नेपालका लागि थप ६ अर्ब ७६ करोड ऋण निकासा गर्दै मुद्राकोष

हिमाल प्रेस १७ फागुन २०७९ १८:४०
34
SHARES
नेपालका लागि थप ६ अर्ब ७६ करोड ऋण निकासा गर्दै मुद्राकोष

काठमाडौँ– एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सहमत भएको छ।

फागुन ३ देखि १६ गतेसम्म नेपाल भ्रमणमा रहेको मुद्राकोषको टोलीले ईसीएफअन्तर्गतका कार्यक्रमको समीक्षा गरेको थियो। समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्राकोषले जनाएको छ।

‘यो समीक्षापछि ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ७६ करोड) बराबरको ईसीएफ निकासा गर्न मुद्राकोषको कार्यकारी बोर्डले सहमति दिनेछ,’ विज्ञप्तिमा भनिएको छ।

विश्वव्यापी र आन्तरिक चुनौतीका बाबजुद नेपालले ईसीएफअन्तर्गतका कार्यक्रम कार्यान्वयनमा सकारात्मक उपलब्धि हासिल गरेको मुद्राकोषले जनाएको छ।

सन् २०२२ जनवरी १२ मा मुद्राकोषको कार्यकारी बोर्डले नेपाललाई ‘स्पेसल ड्रइङ राइट’(एसडीआर) का रूपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर ईसीएफ उपलब्ध गराउने निर्णय गरेको थियो।

उक्त सहुलियतपूर्ण ऋणमध्ये ११ करोड अमेरिकी डलर मुद्राकोषले तत्काल निकासा दिएको थियो।

अब निकासा गर्न लागिएको ५ करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौताअन्तर्गतको हो।

मुद्राकोषले आर्थिक वर्ष ०२२/२३ मा नेपालले ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण पनि गरेको छ।

नेपालले मध्यम खालको आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्र पुनःसंरचना, बैंक तथा वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षणमा कडाइ, व्यावसायिक लागत (कस्ट अफ डुइङ बिजनेस) घटाउने र प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको मुद्राकोषले उल्लेख गरेको छ।

त्यस्तै एसिया प्यासिफिक ग्रुप (एपीजी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी गरेको पारस्परिक मूल्यांकनबाट दिइएका सुझाव कार्यान्वयनका लागि पनि नेपालले पहल गर्नुपर्ने मुद्राकोषले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =