभेलियन फर्किए।

नेपालको जितमा दिपेशले कुल पाँच विकेट हात पारे। १० ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। त्यसैगरी हेमन्त धामी र सुवास भण्डारीले दुई-दुई विकेट हात पारे।

सिंगापुरमाथि ९६ रनको जित दर्ता गर्दै नेपालले यो छनोट प्रतियोगिताको सुरुवात गरेको थियो। दोस्रो खेलमा कुवेतमाथि २४३ रनको विशाल अन्तरको विजय पाएको नेपालले तेस्रो खेलमा हङकङलाई नौ विकेटले पन्छाएको थियो। चौथो खेलमा मलेसियालाई पराजित गर्दा नेपालले एक विकेट पनि गुमाएको थिएन।

घरेलु भूमिमा प्रभावशाली सुरुवात गर्न यूएईले पहिलो खेलमा मलेसियालाई साात विकेटले पन्छाएको थियो। दोस्रो खेलमा हङकङलाई १६३ रनले हराएको यूएईले तेस्रो र चौथो खेलमा सिंगापुर र कुवेतमाथि आठ–आठ विकेटको जित हात पार्याे।

प्रकाशित: १८ फागुन २०७९ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =