१४ वर्षपछि त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल

विपिन पोखरेल १७ फागुन २०७९ २०:०८
122
SHARES
१४ वर्षपछि त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल

काठमाडौँ- १४ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिएसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा चहलपहल बढेको छ। निर्वाचनमा सभापतिको रूपमा कसलाई अघि सार्ने भनेर विद्यार्थी संगठनहरूले निर्णय नगरे पनि विद्यार्थीले भने आ-आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्।

त्रिवि केन्द्रीय क्याम्पसमा अहिले स्नातकोत्तर तहमा विभिन्न विषयमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। केन्द्रीय क्याम्पस भएकाले पनि सभापतिको उम्मेदवार बन्न विद्यार्थीको आकर्षण छ।

अनेरास्ववियु स्थायी कमिटी सदस्य बम रावलले स्ववियु निर्वाचनको महत्त्व रहेको भन्दै चुनावी सरगर्मी बढेकाे बताए। ‘त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी बढेको छ’ उनले भने, ‘आकांक्षी धेरै हुनुहुन्छ। छिट्टै उम्मेदवारको टुंगो लाग्छ।’

त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्वियुको तर्फबाट केन्द्रीय कमिटी सदस्य प्रसान्त भण्डारी, सिद्धान्त भट्ट, सम्भु भट्ट, प्रकाश विष्ट, रामसिंङ नायक, रमाकान्त केसी लगायतका उम्मेदवार सभापतिको आकांक्षी छन्। नेपाल विद्यार्थी संघको तर्फबाट त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघ त्रिविका नेता विष्णु बडैला, मिलन बस्नेत, राजेशकुमार श्रेष्ठ, श्यामराज ओझा, अनुज कार्की, किशोर भण्डारी, पद्‍मा भुसाललगायत आकांक्षी छन्।

सभापतिको आकांक्षी बडैलाले आफूहरू त्रिवि केन्द्रीय क्याम्पसमा अन्य राजनीतिक दलसँग गठबन्धन गरेर निर्वाचन लड्ने पक्षमा नरहेको बताए। ‘हामीलाई गठबन्धन स्वीकार्य हुँदैन। गठबन्धन गरेर कसैलाई पाखा लगाउन मिल्दैन,’ उनले भने, ‘हामी एक्लै प्रतिस्पर्धा गरेर पनि विजयी हुन सक्छौँ। त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघ हाबी हुन्छ। हामीले अखिल क्रान्तिकारीका साथीहरूलाई पनि गठबन्धन नगर्न भनेका छौँ।’ २०६५ सालयता स्ववियु निर्वाचन नहुँदा आफ्नै संगठनभित्रका विद्यार्थी व्यवस्थापन नभएको अवस्थामा गठबन्धन गर्नु प्रतिउत्पादक सावित हुने बडैलाको बुझाइ छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचनको तयारी अघि बढिसकेको र गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भइरहेकाे बताए। ‘सबै क्याम्पसमा निर्वाचनको तयारी अघि बढिसकेको छ’ उनले भने, ‘नेविसंघ एक्लै चुनाव लड्ने की गठबन्धन गरेर जाने छलफलकै क्रममा छ।’

त्रिवि केन्द्रीय क्याम्पसमा अखिल क्रान्तिकारीको तर्फबाट दिनेश ऐर, विपिन विकलगायतले सभापतिको उम्मेदवारमा आकांक्षा देखाएका छन्। स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल गर्ने सहमति भएको छ।

सहमतिपत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चासिंह र नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले हस्ताक्षर गरेका छन्। यी दुई विद्यार्थी संगठनबीच एउटै घोषणापत्र र एउटै संगठन अर्थात् अखिल क्रान्तिकारीकै नामबाट निर्वाचनमा सहभागी हुने सम्झौता गरिएको छ।

 नियमित स्ववियु निर्वाचन हुन नसकेपछि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार युवाको ठूलो मत राजनीतिक दलको वितृष्णास्वरूप प्रकट भएको निष्कर्ष प्रमुख राजनीतिक दलको थियो। त्यसपछि प्रमुख राजनीतिक दलले स्ववियू निर्वाचन गर्न चासो देखाएपछि सम्बद्ध विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनलाई स्ववियु निर्वाचनको मिति घोषणा गर्न दबाब दिएका थिए।

यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूबाट टिकाराम भण्डारी र समिर गौतम सभापतिका आकांक्षी छन्। त्रिवि केन्द्रीय क्याम्पसमा अन्य विद्यार्थी संगठनसँग गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूकी महासचिव आरति लामाले बताइन्।

उम्मेदवारको उमेरको हदबन्दीको समस्या नभएको, एमफील र पीएचडीका विद्यार्थीले मतदान गर्न नपाउने सहमति भएको छ। स्ववियु निर्वाचनमा ३३ प्रतिशत महिला कोटाको सुनिश्चितता विषयमा विद्यार्थी संगठनले छलफल चलाए पनि यसपटक सम्भव नभएको महासचिव लामाले बताइन्। ‘अर्को पटकको स्ववियु निर्वाचनमा भने महिला कोटा ३३ प्रतिशत पुर्‍याउने विषयमा सहमति हुन्छ,’ उनले भनिन्।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले स्ववियु विद्यार्थीको हकहितमा बोल्ने संस्था भएको भन्दै यसलाई चुस्त बनाउन आवश्यक रहेको बताए। ‘विद्यार्थीको हकहितका लागि लड्न सक्ने संस्थाको रूपमा स्ववियु निर्वाचनको आवश्यकता छ,’ उनले भने, ‘विश्वविद्यालयको गलत कदमको विषयमा आवाज उठाउने र दबाब दिने संस्था आवश्यक छ।’

नियमित स्ववियु निर्वाचन हुन नसकेपछि गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार युवाको ठूलो मत राजनीतिक दलको वितृष्णास्वरूप प्रकट भएको निष्कर्ष प्रमुख राजनीतिक दलको थियो।

त्यसपछि प्रमुख राजनीतिक दलले स्ववियू निर्वाचन गर्न चासो देखाएपछि सम्बद्ध विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनलाई स्ववियु निर्वाचनको मिति घोषणा गर्न दबाब दिएका थिए। त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पस छन्।

उम्मेदवार बन्न यस्तो छ व्यवस्था

मनोनयन दर्ता गर्ने अन्तिम दिनसम्म २८ वर्ष पूरा नभएका विद्यार्थीले मात्रै स्ववियुमा उम्मेदवार बन्न पाउनेछन्। स्ववियुमा सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिवलगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ।

निर्वाचनमा विद्यार्थी आफू संगठित भएर वा व्यक्तिगत रूपमा पनि उम्मेदवारी दिन पाउँछन्। दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी भएमा १५ जना सदस्यको स्ववियु कार्यसमिति बनाउने व्यवस्था छ।

त्यस्तै एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ सदस्यीय र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति बनाउन सकिने व्यवस्था छ। स्ववियुको संरक्षक क्याम्पस प्रमुख रहने व्यवस्था छ।

राजा महेन्द्रले राजनीतिक पार्टी र संगठनमा प्रतिबन्ध लगाएपछि विद्यार्थी युनियन ऐन संशोधन गरी २०३६ सालमा स्ववियु गठन गरेका थिए। २०३६ सालमा नेकपा (माले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौं) र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रतिस्पर्धा गरेका थिए। नेविसंघका यज्ञप्रसाद अधिकारी स्ववियु सभापतिमा निर्वाचित भए।

विद्यार्थीहरूको हकहित संरक्षण, सम्बर्द्धनका लागि सक्रिय रहने, विद्यार्थीको बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने, क्याम्पसभित्रको पठनपाठनका लागि उपयुक्त वातावरण बनाउने स्ववियुकाे उद्देश्य हाे।

१४ वर्षपछि निर्वाचनको तयारी

नेता उत्पादन केन्द्रको रूपमा मानिएको स्ववियु निर्वाचन दुई-दुई वर्षमा गर्ने प्रावधान छ। तर त्रिवि केन्द्रीय क्याम्पसमा २०६५ चैतयता स्ववियू निर्वाचन हुन सकेको छैन। स्ववियु निर्वाचन हुन नसकेपछि निर्वाचनको माग गर्दै राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले त्रिवि प्रशासनलाई दबाब दिँदै आएका थिए।

२०१८ सालदेखि विद्यार्थी युनियन र २०३६ सालपछि स्वतन्त्र विद्यार्थी युनियन गठन गरिएको थियो। पूर्वसभामुख दमननाथ ढुंगानाका अनुसार २०१८ सालमा तीर्थनाथ गोगोलको अध्यक्षतामा विद्यार्थी युनियनको पहिलो कार्यसमिति गठन भएको थियो।

राजा महेन्द्रले राजनीतिक पार्टी र संगठनमा प्रतिबन्ध लगाएपछि विद्यार्थी युनियन ऐन संशोधन गरी २०३६ सालमा स्ववियु गठन गरेका थिए। २०३६ सालमा नेकपा (माले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौं) र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रतिस्पर्धा गरेका थिए। नेविसंघका यज्ञप्रसाद अधिकारी स्ववियु सभापतिमा निर्वाचित भए।

त्यसयता निरन्तर भएको स्ववियु निर्वाचनमा २०६५ सालमा एनेकपा (माओवादी) को विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का हिमाल शर्मा सभापतिमा निर्वाचित भएका थिए। २०६५ यता २०७३ फागुन १४ मा स्ववियु निर्वाचनको मिति घोषणा भए पनि निर्वाचन हुन सकेन। तर साेही वर्ष चैत पाँचमा विभिन्न २६ क्याम्पसमा निर्वाचन भयो।

त्यसयता राजनीतिक दल र विद्यार्थी संगठनले खासै चासो देखाएनन्। विश्वविद्यालय पनि स्ववियु निर्वाचनको पक्षमा देखिएन। २०७३ मा निर्वाचित स्ववियुको थपिएको म्याद पनि सकिएको छ। स्ववियुको म्याद ६-६ महिना गरी दुई पटक थप गर्न सकिने व्यवस्था छ। निर्वाचन हुन नसकेका क्याम्पसमा २०७४ मा निर्वाचन गर्ने त्रिविको प्रयास असफल भयो।

कार्यकारी परिषद्ले पुनः २०७६ फागुन १४ मा चुनावको मिति घोषणा गरेको थियो। तर फागुन ५ मा विशेष कारण देखाउँदै त्रिविले निर्वाचन स्थगित गर्‍यो। त्यसबेला राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा चुनाव अनिश्चित बनेको विश्वविद्यालय पदाधिकारीको आरोप छ। विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयले नचाहेको आरोप लगाउँदै आएका छन्।

तयारी अन्तिम चरणमा

त्रिविले आगामी चैत ५ का लागि स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक यसअघि नै गरिसकेको छ। स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थीहरू उत्साहित छन्। स्ववियु निर्वाचन नियमित नहुँदा विश्वविद्यालयसभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन।

कार्यकारी परिषद्ले विद्यार्थीका २२ संगठनको छलफलबाट निर्देशिका तयार गरेर कार्यान्वयनमा ल्याइसकेकाे छ। निर्देशिका अनुसार निर्वाचन मिति घोषणा गरेसँगै क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन गराउने प्रक्रिया अघि बढाइसकेको छ।

निर्वाचनको तयारीस्वरूप क्याम्पसमा निर्वाचन कमिटीहरू समेत गठन भइसकेका छन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियुको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नेगरी तयारी भइरहेको बताए। ‘स्ववियु निर्वाचनको तयारीस्वरूप कमिटी गठन गर्ने, निर्वाचन आचारसंहिता लागू गर्नेसम्मका काम अघि बढिसकेका छन्,’ उनले भने, ‘स्ववियु चुनावका लागि प्रत्येक क्याम्पसमा स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्नामा रोक लगाइएको छ। फागुन २१ गते मतदाता नामावली प्रकाशन हुनेछ।’

त्रिविले स्ववियु निर्वाचनका लागि केन्द्रीय सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवालासँग छलफल गर्दै सुरक्षाको प्रत्याभुति गरिसकेको छ। स्नातक तह प्रथम वर्षबाहेक अन्य तहमा १९ गतेसम्म भर्ना भएका विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न पाउने विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।

भोट विद्युतीय मेसिनमार्फत्

स्थानीय तह र प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा समेत उपयोगमा नआएको विद्युतीय भोटिङ मेसिन विद्यार्थीको निर्वाचनमा प्रयोग हुने त्रिविले जानकारी दिएको छ। राजनीतिक दलले विद्युतीय भोटलाई विश्वास नगरे पनि भविष्यमा राजनीति गर्ने सोचले त्रिविमा विद्यार्थीको तर्फबाट नेतृत्व गर्न अग्रसर भएकाले विद्युतीय भोटिङलाई स्वीकार गरेका छन्।

अनेरास्ववीयुको महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए। उक्त भोटिङमा ४२ मेसिन प्रयोग भएका थिए। वर्तमान स्ववियु निर्वाचनमा पनि त्यसको व्यापक प्रयोग गर्न लागिएको त्रिवि पदाधिकारी बताउँछन्।

निर्वाचनमा केही क्याम्पसकाे विद्युतीय भोटिङ मेसिन पनि प्रयोग हुने र निर्वाचनलाई सहजीकरण गर्न जिल्ला निर्वाचन आयोगको कार्यालयलाई पनि पत्राचार गरिएको छ।

प्रकाशित: १७ फागुन २०७९ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =