जथाभावी टाँगिएका तार हटाउन ललितपुर महानगरको अल्टिमेटम

१० दिनभित्र नहटाए महानगरले नै काट्ने

हिमाल प्रेस १७ फागुन २०७९ १७:१२
4
SHARES
जथाभावी टाँगिएका तार हटाउन ललितपुर महानगरको अल्टिमेटम

ललितपुर- ललितपुर महानगरले जथाभावी टाँगिएका तार हटाउन अल्टिमेटम दिएको छ। शहरमा जथाभावी तारले सुन्दरतामा आँच पुर्याएको भन्दै महानगरपालिकाले १० दिनभित्र तार हटाउन अल्टिमेटम दिएको हो। सम्पदा क्षेत्रमा जथाभावी रहेका तार १० दिनभित्र नहटाएमा आफै हटाउने महानगरपालिकाले चेतावनी दिएको छ।

नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाउन निर्देशन दिए। महानगरको चारवटा अशोक स्तुपा क्षेत्र, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार क्षेत्र र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार चाँडो हटाउनुपर्ने उनको निर्देशन थियो।

महानगरपालिकाले तार हटाउने जिम्मेवारी इन्टरनेट सर्भिस प्रोभाइडर एसोसियसन (आइएसपीए)लाई दिएको छ। तार व्यवस्थापनका लागि नगरप्रहरीसहित आवश्यक सहयोग महानगरले गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। ‘महानगरले अन्य सरोकारवालासँग पनि समन्वय गर्छ’ उनले भने, ‘जथाभावी तारले शहर नै फोहोर देखिएकाले सम्पदाको सहर ललितपुरको साख जोगाउन सहयोग गर्नुस्।’

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको भन्दै सुरक्षाका लागि तार तत्काल हटाउनुपर्ने बताए। यी तारका कारण शहर कुरूप भएको दाबी गर्दै उनले नगरबासीको सुरक्षाका लागि तार व्यवस्थापन अनिवार्य रहेको मेयर महर्जनले बताए। ‘यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ’ उनले भने।

आइएसपीएले १० दिनभित्र तार नहटाए महानगरले नै हटाउने नगर प्रमुख महर्जनले बताए। ‘मेसिन खरिद गरिसक्यौं। आफै काट्छौ’ उनले भने, ‘त्यो बेलाको भीड व्यवस्थापन हामी आफै गर्छौ ।’
सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल रहेका तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको महर्जनको भनाइ थियो।

ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा आफूलाई भेट्न आएका विदेशी पाहुनाले ती असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गरेको महर्जनले बताए। ‘सम्पदाका तस्बिर खिच्न खोज्छौं, तर यी तार राम्रो तस्बिरका लागि बाधक भइदिन्छन् भनेर मलाई भन्छन्’ महर्जनले भने।

प्रकाशित: १७ फागुन २०७९ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =