सवारीमा शक्तिको तुजुक देखाउँदा छाती दुख्दैन कामरेड?

राजाराम बर्तौला १८ फागुन २०७९ १७:२५
72
SHARES
सवारीमा शक्तिको तुजुक देखाउँदा छाती दुख्दैन कामरेड?

रातिराति घरबाट लुसुक्क भागेर डाँडापारि सुनसान गोठमा या टहरोमा साम्यवादको तालिम लिएको हिजोजस्तै लाग्छ। तालिम लिँदै गर्दा कामरेडहरूले दरिलो मुठी कसेर, हात च्याप्प समातेर दिएको ज्ञान अझै कानमा गुञ्जिरहेछ, ‘मानिसको प्रजाति एउटै हो। मानिस समान हुन्।’

वर्गभेद शासकीय उत्पीडन हो। तलमाथि, ठूलोसानो, जातिभेद आदि सामन्ती संस्कारले सिर्जना गरेका हुन्। यी सामाजिक बनौटको उपज हुन् जो त्याज्य छ। प्रतिक्रियावादी, संशोधनवादी, प्रभुत्ववादी, अधिनायकवादी, विखण्डनवादी सोच, संस्कार र व्यवहार सामाजिक विकृति हुन्। वैज्ञानिक दर्शनमा आधारित मार्क्सवादी सोच र चिन्तन नै समाज सादृश्य, समयसापेक्ष र अनुकूल छ।’

हिजो भनिएका यी कुरा अहिले पनि झलझली याद आउँछन्। ती पोथ्रापोथ्री अहिले कता हराए कुन्नि! त्यसको ‘ह्याङओभर’ भने अहिले पनि छुटेको छैन।

‘जीवनदर्शन बनाउने’ नेताका खोक्रा भाषणलाई ‘सत्यवचन’ मानियो। जीवन यही पाठ र पृष्ठभूमिमा बाँचियो। यसका अगुवा, नेता, त्यसमाथि पनि मार्क्सवादका प्रणेता, ज्ञाता, सिद्धान्तकार, जानकारहरूले दिएको दिव्यज्ञानलाई बुटी सम्झेर खाइयो।

तर सत्तामा पुगेपछि नेताहरू अनौठा बानीबेहोरा देखाएर रमाउँछन्। गरिबका मसिहा भनिने साम्यवादी नेता श्रमिकका वा भूमिहीन गरिबका नेता, महिलाअधिकारका प्रेरक, समानताका उद्घोषकर्ता किन सत्तामा पुगेपछि बदलिन्छन्? किन एकाधिकारवादी, रमणप्रिय हुन पुग्छन?

जनताको पीडामा छाती पोल्नुपर्ने, असहाय र अशक्तको वेदनामा आँसु आउनुपर्नेमा किन उनीहरू आत्मप्रशंसामा रमाउने गर्छन्? बुझिनसक्नु छ। राष्ट्रपतिको सवारीको नाममा किन जनतालाई अनाहकमा सास्ती दिइन्छ? शक्तिको तुजुक देखाइन्छ। आफ्नो कारणले जनताले सास्ती पाएको अनुभूत हुँदासमेत पश्चातापमा दुई शब्द किन अभिव्यक्त गरिन्न?

हामीले ल्याएको राजनीतिक परिवर्तन पछाडिको दर्शन नागरिक सार्वभौमिकता र नागरिक सत्ता हो। राजामहाराजाको शासकीय पद्धति, परिबन्ध र प्रारब्धलाई पछाडि छोडेर नवीनतम सोच र व्यवहारले समानता, सहकारिता, सहभागिता, समावेशिता जस्ता लोकतान्त्रिक मूल्य र मान्यतालाई प्रवर्द्धन गर्दै सामाजिक रूपान्तरणको जागरण हो। संविधानको भाष्यमा जे लेखिएको भएता पनि मूलतः नागरिक शासनको प्रधानता नै यसको मूल चरित्र हो। नागरिकको कल्याण यसको अभीष्ट हो।

राज्यको प्रोटोकललाई पूरै नकार्न सकिँदैन। राज्यको उपस्थिति देखाउन पनि आवश्यक छ। तर शिष्टाचारको घेरालाई जति धेरै कसिलो बनायो,जनताबाट त्यति नै तिरस्कृत भइन्छ भन्ने हेक्का राख्नुपर्छ। न्यूनतम शिष्टाचार नै उचित हुन्छ।

हिजोजस्तै गरिरहने हो भने राजनीतिक तथा सामाजिक परिवर्तनको औचित्य के रह्यो! राजामहाराजाको जस्तै शैली, आचरण र शिष्टाचार कायम राख्ने हो भने परिवर्तनको औचित्य सकिएर जान्छ। जनताले परिवर्तनको अनुभूति शीर्ष नेताहरूको बानीबेहोरा, आचरण र अनुशासनबाट गर्ने हुन्। नेताहरू यसरी राजकीय शिष्टाचार, रवाफ र मोजमस्तीमा रमाउन थाले भने जनताबाट टाढिन्छन्। राजा र राष्ट्रपतिमा के पो फरक रह्यो र! हिजो राजा आफूमा रहेको अधिकार प्रयोग गर्दथे भने अहिले राष्ट्रपति विधि र प्रक्रियाभन्दा बाहिर गएर स्वविवेकीय अधिकार प्रयोग गर्दछन्। भिन्नता के रह्यो?

हिजो राजकीय सवारीमा जसरी सुरक्षाको तामझाम, तडकभडक, लम्बेतान कारकेडमा साइरन बजाउँदै अगाडि र पछाडि कारको लर्को लाग्थ्यो। सडक आवागमन बन्द गरी शक्तिको तुजुक देखाइन्थ्यो ‘प्रोटोकल’को नाममा। ती साइरनमा शासकीय दम्भ र अहंकार झल्किन्थ्यो। सुरक्षा अधिकारीहरूको त्यो रुखो व्यवहार र हप्काइदप्काइ आज फेरि दोहोरिएको छ। नागरिकहरूसँग पुनः रैतीका जस्तो व्यवहार गर्न थालिएको छ। हामी नेपाली कहिल्यै नागरिक भएनौँ। कहिले राजाका रैती त अहिले नवराजाका रैती भएका छौँ।

राज्यको प्रोटोकललाई पूरै नकार्न सकिँदैन। राज्यको उपस्थिति देखाउन पनि आवश्यक छ। तर शिष्टाचारको घेरालाई जति धेरै कसिलो बनायो,जनताबाट त्यति नै तिरस्कृत भइन्छ भन्ने हेक्का राख्नुपर्छ। न्यूनतम शिष्टाचार नै उचित हुन्छ।

हालै राष्ट्रपतिको सवारीको लागि घण्टौँ सडक अवरुद्ध गरी आमजनतालाई कष्ट दिइयो। त्यसमाथि सुरक्षाकर्मीबाट चिकित्सकमाथि भएको दुर्व्यवहारले कुरा झनै बिग्रिएको छ। जनसाधारण राष्ट्रपतिप्रति आक्रोशित छन्।

भीभीआईपीको सवारीमा निश्चित प्रोटोकल हुन्छ। यस्तो प्रोटोकल तयार गरी स्वीकार गर्दा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि र मापदण्डलाई अनुसरण गरिएको हुन्छ। सुरक्षालाई केन्द्रमा राखिएको हुन्छ। स्वदेशी तथा विदेशी सरकार प्रमुख, राज्य प्रमुखलगायत अन्य अतिविशिष्ट पदाधिकारीको कारकेड बनाउने र सुरक्षा घेरा बनाउने काम सुरक्षा निकायको हुन्छ। कसले, कहाँ, कसरी गर्ने भन्ने निश्चित विधि र प्रक्रिया पनि तोकिएको हुन्छ।

राष्ट्रपतिको सवारीमा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरीलाई निलम्बित गर्नु भनेको सार्वजनिक ‘कन्जम्सन’को लागि मात्र हो। उसले आदेशको पालना गरेको मात्र हो। सडकबाट हिँड्न नदिनू भन्ने ठाडो आदेश थियो होला। यहाँ विधि र पद्धतिको कमीकमजोरी छोप्न कारबाहीको शस्त्र प्रयोग गरिएको देखिन्छ। यहाँनिर सवारी सञ्चालनको प्रोटोकलमै त्रुटि छ। हाम्रोजस्तो घण्टौँसम्म बाटो अवरुद्ध गरेर राष्ट्रपतिको सवारी अरू कुनै पनि विकसित मुलुकमा चलाइँदैन।

राष्ट्रपतिलाई दिइने राज्यको सुविधा पनि राजकीय अलंकार नै हो। यस हिसाबले पनि राष्ट्रपतिको सवारी चलाउँदा लामो कारकेड, अगुवापछुवाको लस्करलाई छोटो र छरितो बनाउन सकिन्छ।

जनताबाट निर्वाचित राष्ट्रपतिबाट यस किसिमको व्यवहारको अपेक्षा धेरैलाई थिएन होला। सवारी सञ्चालन गर्ने दायित्व र काम सुरक्षा निकायको हो। तर जसको कारणबाट नागरिकले सास्ती बेहोर्नुपर्‍यो त्यसमा अलिकति पनि संवेदनशील नहुनु दुःखद हो।

सुरक्षाको हिसाबले नेपालको राष्ट्रपति अलंकारिक पद हो। निजले सम्पादन गर्ने कार्य सबै सरकार प्रमुखको सिफारिस र सुझावको आधारमा गरिन्छन्। त्यसो हुँदा राष्ट्रपतिबाट गल्ती गरिँदैन भन्ने मान्यता राखिन्छ। जब कुनै विषयमा पनि आफू जिम्मेवार हुनु पर्दैन, त्यसको सुरक्षा थ्रेट एकदमै न्यून रहन्छ।

राष्ट्रपतिलाई दिइने राज्यको सुविधा पनि राजकीय अलंकार नै हो। यस हिसाबले पनि राष्ट्रपतिको सवारी चलाउँदा लामो कारकेड, अगुवापछुवाको लस्करलाई छोटो र छरितो बनाउन सकिन्छ।

विकसित मुलुकमा भीभीआईपी सवारी चलाउँदा सार्वजनिक सवारीलाई खासै असर नपर्ने गरी ‘स्मार्ट’ तरिकाले सञ्चालन गरिन्छ। जनताले सास्ती भोग्दैनन्। हामीले भोगेको जस्तो समस्या अरू विकसित मुलुकले पार लगाएर आजको अवस्थामा आएका छन्। तिनीहरूको अनुभव र मापदण्ड हाम्रो लागि अनुकरणीय हुन सक्छन्।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनपछि देशले नयाँ राष्ट्र प्रमुख पाउनेछ। अबको राष्ट्रपतिले आगामी दिनमा जनतालाई सास्ती नहुने गरी सवारी प्रोटोकल पुनरावलोकन गर्न ध्यान दिनुपर्छ।

प्रकाशित: १८ फागुन २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =