जेनिशाको ‘लस्ट लेटर्स’ सार्वजनिक

हिमाल प्रेस १७ फागुन २०७९ १४:५८
14
SHARES
जेनिशाको ‘लस्ट लेटर्स’ सार्वजनिक

काठमाडौँ- लेखिका जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ विमोचन भएको छ। अस्ट्रेलियामा बसोबास गर्दै आएकी उनी नेपाली लेखिका हुन्। उपन्यास काठमाडौँमा विमोचित भएको हो।

राजधानीमा आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल, बुढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनीता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठ लगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

नेप्लिज फेसन होमद्वारा आयोजित विमोचन समारोहमा अमेजनद्वारा प्रकाशित अंग्रेजी भाषाको उक्त उपन्यास विमोचन गरिएको हो।

श्रेयस्कर डंगोलद्वारा कभर डिजाइन गरिएको उक्त उपन्यासलाई अमेजनका उत्पादनहरू बेच्ने तेस्रो पक्षका विक्रेतामार्फत अनलाइन खरिद गर्न सकिने लेखिका मानन्धरले बताएकी छन्।

‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डमा सेट गरिएको छ। एउटा अहिलेको आधुनिक संसारको हो भने अर्को त्यो समयको कथा हो, जब विदेशीहरूले काठमाडौँमा सान्त्वना पाएका थिए। जसलाई हिप्पी युग पनि भनिन्छ। ‘लस्ट लेटर्स’मा चार फरक व्यक्तिको प्रेमकथा पढ्न पाइन्छ।

‘काठमाडौँको झोँछे सधैँ एउटा त्यस्तो ठाउँको रूपमा रहेको छ, जहाँ म मेरा साथीहरूसँग लामो समय बिताएर आफ्ना भावना तथा विचार छलफल गर्न मन पराउँछु,’ लेखिका मानन्धरले भनिन्, ‘हरेकपटक म त्यहाँ पुगेर साथीहरूरुलाई पर्खिएर बस्दा, त्यहाँ वरपर भएका मानिसलाई हेर्छु र उनीहरूकै कथा बनाउँछु।’

आफूले लेखेका धेरै कथाको लागि यो काठमाडौँ प्रेरणादायी भएको उनले बताइन्। ‘कुनै बेला मैले ‘काठमाडौँ नाउ एन्ड देन’ नामक प्रोजेक्टमा काम गरेकी थिएँ,’ मानन्धरले सुनाइन्, ‘त्यो बेला मैले यो शहरका केही पुराना तस्बिर हेर्दा नै यो उपन्यास लेख्ने विचार फुरेको हो।’ त्यतिखेर फुरेको त्यही विचार कथा बन्दै उपन्यासको स्वरूपमा आएको उनले बताइन्।

काठमाडौँमा जन्मिएर यतै हुर्किएकी उपन्यासकार मानन्धर सानै उमेरदेखि सिर्जनात्मक कार्यमा रुचि राख्थिन्। काठमाडौँको उपत्यकाको संस्कृति तथा विविधताप्रति उनी सधैँ मोहित रहँदै आएकी छन्। पत्रकारितामा स्नातक गरेकी मानन्धरले आफ्ना केही साहित्यिक सिर्जना नेपालका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिसकेकी छन्। ‘अन्तर्राष्ट्रिय अध्ययन’ विषयमा अस्ट्रेलियाबाट स्नातकोत्तर गरेकी छन्, मानन्धरले।

लेखिका मानन्धरलाई शुभकामना दिँदै उपसभामुख इन्दिरा रानामगरले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गरिन्। यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको धारणा उनले राखिन्।

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनीता डंगोलले पछिल्लो पुस्ताले वास्तविक मायाममता गुमाउँदै गएको बताइन्। अहिलेको पुस्ताका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको उनले बताइन्। ‘पुस्तक सम्बन्ध, माया, प्रेमबारे छ र यो कुरा हामीले पनि गुमाइरहेको अवस्था छ,’ उनले भनिन्, ‘माया, प्रेम, सम्बन्धबारे रहेको पुस्तकले सबैको मर्मलाई समेटेको छ।’

समारोहमा साहित्यकार इन्दिरा प्रसाईले अमेजनजस्तो अन्तर्राष्ट्रिय संस्थाले नेपाली साहित्यकारको पुस्तक छाप्नु ठूलो उपलब्धि भएको बताइन्। ‘राजनीतिले थिलथिलो बनाएको देशलाई कला, साहित्यले अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल भएकोमा गर्व लागेको छ,’ उनले भनिन्, ‘लेखिका मानन्धरलाई नेपाली भाषामा पनि लस्ट लेटर्स प्रकाशित गर्न सुझाव दिन्छु। नेपालीहरूलाई आफ्नो भाषामा पढ्न मज्जा आउँछ।’

प्रकाशित: १७ फागुन २०७९ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =