सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण

हिमाल प्रेस १७ फागुन २०७९ १९:५९
6
SHARES
सृजना कपमा छात्रातर्फ सेमिफाइनल समीकरण

पोखरा– पाँचौं सृजना कपअन्तर्गत छात्रातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ। सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबारदेखि सुरु प्रतियोगितामा अन्तिम चारको टुंगो लागेको हो।

बुधबारको खेलमा साविक विजेता शान्ता मावि, जनप्रिय मावि, कन्या मावि र इन्द्रराज्यलक्ष्मी मावि सेमिफाइनल प्रवेश गरेका हुन्। बाइमा परेको साविक विजेता शान्ता माविले पहिलो दिन गोगन हराउँदै विजयी यात्रा सुनिश्चित गरिसकेको छ।

दोस्रो दिनको खेलमा इन्द्रराज्यलक्ष्मीले तालवाराहीलाई २५-२० र २५-१७ सेटमा हरायो। जनप्रिय माविले भद्रकालीलाई २५-९ र २५-१२ तथा कन्याले गौरीशंकरलाई २५-१९ र २५-२२ सेटमा पाखा लगाउँदै सेमिफाइनल सुनिश्चित गरेका हुन्।

बिहीबार शान्ता र जनप्रियबीच पहिलो र कन्या र इन्द्रराज्यलक्ष्मीबीच दोस्रो सेमीफाइनल हुने रेफ्री संयोजक गोपाल थापाले जनाए। कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगिताअन्तर्गत छात्रातर्फ १५ टिमले भाग लिएका हुन्।

छात्रतर्फ सहभागी ३० टिममध्ये भगवती, भद्रकाली, शान्ता, राष्ट्रिय, मेश्रम वराहले विजयी यात्रा कायम राख्दै क्वारफाइनलमा पुगेका छन्। दोस्रो दिन बुधबारको खेलमा भगवती माविले शारदा माविलाई २५-१७ र २५-११ पराजित गरेको छ। अमरसिद्ध नमुना माविले विन्ध्यवासिनी मावि, वरपाटनलाई २५-२१ र २५-२३ सेटमा पाखा लगायो।

ब्रम्हरूपा माविले लक्ष्मी माविको चुनौती २५-१० र २५-११ मा पन्छाउँदा चन्द्रप्रभा माविले पार्दीलाई २-१ सेटमा हरायो। चन्द्रप्रभा २५-२१, २२-२५ र २७-२५ सेटमा विजयी भएको हो।

शान्ता मावि र कालिका माविबीचको खेलमा कालिकाले जीत निकालेकोमा कालिकाविरुद्ध प्रोटेस्ट परेको थियो। साविक विजेता शान्ता अन्तिम ८ पुगिसकेको छ।

यस्तै भद्रकालीले तालवाराहीलाई सोझो सेटमा २५-१९ र २५-१४ मा हरायो। राष्ट्रिय माविले चन्द्रप्रभालाई २५-१९ र २५-१९ पराजित गर्‍यो।

गोगन माविले सिर्जना माविलाई २५-८ र २५-११ मा पराजित गरेको छ। मेश्रम वराहले अमरसिद्ध नमुना माविलाई २-१ ले हरायो। जसमा २३-२५, २५-१७ र २५-२३ सेट आयो। भगवती माविले अमरसिंह नमुना माविलाई २-१ सेट (२२-२५, २५-१७ र २५-१३) ले हरायो।

फागुन १९ मा हुने फाइनलमा छात्रछात्रा दुवैतर्फ विजेतालाई १-१ लाख, उपविजेतालाई ६०-६० हजार र तृतीय हुने विद्यालयलाई ३५-३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ। उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन्।

प्रकाशित: १७ फागुन २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =